भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको विषयलाई लिएर तालाबन्दी गरेका विद्यार्थी सङगठनले सोमबार भैरहवा बहुमुखी क्याम्पसको हलमा तोडफोड गरेका छन ।
आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि तीन बजेसम्म विद्यार्थी संगठन दर्ताको समय देश व्यापी रुपमा तोकिएको थियो, दर्ताकै लागि अन्य संगठनले तयारी र छलफल गरिरहदा केही संगठनका सदस्यहरुले हलमा तोडफोड गरेका हुन ।
तोडफोड गर्नेमा हलमा समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनको समूह रहेको प्रत्यक्षदर्शीले बताएका छन । यी संगठनले विभिन्न माग राखी आइतबार नै क्याम्पस रहेको निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
निर्वाचन तालिका अनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउनका निम्ति यि संगठनहरुसँग बैठक बसिरहेका बेला अन्य संगठनले दर्ता गर्न माग गरिरहेको थियो । दर्ताकै विषयलाई लिएर विद्यार्थी संगठनले तोडफोड गरेका हुन् । समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अलीले बैठक कक्षमा अनेरास्ववियुका कार्यकर्ता प्रवेश गरेर होहल्ला गरे पछि पाँच विद्यार्थी संगठनका सदस्यहरु आक्रोसित भएर तोडफोडमा उत्रिएको जानकारी दिए । विद्यार्थीहरुको तोडफोडले केही कुर्सी भाँचिएका छन् । विद्यार्थीहरुले क्याम्पस प्राङ्गढमा टायर बालेर विरोध समेत जनाए ।
निर्वाचन कार्यक्रम स्थगित
भैरहवा बहुमुखी क्याम्पसले स्ववियु निर्वाचन कार्यक्रम स्थगित गरेको छ ।
क्याम्पसले सोमबार भएको घटनापछि विज्ञप्ती जारी गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रयोजनको लागि पूर्व प्रकाशित निर्वाचन तालिका अनुसार सम्पूर्ण कार्यक्रम अर्को सूचना प्रकाशित नहुदा सम्मको लागि स्थागित गरिएको निर्वाचन अधिकृत गणेश प्रसाद पाण्डेयले बताए । उनले सर्वपक्षिय बैठकको सहमतिमा निर्वाचन कार्यक्रम अगाडि बढ्ने बताए ।
विज्ञप्तीमा भनिएको छ ‘क्याम्पसमा सृजना भइरहेको असहज परिस्थितीका कारण अर्को सूचना प्रकाशित नहुदा सम्मका लागि स्थागित भएको जानकारी गरिन्छ । साथै क्याम्पसमा क्रियाशील सम्पूर्ण विद्यार्थी संघ संगठनहरुको प्रतिनिधत्व हुनेगरि सर्वपक्षिय बैठकको सहमतिमा प्रक्रिया अगाडि बढाइने छ ’




