रुपन्देही । गर्मीयाम शुरु भएसँगै भैरहवा, बुटवल र आसपासका क्षेत्रका मानिसहरूको बेथरी गाउँको ताडी चाख्न घुइँचो लाग्छ । यहाँका स्थानीयको परिश्रमले गाउँलाई एक नयाँ पहिचान दिलाएको छ । स्थानीय मुखलाल पासवान, बुध्दु पासवान र उनका साथीहरू ताडीको रुख चढेर ताजा रस निकाल्छन् । मुखालाल भन्छन्–‘रुख चढ्न कठिन हुने भएकोले ताडी निकाल्नेहरूका लागि सुरक्षा उपकरण (बेल्ट, भ¥याङ) उपलब्ध गराउन सके दुर्घटनाबाट जोगाउन सकिन्छ ।’
बेथरी गाउँमा गर्मीयामको आगमनसँगै ताडीको माग पनि बढ्दो छ । बिहानी मुहुर्तमा स्वादिलो तिख्खर गुलियो तरकुल÷खजुरको रस स्वास्थ्यका लागि लाभदायक हुने र दिनभरको चर्को गर्मीको प्रतिरोधी शक्तिबर्धक पेय पदार्थ तथा प्राकृतिक औषधिय गुण हुने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । स्थानीय बुध्धु पासवानका अनुसार शरीर कमजोर वा थकित महसुस भएमा एक गिलास ताडी वा खजुरको रसले शरीरलाई ताजगी दिन्छ । गाउँमा लगभग २०० खजुरका र ३० तरकुलका रुख छन्, जसबाट रस निकाल्ने काम मुख्य रूपमा मुखलाल पासवान, बुध्धु पासवान र उनका भाइहरुले गर्छन् । ‘हामी बिहान सबेरै रुख चढेर ताजा रस निकाल्छौं । यसलाई समयमै प्रयोग नगरेमा अम्लीय बन्न सक्छ, त्यसकारण शुभ मुहुर्तमा प्राकृतिक तरकुल खजुर वृक्षरस पिउनु स्वास्थ र शक्तिबर्धक छ ।’–मुखलाल भन्छन् ।
ताडीको मौसमी व्यापार र गर्मीयामको क्रेज
चैत्रदेखि असारको सुरुवातसम्म बेथरीका स्थानीय व्यापारीहरू ताडी बेच्न व्यस्त हुन्छन् । विशेष गरी चैत्र ,बैशाख र जेठ महिनाको चर्को गर्मीमा, ताडी पिउन आउनेहरूको संख्या झन् बढ्दछ । स्थानीय ताडीबाज बुध्दुले भने–‘गर्मीमा शरीरलाई चिसो राख्नका लागि ताडी सबैभन्दा राम्रो विकल्प हो ।’
स्वाद र स्वास्थ्यको लाभः तरकुल र खजुरको ताडीमा स्वादको भिन्नता हुन्छ । तरकुलको ताडी हल्का गुलियो र शीतल महसुस गराउने हुन्छ भने खजुरको ताडी झन् मीठो र पोषणयुक्त हुन्छ । यी प्राकृतिक पेयहरूले शरीरलाई हाइड्रेट गर्न मद्दत गर्छ, पाचन प्रक्रियामा सहयोग पु¥याउँछ, र गर्मीयाममा शरीरको तापमान सन्तुलित राख्न मद्दत गर्छ ।
बेथरीको ताडी पर्यटनको सम्भावनाः वेथरीलाई ‘ताडी गाउँ’ को रूपमा विकसित गर्ने सम्भावना छ । ताडीलाई बोतलबन्द पेय बनाउने, ताडी फेस्टिभल आयोजना गर्ने र ताडी निकाल्ने ताडिवालहरूको सुरक्षा सुनिश्चित गरेर, ताडीको व्यापारलाई व्यवसायीकरण गर्न सकिन्छ । यसले गाउँको अर्थतन्त्रमा योगदान पु¥याउन सक्छ र पर्यटकीय आकर्षण पनि बन्न सक्छ ।
ताडी निकाल्ने परम्परागत कार्यमा व्यस्त रहेकाहरूलाई साहस र परिश्रमको प्रतीकका रूपमा सम्बोधन गरिएको छ । ‘ताडिवाल, रस योद्धा, फ्लाइङ ताडिवाल, र ‘बेथरीका बाजीगर’ जस्ता नामहरूले तिनीहरूको साहस र परिश्रमलाई सम्मानित गर्छ ।
ताडीको व्यापार र परम्परागत रस निकाल्ने कार्यले बेथरीलाई एक नयाँ पहिचान दिलाएको छ । यदि यसको व्यवसायीकरण गर्न सकिन्छ भने यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने निश्चित छ । मुखलाल पासवान जस्तै स्थानीयको मेहनत र साहसले बेथरीको ताडीलाई लोकप्रिय बनाएको छ र यसलाई व्यावसायिक रूप दिन अझैँ नयाँ सम्भावनाहरूको ढोका खोल्न सक्छ ।
भिम कार्की ( प्रशिक्षार्थी )




