राधिका भुसाल
प्यूठान
महिला उद्यमशीलता तथा सीप विकास तालिमअन्तरगत एक महिने एड्भान्स ब्युटिसियन तालिम शनिबार समापन भएको छ । ‘उद्यमशील संस्कृति, राष्ट्रको सम्पती’ भन्ने नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आयोजनामा माघ १२ गतेबाट तालिम सञ्चालन भएको थियो ।
प्यूठान नगरपालिका ४ स्थित होटल आयुष्मा जुम्रीमा तालिमको समापन गरिएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बीनी प्रदेशसभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद धनलक्ष्मी श्रेष्ठले अहिलेको समाज परिवर्तन भइसकेको हुँदा समाजले खोजे अनुसारको जनशक्ति उत्पादन हुनुपर्ने बताइन । ‘ब्युटिसियन व्यवसाय सेवामूलक व्यवसाय भए पनि आफू आत्मनिर्भर हुनसक्ने क्षेत्र हो,’ सांसद श्रेष्ठले भनिन्–‘शहर बजारदेखि ग्रामीण क्षेत्रमा समेत ब्युटिसियनको खोजी हुन थालेकोले जुनसुकै ठाउँमा पनि व्यवसाय सञ्चालन गर्न सकिन्छ ।’ शिक्षा र सीप कुनै निश्चित ठाउँमा गएर नरोकिने हुँदा आफ्नो दक्षतालाई बढाउँदै सानो लगानीमा भए पनि व्यवसाय सुरु गर्न सकिने उनले बताइन ।
उनले विगतका दिनमा होजियारी र सिलाइकटाइ सिकेका उद्यमीहरु हराए जसरी नहराउन आग्रह गर्दै आफूसँग जति सीप छ त्यतिबाटै व्यवसाय सुरु गर्न सुझाव समेत दिइन् । ‘सेवामूलक क्षेत्र भएकाले सीप विकाससँगै बोली, व्यवहारको शैली पनि राम्रो विकास गर्नुपर्ने हुन्छ,’ सांसद श्रेष्ठले भनिन्–‘जति काम गर्दै गयो आफूमा त्यति नै निखारता थपिंदै जाने हुँदा थोरै सरसामान जुटाएर भए पनि सबै जनाले व्यवसाय सुरु गर्नुहोला ।’
आगामी आर्थिक वर्षमा महिलाहरुलाई आत्मनिर्भर हुने खालका क्षेत्रहरु पहिचान गरी बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरिन् । यससँगै दैनिक रुपमा विदेशीयका युवाहरुलाई रोक्नका लागि कार्यक्रमहरु ल्याउने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग महासंघ प्यूठानका अध्यक्ष नविन प्रकाश श्रेष्ठले आत्मनिर्भर हुनसाथ महिला हिंसा र घरेलु हिंसाको सिकार बन्न नपर्ने बताए । ‘पछिल्लो समय ब्युटिपार्लर निकै सम्भावना भएको व्यवसाय हो,’ अध्यक्ष श्रेष्ठले भने–‘आफूले सिकेको सीपलाई सदुपयोग गर्नासाथ आम्दानीको बाटो खुल्न थाल्छ ।’ दिर्घकालिन रुपमा ब्युटिसियनहरुको माग बढ्दै जाने हुँदा व्यवसाय सुरु गर्न श्रेष्ठले सुझाव समेत दिए ।
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त प्रमुख मनिबहादुर गुरुङले थोरै बजेटमा निकै मितव्ययिता अपनाएर उद्यमीहरु उत्पादन गरिरहेको बताए । ‘स्थानीय सरकार र घरेलुले सञ्चालन गर्ने तालिमहरुमा दोहोरोपना देखिएको छ,’ प्रमुख गुरुङले भने–‘आधारभूत तालिम जति स्थानीय सरकारले गर्ने र एड्भान्स तालिम घरेलुले गर्ने भएमा यो समस्या आउने थिएन ।’ तालिमका लागि तालिम भन्ने जस्तो नगरी सीप सिकेर आफूलाई आत्मनिर्भरताको बाटोमा लाग्न सबै प्रशिक्षार्थीहरुलाई आग्रह समेत उनले गरेका छन् ।
जिल्लाका विभिन्न ठाउँबाट तालिममा १५ जना सहभागी भएका थिए । प्यूठान नगरपालिका ४ विजुबारस्थित पिंक ब्युटिपार्लर तथा टे«निङ सेन्टरका सञ्चालक विञ्जु श्रेष्ठले तालिमको प्रशिक्षण दिएकी थिइन् । घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी चम्पक श्रेष्ठको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सहजकर्ता संगिता नेपालीले गरिकी थिइन ।




