तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगितामा उत्कृष्ट ४० मा छनोट भएको छ ।
इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआइडिपी) नामक अन्तर्राष्ट्रिय संस्थाले आयोजना गरेको २४औं संस्करणको अवार्डका लागि तिलोत्तमा पहिलो चरणमा उत्कृष्ट ४० मा छनोट भएको हो ।
अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको नगरप्रमुख रामकृष्ण खांणले जानकारी दिए ।
ओआइडिपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पांच वटा विषयमा आवेदन माग गरेकामा तिलोत्तमा नगरपालिका जनसहभागितामा सञ्चालित सरसफाई तथा हरियाली प्रवद्र्धन अभियानमा छनोट भएको हो ।
छनोट भएका ४० स्थानीय र प्रदेश सरकारबीच अनलाइन भोटिङको ५० अंक र निर्णायकको मूल्याङकनको ५० अंकको आधारमा मे महिनाको २१देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने ओआइडिपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड विजेता घोषणा गरिने ओआइडिपीको वेबसाइटमा उल्लेख छ ।
तिलोत्तमा नेपालको मात्र नभई सार्क राष्ट्रकै एक मात्र स्थानीय सरकारका रुपमा यो अवार्डमा छनोट भएकाले अनलाइन भोटिङ खुला भएपछि तिलोत्तमालाई मत दिएर जिताई नेपाललाई अन्तर्राष्ट्रिय जगतमा थप चिनाउन नेपालभर र विश्वभर रहेका नेपालीलाई नगर प्रमुख खांणले अपील गरे ।
ओआइडिपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्ने जानकारी गराएको नगरपालिकाका अधिकृत शंकर पन्थीले जानकारी दिए । अनलाइन भोटिङ गर्दा एकजनाले ५ वटै विषयमा मत दिनुपर्ने अन्यथा मत रद्द हुने नियम रहेको पन्थीले बताए । ओआइडिपीको वेबसाइटमै गएर मत दिन सकिने उनले बताए ।
तिलोत्तमा नगरपालिकामा २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान आठौं वर्षमा निरन्तर चलिरहेको छ । उक्त अभियानको १४० औं श्रृंखला सम्पन्न भएको छ ।




