बुटवल । सञ्चार माध्यमहरुका समस्या र चुनौतीबारे वृहत् अन्तरक्रियाका लागि चैत ९ र १० गते बुटवलमा मिडिया सम्मेलन हुने भएको छ । दुई दिनसम्म आयोजना हुने सम्मेलनबाट अवसर र सम्भावनाको खोजी गर्ने लक्ष्य राखिएको छ ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले पत्रकारिताका अग्रज र अनुभवी व्यक्ति र विज्ञहरु सहभागी गराएर सम्मेलन गर्न लागेको हो । सम्मेलनलाई सातवटा सत्रमा विभाजन गरी विभिन्न विषयमा अन्तरक्रिया गरिने अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।
उनका अनुसार सम्मेलनको सुरुमा उद्घाटन सत्र हुने छ भने दोस्रो सत्रमा परम्परागत मिडियाः आजको अवस्था, भोलिको बाटो विषयमा छलफल गरिने छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका रामेश्वर थापाले प्रस्तुति राख्नेछन् ।
त्यस्तै छापा माध्यम, किन र कसका लागि ? भन्ने विषयमा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीको प्रस्तुति रहने छ ।
‘के अनलाइन पत्रकारिता सधैँका लागि हो ?’ भन्ने विषयमा अनलाइनखबरका धर्मराज भुसाल र बाह्रखरी मिडियाका प्रतिक प्रधानले प्रस्तुति राख्ने छन् । ‘किन फस्टाउन सकेन विज्ञापन बजार ?’ विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रस्तुति रहनेछ ।
सम्मेलनमा ‘अनेक संस्थाः नियमन कि नियन्त्रण ?’ भन्ने विषयमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारीले प्रस्तुति राख्ने छन् भने सम्मेलनको सातौं सत्रमा सम्बन्धः पत्रकार र पत्रकार महासंघकोः के भयो ? के हुँदैछ ? भन्ने विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष विपुल पोखरेल र दैनिक लुम्बिनीका सम्पादक शेरबहादुर केसीको प्रस्तुति रहनेछ ।
विज्ञहरुका प्रस्तुतिपछि संक्षिप्त प्रश्नोत्तर समेत गरिने संघका उपाध्यक्ष विष्णु भुसालले बताए ।
मिडिया सम्मेलनले सञ्चारमाध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको संघका सचिव माधव नेपालले बताए ।




