अविजित पन्थी
बुटवल
अड्गुरी समाज रुपन्देहिको आयोजनामा, बुटवल ११ देवीनगरस्थित गार्गी एकेडेमीको सभा हलमा युवा प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमको उद्देश्य युवाहरूसँग ज्ञान, सीप र धारणा अभिवृद्धि गर्दै उनीहरूलाई समाजसँग जोड्नु रहेको थियो । १५–३५ वर्ष उमेर समूहका करिब ७५ जना प्रशिक्षार्थी यस कार्यक्रममा सहभागी भएका थिए, जसमा बुटवलका विभिन्न स्थानका युवा सक्रिय रूपमा सहभागी थिए ।
कार्यक्रमको संयोजक समाजका सदस्य सूर्यप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै, युवाहरूको योगदान र उनीहरूको विकासमा अड्गुरी समाजको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेकमा थिए । उनले, समाजले युवाहरूसँग जोडिने र उनीहरूको समृद्धिको लागि आगामी दिनहरूमा यस प्रकारका प्रशिक्षण कार्यक्रमहरूको आयोजना समेत गर्ने बताए ।
कार्यक्रमको औपचारिक सुरुआत समाजका पूर्व अध्यक्ष लुकराज न्यौपानेले गरेका थिए । उनले अड्गुरी समाजको स्थापनाका उद्देश्य र समाजको कार्यविधिका बारेमा जानकारी दिए । उनले भने– ‘समाजको उद्देश्य केवल सामाजिक काम गर्नु मात्र होइन, यसले हामीलाई युवापुस्तासँग जोडेर समाजमा सुसंस्कृत र सक्षम नागरिकको निर्माण गर्नुपर्ने जिम्मेवारी पनि दिएको छ ।’
कार्यक्रममा गार्गी एकेडेमीका प्राचार्य भुवन अधिकारीले युवाहरूसँग संघर्ष र सफलतासम्बन्धी प्रेरणादायक विचार प्रस्तुत गरे । उनले भने–“जीवनमा कुनै पनि कठिनाई आउँदा निराश नहुनुहोस्, बरु त्यसलाई चुनौतीको रूपमा लिनुहोस् ।’
कार्यक्रमको पहिलो सत्र प्रमुख प्रशिक्षक राजीव गौतमले सञ्चालन गरेका थिए । उनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले युवा पुस्तामा पार्ने नकारात्मक प्रभाव र यसको सही प्रयोगका बारेमा जानकारी दिए । गौतमले भने–‘आजका युवाहरूले अत्यधिक सामाजिक सञ्जालमा समय बिताइरहेका छन्, तर यदि यसलाई सही ढंगले प्रयोग गर्न सकियो भने यसले जीवनलाई उज्जवल बनाउन ठूलो योगदान पुर्याउन सक्छ ।’
कार्यक्रमको दोस्रो सत्रमा प्रशिक्षक नारायणप्रसाद घिमिरेले अनलाइन ठगी र यसको विरुद्धमा सचेत रहनका लागि युवाहरूसँग महत्त्वपूर्ण जानकारी साझा गरेका थिए । घिमिरेले भने–‘आजको अनलाइन संसारमा ठगीका धेरै प्रकारका रूपहरू छन् । यसलाई रोक्नको लागि तपाईंले आफ्नो जानकारीको सुरक्षा गर्न र डिजिटल माध्यममा सावधान रहन आवश्यक छ ।’
कार्यक्रममा प्रशिक्षक सरोज पन्थीले प्रविधिको सही प्रयोग र यसलाई शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्नका लागि सुझाव दिए । उनले युवाहरूसँग प्रविधिको प्रयोगलाई मनोरञ्जन र सूचना प्राप्तिका लागि मात्र सीमित नगरी, यसलाई ज्ञान प्राप्ति र व्यवसायका अवसरको रूपमा प्रयोग गर्नको महत्त्वमा जोड दिए । पन्थीले प्रविधिको प्रयोगले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गरेको कुरा पनि उल्लेख गरे ।
कार्यक्रमको समापन समाजका अध्यक्ष रामप्रसाद पन्थीले गरेका थिए । उनले कार्यक्रमको समग्र सफलता र सहभागीहरूको सक्रिय सहभागिताको सराहना गर्दै, यस प्रकारका प्रशिक्षण कार्यक्रमहरूको महत्त्वमा जोड दिए ।
अध्यक्ष पन्थीले समाजको आगामी योजनाहरू र आगामी कार्यहरूसँग जोडिएको युवाहरूको सक्रिय सहभागितालाई अझ महत्त्वपूर्ण ठान्दै, यस कार्यक्रमको आयोजनामा मद्दत पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमले युवाहरूसँग सकारात्मक सोच र कार्यका माध्यमबाट जीवनका विभिन्न पाटोहरूमा सुधार ल्याउनका लागि महत्वपूर्ण सुझाव र मार्गदर्शन प्रदान गरेको थियो । प्रशिक्षकहरूले युवा वर्गलाई आफ्नो भविष्यलाई उज्ज्वल बनाउनका लागि महत्वपूर्ण टिप्स दिए र उनीहरूलाई सशक्त बनाउनका लागि प्रेरित गरेका थिए । कार्यक्रमको सञ्चालन अड्गुरी समाज रुपन्देहीका महासचिव जीवनप्रसाद अधिकारीले गरेका थिए ।




