बुटवल । बझाङको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी तुलसीदेवी जोशीले ९६ वर्षको उमेरमा नागरिकता पाएकी छन् । यो उमेर बितिसक्दा पनि उनलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर उनलाई नागरिकता प्रदान गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उनको घरमै पुगेर नागरिकता प्रदान गरिन् । थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताइन् ।
उनले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको जानकारी दिइन् ।
बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मिएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो । विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उनी एकल भएकी थिइन् ।




