बुटवल । अक्सफोर्ड कलेजको स्नातक तह पढाई हुने ब्लक बुटवल शिवनगरमा तेस्रो मेगा फुड फेस्टिभल, लाइभ कन्सर्ट र रक्तदान भएको छ । कलेजमा ब्याचलर इन होटेल म्यानेजमेन्ट (बीएचएम) अध्ययनरत विद्यार्थीहरुको आयोजनामा मंगलबार फुड फेस्टिभलसँगै लाइभ कन्सर्ट र रक्तदान कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालयअनुसन्धान केन्द्रका पूर्व निर्देशक डा. कृष्णचन्द्र शर्माले विद्यार्थीहरुलाई सैद्धान्तिकभन्दा पनि व्यवहारिक ज्ञान सिकाउनु अति आवश्यक रहेको बताए ।
व्यवस्थापन समितिका अध्यक्ष डा. अजित खनालले अक्सफोर्डले विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षामा मात्रै केन्द्रित नगरी हरेक क्षेत्रमा दक्ष बनाउन विभिन्न अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्ने गरेको बताए ।
पाठ्यक्रमको ज्ञानसँगै सीपमूलक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिने उद्देश्यका साथ कजेलले हरेक वर्ष वृहत् फुड फेस्टिभल तथा सांगीतिक कार्यक्रमको आयोजना गरेको क्याम्पस प्रमुख मनोज मरासनीले जनाए ।
कलेजमा बीएचएम अध्ययनरत विद्यार्थी इन्टर्नसीपको लागि युरोपका विभिन्न मुलुकसहित थाइल्याण्ड, कतार, युएईलगायतका देशमा समेत जाने गरेको क्याम्पस प्रमुख मरासिनीले बताए । त्यहाँ सिकेको ज्ञान र सीपसँगै विद्यार्थीहरुले आम्दानी समेत गर्न थालेको उनले जनाए ।
कलेजले फुड फेस्टिभलसँगै आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत सङ्कलन गरेको कार्यक्रम संयोजक विष्णु खनालले बताए । रक्तदान रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको थियो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य धर्म पौडेल, प्राचार्य दिनेश भुसाल, प्राध्यापक विवेक न्यौपाने, विद्यार्थीहरू आकृति सुवेदी, विपिन खत्री, सोन्मा गुरूङ, मेघना सिंह, दिक्षा भट्टराई र प्रकृति न्यौपानलगायतले आ–आफ्ना धारणा राखेका थिए ।
फुड फेस्टिभलमा विद्यार्थीहरुले रेष्टुरेण्टमा पाइने खाजाका परिकार तयार गरेर बिक्री गरेक थिए । विद्यार्थीहरुले तयार पारेका परिकारको मूल्य न्यूनतम राखिएको बीएचएम÷बीआइएम कार्यक्रमका संयोजक ओमबहादुर खत्रीले बताए । लाइभ कन्सर्ट कार्यक्रममा विद्यार्थीहरुले आफ्ना विभिन्न सांगीतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।
कार्यक्रममा कलेजले आयोजना गरेको फुटसल, वेभ डिजाइजनमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
२०५९ सालमा स्थापना भएको कलेजबाट २०६७ मा बीएडतर्फ नेपाल प्रथम, बीबीएसतर्फ नेपाल द्वितीय भएको थियो ।
त्यस्तैगरी २०७९ मा बिएचएम तेस्रो सेमेस्टरतर्फ नेपाल प्रथम, बिआइएम फस्ट सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम, बीआइएम पाँचौं सेमेस्टरमा पनि लुम्बिनी प्रदेश प्रथम र बीबीएस चौथो वर्षमा समेत नेपाल द्वितीय हुन सफल भएको विभागीय प्रमुख विष्णु बस्यालले बताए । कलेजको स्नातक तहमा मात्रै १२ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।




