बुटवल । बुटवलको पुरानो छाप्रे बजार हाल व्यस्त हाटबजारमा परिणत भएको छ । यही हाटबजारको भीडभाडबिच उमेरले ८० कटिसकेका बालनरसिंह थापा ३० वर्षदेखि यही छन् ।
बाल्यकालमै स्याङ्जाबाट भारत गएका उनी भारतबाट घर फर्किन बुटवल आएका थिए । तर स्याङ्जा जाने बाटो बिर्सेर बटौलीमा हराएका बालनरसिंहले तीन दशकदेखि बुटवलमै एकै ठाउँमा बसेर आफ्नो श्रमलाई कर्म बनाएका छन् ।
स्याङ्जाको ओरस्टे गाउँमा जन्मिएका बालनरसिङ् युुवावस्थामा संघर्षकै बिच हुर्किए । सानैदेखि परिवारका लागि केही गर्ने अभिलाषा थियो । गाउँमा खासै अवसर नदेखेपछि उनले भारत जाने निर्णय गरे । त्यतिबेला खस्यौली बजार आसपासमा खयरघारी थियो, त्यो खयरघारी भएको बटौली उनी फर्किदा बजारमा परिणत भएकाले यतै काम गर्ने निधो गर्दै स्याङ्जा जान बिर्सेर बुटवलमै बसेको बताउँछन्, बालनरसिङ ।
उनले स्याङ्जामा रहँदा आफ्नो जीवनयापनको लागि भारत जाने बाहेक अन्य विकल्प देखेनन् ।
सुरुवाती दिनहरूमा भारतको विभिन्न स्थानमा कठिन यात्रा तय गरेर २०४६ सालतिर नेपाल फर्किदा उनीसँग पैसा कम थियो, बस्ने ठाउँ थिएन । उनी २०४६ सालको सुरुवातिमा बुटवलमा अल्लमिएर कामको खोजी गर्ने क्रममा बुटवल हाटबजारका मिठाइ व्यवसायी अनन्त हलुवाइसँग भेट भए । पछि उनले थोरै पारिश्रमिक दिने शर्तमा काम दिने भएपछि उनी फेरि परिश्रम गर्नको लागि हिम्मत हारेनन् । पसिना बगाउँदै, आफ्नो कामलाई निरन्तरता दिइरहने निधो गरे । बुटवलमा आएपछि उनले गरेको मेहनत आज पनि उही छ । तीन दशकभन्दा बढी बितिसक्दा पनि, उनी हरेक बिहान उस्तै उत्साहका साथ आफ्नो काममा लाग्छन् । सोही स्थानमा उनले ग्राहकहरूको विश्वास जिते, मित्रता गाँसे, र बिस्तारै समुदायकै अभिन्न हिस्सा बने ।
बालनरसिंह भन्छन्–‘मानिस परिवर्तन खोज्छ, तर कहिलेकाहीँ निरन्तरता नै असल कर्म हो । यही ठाउँमा ३६ वर्ष बित्दा थाहा भयो, इमानदारी र परिश्रमले जीवनलाई सार्थक बनाउँछ ।’ आज उनले ठूलो सम्पत्ति कमाएका छैनन्, तर मनग्य सन्तुष्टि छ । ग्राहकहरूले उनलाई सम्मान गर्छन् ।
उनी अहिले उमेरले ढल्किएका छन्, तर काम छोड्ने सोंचमा छैनन् ।
‘जबसम्म शरीरले साथ दिन्छ, म यहीँ नै रहन्छु ।’–उनी मुस्कुराउँदै भन्छन् ।
बुटवलको हाटबजार क्षेत्रमा रहेको अनन्त मिठाइ पसलको नाम ‘अनन्त’ राख्नु पनि संयोग मात्र होइन । नाम जसरी नै, बालनरसिंह थापाको मेहनत पनि अनन्त छ । बिहान सबेरैदेखि बेलुकीसम्म उनको पसल खुलेको हुन्छ । यहाँ आउने ग्राहकहरू केवल मिठाइ खान मात्र होइन, उनको आत्मीयताका लागि पनि आउँछन् ।
उनलाई सानो उमेरमै परिवारको जिम्मेवारी बहन गर्ने र जीविकोपार्जनका लागि भारतको विभिन्न स्थानमा गई काममा लाग्नुप¥यो ।
बालनरसिंहले निरन्तर तीन दशक काम गरेकाले पनि ‘अनन्त मिठाइ पसल’ बुटवल हाटबजारको एउटा चिनारी जस्तै बनेको छ ।
सन्तानहरूले ‘अब आराम गर्नुस्’ भन्दा पनि उनीकाम गर्न छाडेका छैनन् । ‘काम गर्न छोडेपछि जीवनमा सार के रहन्छ ?,’ उनी भन्छन्–जबसम्म सकिन्छ, काम गरेर ग्राहकलाई खुसी पार्छु ।’
बालनरसिंह थापा समर्पण, इमानदारी र श्रमशीलताको जिउँदो उदाहरण भएको उनलाई चिन्नेहरु बताउँछन् । ‘बालनरसिंहको जीवन र व्यक्तित्व प्रेरणादायी छ ।’–अनन्त मिठाइ पसलका नियमित ग्राहक गोबिन्द ज्ञवालीले भने ।
भिम कार्की(प्रशिक्षार्थी )




