बुटवल । राष्ट्रकै अग्रणी शैक्षिक संस्था न्यू होराइजन आवासीय अंग्रेजी मावि बुटवलले देवीनगर रंगशालामा २५ लाख लागतमा स्मार्ट शौचालय बनाइदिएको छ । एन्फा रंगशालामा सुविधासम्पन्न शौचालयको अभाव खड्केको हुंदा विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै एउटै भवनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय बनाइदिएको हो ।
रंगशाला परिसरमा बनेको उक्त शौचालय शुक्रबार एक कार्यक्रमका बीच उद्घाटनसंगै विद्यालयले रंगशालालाई हस्तान्तरण गरेको छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शौचालय उद्घाटन गर्दै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै अनुकरणीय सामाजिक कार्य गरेको भन्दै सराहना गरे । उनले रंगशाला क्षेत्र व्यवसायिक क्षेत्र बन्दै गरेको उल्लेख गरे ।
सो अवसरमा न्यू होराइजन संस्थाका अध्यक्ष ज्ञानेन्द्र कसजूले बुटवलमा शिक्षाको गुणस्तर माथि उकास्न न्यू होराइजनको योगदान महत्वपूर्ण रहेको र सामाजिक क्षेत्रमा पनि आवश्यकता अनुसार योगदान गर्दै आएको बताए ।
विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालयको ३५ औं वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख लागतमा शौचालय निर्माण गरिदिएको बताए ।
यसअघि विद्यालयले लक्ष्मी मावि, प्रगति माविमा शिक्षकको व्यवस्थापन, डेस्क बेन्च हस्तान्तण लगायतका काम पनि गर्दै आएको उनीहरुको भनाई थियो ।
कार्यक्रममा जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष लोक पुनले आफूहरुको अनुरोधलाई स्वीकार गरेर स्मार्ट शौचालय बनाइदिएकोमा विद्यालयलाई धन्यावद ज्ञापन गर्दै यसले खेलाडी र दर्शकलाई धेरै सहज बनाउने बताए । । सो अवसरमा विद्यालयका सहप्राचार्य वासुदेव अर्याल,नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल लगायतले आफ्ना भनाई राखेका थिए ।




