भैरहवा । तराई–मधेसमा रङहरुको पर्व होली आज भव्यतका साथ मनाईंदैछ । हिजो धुमधामसँग पहाड र हिमाली क्षेत्रमा मनाइएको होली आज भैरहवा सहित तराईमा पनि मनाइएको छ ।
अपराधिक क्रियाकलाप, दुर्घटना, झै झगडा नहोस भन्ने हेतुले जिल्लामा सुरक्षा स्थितिलाई रुपन्देही प्रहरी विशेष सुरुक्षा योजना लागू गरि सतर्क भएको छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा खुसीयाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने मनाइदैछ । रुपन्देहीको चोक, चोक, संस्थागत र समूह समूहमा साङ्गतिक कार्यक्रम सहित अबिर तथा रङ लगाई होली पर्व मनाइँदै छ ।
सानो सानो नानीहरूदेखि वृद्धवृद्धा सम्म सबै होलीमा रमाएका छन । युवायुवतीहरू गीत गाउँदै नाच्दै होलीबाट पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक खुसीयाली मनाउदै छन । फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइने भएकोले यस पर्वलाई फगुआ पनि भनिन्छ ।
होलीकै अवसरमा नगर क्षेत्र भित्र विभिन्न संघ–संस्थाले होलीमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिरहेका छन । पत्रकार महासंघ रुपन्देहीले पनि होलीमिलन कार्यक्रम आयोजना गरेका छन । होलीलाई मध्यनजर गर्दै प्रशासनले सुरक्ष व्यवस्था समेत कडा गरेको छ । होली पर्वलाई सभ्य, भव्य, सुरक्षित, मर्यादित र शान्तपूर्ण रुपमा मनाउन सक्ने वातावरण निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले विशेष योजनाका साथ विभिन्न ११ प्रकार ड्युटी परिचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक कार्यालय पर्वलाई सदभावपुर्ण समपन्न गर्नका लागि ८ सय ३० जना प्रहरी जिल्ला भर परिचालन गरेको छ भने नियम विपरित सवारीसाधन नियन्त्रणका लागि जिल्लाका २६ ठाँउमा प्रहरी चेकिङ्ग, पिकेट टोली, सादा पोशाकको प्रहरी, गाडी मोबाइल गस्ती, वटा मोटरसाइकल गस्ती लगायतको युनिट परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले बताए । हामीले भैपरीलाई मध्यनजर गरी थप ५० प्रहरी तमतयार अवस्थामा व्याकपका लागि पनि राखेका छौ ।
अरुको इच्छा विपरीत रंग, बाटोमा हिडने बटुवालाई दुःख र सास्ती हुने किसिमले रङ, अबीर नलगाउन आग्रह गर्दै अटेर गरेको पाइए ,लोला हान्ने, हिलो छयाप्ने लगायत जस्ता अनैतिक कार्य, ट्राफिक नियमको उल्लंघन, मादक पदार्थ सेवन गरेर होहल्ला, झैझगडालगायत जस्ता क्रियाकलाप गर्नेहरुलाई पक्राउ गरी कारवाही गर्ने प्रहरीले जनाएको छ ।
होली मनाउने क्रममा सवारी नियम उल्लंघन गरी चलाइएका सवारीसाधनलाई अन द स्पट नियन्त्रणमा लिइ, सवारीसाधन चलाउनेलाई पनि नियन्त्रणमा लिइनेगरि कार्ययोजना बनेको छ । अश्लील र ठुलो आवाजमा डिजे बजाउन र बाटो अवरोध हुने गरी होली नखेल्न आग्रह गर्दै कानून विपरीत कार्यहरू गरिएको पाइए प्रचलित कानून अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भैरहवा लगायतका ठाँउमा केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । विगतका समयमा लोलामा पानी भरेर होली अघि देखि नै छ्यापने प्रवृति थियो । बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो तर यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रुपमा सवैसाधारण हिँड्डुल गर्न सकेका छन ।
आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुण्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम देखिन थालेको भैरहवाका शिवप्रसादले भने ।
विगत १० वर्षदेखि भैरहवाको मिलन चोकमा होली सामाग्रीको व्यवसाय गर्दै आएका गुप्ताले होलीको रौनक विस्तारै घट्दै गएको छ, विगतमा जसरी बजारमा चहल पहल हुन्थ्यो अहिले छैन । ‘होलीमा रमाउने युवा पुस्ता हुन, उनीहरू धेरै जसो विदेशतिर भएकाले सुनसानै छ, त्यसैले पहिलाजस्तो व्यापार पनि छैन, अहिले बालबालिकाहरुले मात्र अधिक रुपमा पिचकारी तथा रङ किन्ने गरेको उनले बताए ।
होली समाग्रीमा भारत र चिनको भरमा
होली पर्वमा प्रयोग हुने रङ अबिर पिचकारी लोाला बेलुन लगायतका सामाग्रीहरु नेपालमा उत्पादन नहुदा विदेशको भरमा पर्व मनाउनु परेको छ । होली सामाग्रीहरु नेपालमै उत्पादन नभएकाले भारत र चिन संग आयात गर्न परेको हो ।
होली तथा विशेष गरि धार्मिक कार्यक्रममा मात्र प्रयोग हुने रङ तथा अबिरहरु नेपालमा कम खपत हुने भएकाले व्यवसायीहरु उद्योग स्थापना तर्फ ध्यान दिएका छैनन । यहा उत्पादन गर्दा लागत पनि बढी लाग्ने र खपत कम भएकाले यस तर्फ उद्योगी व्यवसायीहरुले चासो दिएका छैनन । लाखौ पैसा लगाएर उद्योग स्थापना गर्दा लगानी अनुसारको प्रतिफल पाउन गाह्रो भएकाले स्थापना गर्न हिचकिचाउने गर्छन । सिजनमा मात्र बढी खपत हुने अरु समय खासै नविक्ने र भारत चिनबाट आयात गर्दा सस्तो पर्ने भएकाले नेपालमा उत्पादन नभएको हो ।
भैरहवा तथा आसपासका ठाउमा आउने अधिकांस सामाग्रीहरु भारतबाट आयात गरिरहेको व्यवसायीहरुले बताएका छन । नेपालमे उत्पादन भए हामीलाई पैसा विदेश पठाउन कुनै रहर छैन, दुः ख पनि हुन्छ तर के गर्नु नेपालमै उत्पादन नभएकाले बाध्यताले भारत गएर खरिद गर्छौ र नेपालमा ल्याएर बिक्री गर्ने गरेको व्यवसायीहरु बताउछन ।
अहिले बजारमा २०/२५ रुपैया देखि १००० सम्मका पिचकारी तथा विभिन्न साइजका रङहरु बिक्री वितरण भइरहेको छ । होली सम्बन्धीका विभिन्न टिसर्ट, टोपी, मुकुण्डो हरु पनि बजारमा आयात गरि विक्री गरिरहेका छन ।




