बुटवल । पूर्व राष्ट्रपति विद्या भण्डारीले पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरस्थित प्रख्यात शक्तिपीठ कामाख्या देबी मन्दिर दर्शन गरेकी छन् ।
विहीबार बिहान काठमाडौंबाट भैरहवा ओर्लिएकी पूर्वराष्ट्रपति भण्डारी सोही सांझ लुम्बिनी केबलकार हुंदै कामाख्या मन्दिर पुगेकी हुन् । पुर्व राष्ट्रपति भण्डारीलाई लुम्बिनी केबलकार लि।का लगानीकर्ता तेज्रसाद सुनार,अप्रेसन म्यानेजर डिएन कायस्थ सैंजूले स्वागत गरेका थिए ।
मन्दिरमा दर्शनपछि मूल पुरोहित सुरेश शर्मा पौडेलबाट टिका र प्रसाद ग्रहण पछि पुर्व राष्ट्रपति भण्डारी भैरहवा फर्केकी छन् । लुम्बिनी केबलकार यात्रा र मन्दिर दर्शनपछि भण्डारीले बसन्तपुर निकै शान्त। स्वच्छ, रमणीय र धार्मिक पर्यटकीय स्थल बनेको भन्दै खुशी व्यक्त गरिन् ।
पुर्व राष्ट्रपति भण्डारी मन्दिर दर्शनका लागि आउंदा नेकपा एमालेका केन्द्रीय स्तरका नेता र जिल्ला तथा प्रदेका जनप्रतिनिधिको बाक्लो उपस्थिति थियो ।
भण्डारीसंग नेकपा एमालेकी सचिव एवं लुम्बिनी इन्चार्ज पद्मा अर्याल,लुम्बिनीका पुर्व मुख्यमन्त्री एवं पोलिटब्युरो सदस्य लिला गिरी,पुर्व राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई,पुर्व प्रदेश सभा सदस्य दधिराम न्यौपाने, एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, उपाध्यक्ष हितराज पन्थी, प्रदेश सभा सदस्य जानकी न्यौपाने, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, सिद्धार्थनगरकी उपप्रमख उमा अधिकारी, बुटवलकी पुर्व उपप्रमुख गोमा आचार्य लगायत एमाले नेता कार्यकर्ताहरु उपस्थित थिए ।
शुक्रबार लुम्बिनी विकास क्षेत्रमा निर्माण गरिने बिहारको शिलन्यास गर्ने र शनिबार यस क्षेत्रका महिला जनप्रतिनिधिसँगको अन्तरसंवाद भएपनि त्यसअघि र पछि उनले नेकपा एमालेको विभिन्न तहमा रहेका नेता–कार्यकर्ताहरूसँग भेटघाट सुरू गरेकी छन् । उनी तीन दिनसम्म रुपन्देही बस्ने कार्यक्रम रहेको छ ।
अहिलेसम्म खुलेर एमालेको राजनीतिमा नदेखिए पनि उनले भित्रभित्र आफ्नो पक्षमा माहोल बनाइरहेको एमाले नेताहरूले नै सार्वजनिक गरिरहेका छन् ।
रुपन्देहीमा भण्डारीका अन्य कार्यक्रम तय भए पनि मुख्य उद्देश्य एमालेभित्र आफ्नो माहोल बनाउने रहेको आंकलन उनी निकटस्थहरूको छ । भण्डारीले भैरहवामा रहँदासम्म लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष, यहाँका केन्द्रीय सदस्य, प्रभावशाली नेताहरू, युवा, विद्यार्थी र महिला संघका नेताहरूसँग छलफल गर्ने छिन् ।
भण्डारी तीन दिनसम्म भैरहवास्थित पांच तारे होटेल सिद्धार्थ भिलासामा बसेकी छन् ।
भण्डारी शुक्रबार बुद्धजन्मस्थल लुम्विनीमा हुने कार्यक्रममा सहभागी हुने छिन् भने शनिबार भैरहवामा लुम्विनी प्रदेशका स्थानीय र प्रदेशका सबै पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिको महिला सशक्तिकरण कार्यक्रममा सहभागी हुंदैछिन् । भैरहवाको कार्यक्रम पुर्व राष्ट्रपति भण्डारीकै सुझाव अनुसार राखिएको नेकपा एमालेबाट निर्वाचित रुपन्देहीकै एक पालिकाकी उपप्रमुखले बताइन् ।




