कृष्ण पोखरेल
पाल्पा
जातीय विविधतासहितको एकता कायम गर्दै पाल्पामा ४३औं राष्ट्रिय मगर एकता दिवस मनाइएको छ । पाल्पाका १० वटै स्थानीयतह तथा ४० भन्दा बढी वडाहरुमा मगर जातीय विविधताको प्रदर्शन गर्दै ४३औं राष्ट्रिय मगर एकता दिवस मनाइएको हो ।
पाल्पाका हरेक मगर टोल बस्ती तथा वडाहरुमा मगर समुदायहरु भेला भएर भव्यताका साथ मगर दिवस मनाएका छन् । पाल्पाका सबै स्थानीयतहले ४३औं राष्ट्रिय मगर एकता दिवसमा सार्वजनिक बिदा दिए थिए । २ नगरपालिका ८ गाउँपालिका रहेका पाल्पा जिल्लामा मगरहरुको मात्र ५४ प्रतिशत जनसंख्या रहेको छ ।
मगर दिवसका अवसरमा पाल्पाका सबै पालिकाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मगरहरुको इतिहास, चालचलन, भेषभुषा, कला संस्कृति रहन सहन, झाँकीसहित विभिन्न गतिविधिहरु गरेर, मगर समुदायको इतिहास र वर्तमानको बारे युवा पुस्तामा जानकारी गराएको मगर अगुवा एवं माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए ।
पाल्पामा मगरीकला संस्कृतिहरु निकै लोकप्रिय रहेका छन् । पाल्पामा मगरी कला संस्कृति, झार्मे, सालैजो, कौडा, मारुनी, ठूलो नाच, झ्याउरे संस्कृतिमा मगरसहित सबै समुदायहरु रमाउने गरेका छन् । मगरहरुको बटुक, सेल रोटी, मेवाको अचार, चुकाउनी, विभिन्न माछाका परिकारमा अन्य जातजातिहरु पनि खाँदै रमाएको सराइकी मगर महिला अगुवा चेत कुमारी चिदीले बताइन ।
मगर दिवसमा विभिन्न संस्कृति झल्किने भेषभुषासहित सांस्कृतिक बाजा, नाच, तथा झाँकी प्रर्दशन लोपोन्मुख खाना तथा खाजाका परिकारले सबैलाई आकर्षित गरेको थियो । मगर समुदायबिच एकता तथा मगर संस्कृतिबारे जानकारी दिने, मगर सभ्यताको विकास गर्ने, सबै जातजाति भाषाभाषीबिच एकता कायम गरी नेपाललाई एकताबद्ध बनाउन मगर दिवसले महत्वपूर्ण भूमिका खेलेको नेपाल मगर संघ लुम्बिनी प्रदेश सचिव तेजबहादुर घर्तीमगरले बताए ।
मगर संस्कृतिसँगै खानपान, रहनसहन, भेषभुषा, संस्कृति अहिलेका पिँढीलाई बुझाउन पाल्पाको सराइमा मगर कुडुले घरसहित संग्रहालय पनि सञ्चालन गरिएको फूलबारी लखनपार्ककी अध्यक्ष कमलाकुमारी चिदीले बताइन ।
पुरानो पुस्ताले प्रयोग गर्ने धान कुट्ने ढिकी, मकै, गहुँलगायतका अन्न पिस्ने झाँतो चलाएर नयाँ पुस्ता रमाएका थिए । मगर दिवसमा मगर मात्र होइन सम्पूर्ण जातजाति मगरसँगै रहनसहन, खानपिन तथा कला संस्कृतिमा रमाएका थिए । मगर दिवसले समाजमा सबै जातजातिबिच एकता कायम गरेको छ ।




