भैरहवा
लुम्बिनी ट्रक यातायात व्यवसायी संघको १३औं साधारणसभा तथा ६औं अधिवेशनबाट निर्वाचिन पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको छ ।
मंगलबार संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी ३ वर्ष कार्याकालका लागि निर्वाचित समितिलाई प्रमुख निर्वाचन अधिकृत शेषमणी पोखरेलले सपथ गराई निवर्तमान समितिले नव निर्वाचित समितिलाई पदस्थापन गरेको हो ।
शनिबार सम्पन्न अधिवेशनबाट रुमाखर गौतमको अध्यतामा १२ सदस्यीय नयाँ नेतृत्व चयन भएको थियो । पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सन्तोषकुमार पाण्डेले संघर्षले बनेको यो संस्थाको गरिमा अझैँ बढाउनका लागि सबैलाई संगठित र एक मत हुन आग्रह गरे । उनले व्यवसायिक हक हितको लागि सबै व्यवसायीहरू एकताबद्व भए व्यवसायको पनि संरक्षण हुने बताउँदै आफू ट्रक व्यवसायीहरुको समस्याको विषयमा पुरै अवगत भएको निरन्तर आवाज उठाउँदै आएको बताए । ‘ट्रक व्यवसायीहरु अहिले निकै मारमा परेकोले उहाँहरुको समस्या समाधानको लागि आफू साथमा रहने र सधँै सहयोग गर्ने प्रतिबद्धता जनाउँछु ।’–उनले भने ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वरिष्ठ सल्लाहकार महेन्द्र श्रेष्ठले सबैभन्दा बढी आयात निर्यात हुने भैरहवा भन्सार, देशभरि खाद्यान्न उपलब्ध गराउने क्षेत्र र अत्याधिक उद्योग र कलकलारखाना भएको यो क्षेत्रमा स्थापित संस्थाले सोचेअनुसारको फाइदा नलिएको बताए । यहीका ट्रक व्यवसायीहरु हुँदाहँुदै पनि अवसरको पूर्ण फाइदा लिने हकदार पनि यही क्षेत्र भएता पनि संगठित नहुँदा काम र सेवा गर्ने अवसर यहाँका व्यवसायीले नपाएको उनले जनाए । छठ र सिमेन्टको रेट व्यवसायीहरु संगठित भएकै कारण आधारहरुसहित रेट बढाएर गएका छन्, त्यसको सिको गर्दै नयाँ बनेको कार्यसमितिले विभिन्न समस्यासहित एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।
ट्रक व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले ट्रक व्यवसाइ दुःखद अवस्थामा गुज्रिरहेकोे बेला नयाँ समितिले कठिन र चुनौतीपूर्ण अवस्थामा लिएको जिम्मेवारीबाटपछि नहटी भारतीय ट्रकबाट भएको प्रताडितलाई चिर्न जरुरी रहेको बताए । नेपालको पहिलो धर्मकाटाँ यही भएकोले तौलपुलमा भएको डिजिटलाइज प्रविधिलाई पूर्ण कार्यान्वयनमा ल्याई स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण सृजना गर्नुपर्ने उनले जनाए ।
ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम पाण्डे, पश्चिमाञ्चल ट्रक व्यवसायी संघका महासचिव, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दु, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरि, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलगायतले बोल्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै व्यवसायीको हकहित र समस्यामा अगाडि उभिने गरी काम गर्न आग्रह गरे । उनीहरुले चरम आर्थिक मन्दिका बेला व्यवसायी पलायन भैरहेको अवस्थामा सबै व्यवसायीहरुलाई एक भएर संस्थागत हितका लागि पनि लाग्नु पर्नेमा जोड दिएका थिए । ट्रक व्यवसायीबाट कर मात्रै असुल्ने, व्यवसायमैत्री वातावरण नबनाइ सरकारले हेर्ने नजर फरक रहेको उनीहरुले बताए ।
संस्थाको ६औं अधिवेशनले अध्यक्षमा गौतमसहित वरिष्ठ उपाध्यक्षमा मधुसुदन आचार्य, प्रथम उपाध्यक्षमा अमित थापा, उपाध्यक्षमा झविन्द्रबहादुर चोखाल, महासचिवमा बाल किशुन गुप्ता बनियाँ, सचिवमा लिलाप्रसाद श्रेष्ठ र कोषाध्यक्ष्मा रविन खरेललाई निर्वाचित गरेको थियो । यस्तै सदस्यहरुका अकलेश अग्रहरि, यूवराज क्षेत्री, अमित कुार चौधरी, एक नारायण पाण्डे र रास विहारी जैसवाललाई निर्वाचित गरेको थियो ।
पदस्थापन पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष गौतमले पाएको जिम्मेवारीमा रही कुनै किसिमको संस्थामा आँच नआउने गरी गरिमा बढाउने काममा लाग्ने प्रतिबद्धता जनाए । उनले निवर्तमान अध्यक्ष र सबैको सल्लाह, राय सुझाव लिइ अगाडि बढ्ने बताउँदै व्यवसायीलाई लाभ पुग्ने गरी काम गर्ने जनाए । दुर्घटना, बिमा, ओभरलोड, सडक पूर्वाधार, चलाक र व्यवसायीको हकहित र अपहेलनाविरुद्ध आफू अग्रपंक्तिमा उभिई सामना गर्ने बताए ।
निवर्तमान अध्यक्ष विष्णुप्रसाद खरेलले धेरै संघर्षले जन्मिएको संस्थाको पदमा नरहे पनि सधँै व्यवसायीहरुको साथमा रहने बताए । उनले सरकारले हामीमाथि लादेको विभिन्न करको अलावा कुल भाडामा अहिले भ्याट लगाएकोमा यसलाई संघले मध्यनजर गर्दै लैजाने समेत जनाए ।




