भैरहवा । पैदलयात्रु निर्वाध आवगमनको सहजताका लागि फुटपाथ प्रयोग गरिएपनि रुपन्देहीको भैरहवामा यस्को विपरित फुटपाथलाई पार्किङको रुपमा प्रयोग गरिएको छ । सडकमा सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गए पनि पार्किङ स्थलको व्यवस्थापन हुन नसक्दा भैरहवा अस्तव्यस्त हुदै गएको छ । भैरहवाको बुद्धचोक देखि बर्मेली टोलको पश्चिम तर्फको सर्भिस रोड पार्किङ निषेध गराई फुटपाथमा पार्किङ गराइएको छ ।
केवल पैदल यात्रुको सहजताका लागि बनाइने फुटपाथमा यहाँ मोटरसाइकलहरु क्रमबद्ध रुपमा पार्किङ गरि राखिएको छ । पछिल्लो केही दिन देखि फुटपाथ खाली गराउने र अव्यवस्थित पार्किङ्गमा कडाई गर्दै आएको सिद्धार्थनगर नगरपालिका र ट्राफिक प्रहरीले फुटपाथमै पार्किङ्ग गर्दा भने रमिते बनेको छ ।
सिद्धार्थनगर नगरपालिकाले पछिल्लो केही दिन देखि नगरप्रहरीको प्रयोग गर्दै सिद्धार्थनगरको सडकपेटी अतिक्रमणलाई हटाउने अभियान गर्दैछ । नगरपालिकाले फुटपाथलाई व्यवस्थित गरी पैदलयात्रुको सहजताका लागि यो अभियान सुरु गरेको छ । भैरहवाको मुख्य बजर बैंक रोड, गल्लामण्डी, मैत्री पथ, नयाँ सडक, नारायणस्थान लगायतको सडकहरुमा दैनिक नगरप्रहरीले फुटपाथ खाली गराउदै राखिएको सामान समेत नियन्त्रणमा लिई कारवाही गरेका छन ।
सडकपेटी खाली गर्ने अभियानले थुपै्र व्यवसायीहरु कारवाहीको दायरामा आई जरिवाना समेत दिदा नगरपालिकाले बुद्धचोक नजिकै राखेको फुटपाथको पार्किङको विषयमा केही गर्न सकेको छैन । नगरपालिकाको समन्वयमा नै केही समयका लागि फुटपाथमा पार्किङ गरिएको हो, अल्पकाालिन रुपमा यस क्षेत्रको पर्किङको लागि फुटपाथ प्रयोग गर्ने भनिएपनि ३ वर्ष वित्दा समेत यसलाई निरन्तरता दिदै फुटपाथमै पार्किङ गरिरहेकको छ ।
फुटपाथ सहित सर्भिस रोडमा समेत जथाभावी पार्किङ गर्दा पैदल यात्रीलाई समस्या भएको सामाजिक अगुवा विजय सागर श्रेष्ठले बताए । यसरी जथाभावी पार्किङ गर्दा र एउटा लेनमा चल्नुपर्ने साधन उल्टो लेनमा चल्दा दुर्घटनाको जोखिम धेरै भएको उनले बताए ।
सिद्धार्थनगर बैकरोडका व्यवसायीहरुले नगरप्रहरीले ज्यादती गरेको बताएका छन । दादागिरी शैलीमा फुटपाथको मात्रै होइन पसल भित्रको सामान पनि गाडीमा हालेर लगेको गुनासो गरेका छन । झयामझुमे सामान उठाएर गाडीमा हालिएको छ यो गलत ढंगले नगरप्रहरीहरु लागेको व्यवसायीहरुले बताएका छन । उनीहरुले के के सामान लग्यो भन्ने पनि आफुहरुलाई थाहा नभएकोले जरिवाना पछि कसरी चिनेर ल्याउने भन्ने पनि दुविधा भएको बताए ।
टर्न निषेधमा गाडी सररर....
भैरहवामा प्रवेश निषेध गरेको क्षेत्रमा सवारीसाधन निरन्तर प्रवेश गर्दा समेत ट्राफिक प्रहरी मौन भई बसेको छ । भैरहवाको बर्मेली टोलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले उत्तर तर्फ जादा दाया टर्न निषेध गरेको छ । ट्राफिक व्यवस्थापनका लागि डिभाइडर हटाएर राखिएको बुद्धचोकबाट आउने सवारीसाधनलाई सजिलै नारायण पथ र दाया सर्भिस रोड जाने सहजताका लागि उक्त टर्न खोलिएपनि त्यसको विपरित दिशाबाट गएको सवारीसाधन पनि सहजै त्यो बाटोको प्रयोग गरिरहेको छ ।
सबैले देखिने गरि राखिएको ट्राफिक चिन्हलाई वेवास्ता गर्दै आम सर्वसाधरण गलत बाटो प्रयोग गरिरहेका छन । प्रवेश निषेधको चिन्ह लाई नजरअन्दाज गरि सवारीसाधन आवगमनले दुर्घटनाको उच्च जोखिम छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले टर्न खोल्दा केही समय प्रहरी खटाएपनि अहिले ट्राफिक प्रहरीको डयुटी नै हटाइएको छ ।
२४ घण्टा बल्ने ट्राफिक लाइट सधै विरामी
यस्तै भैरहवा क्षेत्रको राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि बुद्धचोक र देवकोटा चोकमा रहेको ट्राफिक लाइट नियमित रुपमा नचल्दा दुर्घटनाको उच्च जोखिममा छ । स्वचलित रुपमा २४ घण्टा बल्नुपर्ने ट्राफिक बत्ती कहीले बल्ने र कहिले नबल्दा चालकहरु झुक्किएर झन दुर्घटनाको जोखिम बढेको छ । ट्राफिक लाइटले काम नगर्दा ट्राफिक व्यवस्थापन स्वचालित नहुने र चालक आफ्नै सुरमा गाडी हाक्ने गरेका छन । बेलाबखत सडकमा भएको ट्राफिक प्रहरीले हातको इशाराले संकेत गरेपनि ड्युटीमा भएको प्रहरी पनि छेउमा मोबाइल चलाउदै र कुराकानीमै मस्त हुन्छन ।
पार्किङ्गको अभावमै भैरहवा
भैरहवामा सडकचाप बढेपनि पार्किङको अभाव नै रहेको छ । सडकमा सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गए पनि पार्किङ स्थलको व्यवस्थापन हुन नसक्दा भैरहवा अस्तव्यस्त हुदै गएको छ ।
जिल्ला ट्राफिक कार्यालयलले नगरपालिका र व्यवसायिक संघ संस्थाको समन्वयमा सडकको एकातर्फ पार्किङ स्थल तोके पनि बढ्दो सवारीसाधनको चापले गर्दा सर्वसाधरणका साथै बजार गर्न आउने आन्तिरक तथा बाह्य पर्यटकहरुलाई समेत सास्ती खेप्नु परेको छ ।
भैरहवाको मुख्य वजार बैकरोड, मिलनचोक, नारायण पथ, गल्लामण्डी, आवा रोड लगायतका क्षेत्रमा पार्किङ स्थल अभावको मुख्य मारमा मोटरसाइकल र कार धनीहरु परेका छन् ।
काम विशेषले कहि कतै जान पर्ने भयो भने मुख्य बजारमा पार्किङ गर्ने ठाँउ नै पाइदैन । स्थानिय निकायले पनि आबश्यक पार्किङ स्थलको छनोट गरी व्यस्थापन गर्नुपर्नेमा चासो नदिदा नगर नै अस्तव्यस्त बन्दै छ ।
राज्यले सवारी गुडाए वापत हजारौँ कर लिन्छ तर सडम मर्मत तथा बिस्तारमा खासै ध्यान दिदैन, नगरपालिकाले पनि घर बनाउन नक्सा पास गर्छ पसलको दर्ता गर्छ तर कही कतै पार्किङ्गको बारेमा सोच्दैन त्यही कारणले पनि पार्किङ्गमा समस्या आउने गरेको छ ।
रुपन्देहीको भैरहवामा यि मात्रै होइनन नम्बर प्लेट अस्पष्ट भएको छरपस्ट देखिन्छ, हाइवेमा इरिक्सा, भन्सार र सुविधा विनाका भारतिय गाडीको निर्वाध प्रयोग, वसपार्कबाट छुट्नु पर्ने गाडी चोक र सर्भिस रोड बसपार्कको रुपमा परिणत जस्ता कार्यले भैरहवामा ट्राफिक प्रहरी नै नभएको अनुभूति भइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले रुपन्देहीका निमित्त प्रमुख वरिष्ठ सई ज्ञानेन्द्र शर्माले समग्र ट्राफिक व्यवस्थापनका लागि नियमित रुपमा चेकजाँच र नियम विपरीत गरेकालाई कारावहीको दायरामा ल्याएको बताए । हाइवेमा चल्ने इरिक्सा र भन्सार विना आएका विधुतीय गाडीहरुलाई कारवाहीको दायरामा ल्याएका छौ, हिजो मात्रै ४५ वटालाई कारवाही गरेका छौ भने, फुटपाथमा भएको पार्किङको विषय केही दिनमा समाधान हुने बताए । यस्तै प्रत्येक दिन अपरेशन गरेका छौ, राइट टर्न निषेधमा सवारीसाधनको प्रवेश भएको पाइएकोले डयुटी खटाएर त्यसलाई नियमन गर्ने वरिष्ठ सई शर्माले भने । उनले एकै पटक सबै काम नहुने बताउदै अबको एक हप्ता पछि नतिजा देखिने परिवर्तन हुने उनले दाबी गरे ।
नगरप्रहरीको विषयमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले नगर प्रहरीद्वारा सिद्धार्थनगर नगरपालिकाभित्र बजार क्षेत्रमा जथाभावी रूपमा गरिएको पार्किङ, सडक क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्ड, हेलमेट तथा सडक पेटीमा राखिएका सामग्रीहरूलाई हटाउने तथा नियन्त्रणमा लिने कार्यलाई तीव्र रूपमा अगाडि बढाएको बताए ।
फुटपाथमा गरिएको पार्किङको विषयमा पनि नगरपालिका सचेत छ, नगरवासीको सहजताका लागि नै नगरपालिकाले अभियान चलाएको छ । नगरका समस्या समाधनमा पूर्ण रुपले नगरपालिका लागेको छ । सिद्धार्थनगर नगरपालिकाले पार्किङ व्यवस्थापनका लागि निजी क्षेत्रको सहकार्यमा व्यवस्थापनको काम भइरहेको बताए । नगरको व्यवस्थापन र निर्णयहरु कार्यान्वयनका लागि बजार क्षेत्रमा अहिले नगरप्रहरीहरु परिचालन भएका छन, इरिक्सा, फोहोरमैला, फुटपाथ खाली गराउने पार्किङ लगायतको विषयमा नगरप्रहरी लागेको छ, व्यवहार गलत भएको भए नगरपालिका क्षमाप्रर्थी छ, हामी सचेत गराउदै छानवीन गरेर गलत गर्नेलाई विभागिय कारवाही समेत गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत थापाले भने ।
छाडा चौपाया, इरिक्सा व्यवस्थापनको विषय चुनौति रहेपनि विस्तारै सहज हुदै गएको छ भने फोहोरमैलाको विषयमा सर्वसाधरणले जथाभावी फोहोर फाल्नेलाई कारवाहीको दायरामा ल्याउने बताए । समग्रमा नगरपालिकाले यहाँको समस्या समाधान गर्नका लागि लागिपरेको छ, कामको दौरान केही गलत भए त्यसलाई सुधार गर्दै नगरवाजीलाई अनुभुत हुने गरी काम गर्ने बताए ।
थापाले सार्वजनिक स्थानहरूको सौन्दर्यीकरण, यातायात व्यवस्थापनलाई सहज बनाउने तथा सर्वसाधारण पैदल यात्रुहरूको आवागमनलाई सुरक्षित तथा व्यवस्थित गर्ने उद्देश्यले नगर प्रहरीले नियमित रूपमा अनुगमन गर्दै अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारी साधनहरू हटाउने, नियमविपरीत राखिएका विज्ञापन बोर्ड तथा अन्य सामग्रीहरू नियन्त्रणमा लिने कार्यलाई निरन्तरता दिइएको उनले भने । यहाँहरुको सहजताको लागि नै गरेकोले नगरवासी, व्यवसायी र सबै सम्बन्धित पक्षलाई यस कार्यमा सहयोग गरी नगर क्षेत्र सफा, सुरक्षित र व्यवस्थित राख्न योग्दान गर्न आग्रह गरे ।




