बुटवल । रिम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘हेल्लो काँशीराम’ सेन्सर पास भएको छ। आगामी जेठ २ गतेबाट नेपाल भरका हलमा प्रदर्शन हुने यस फिल्मले केन्द्रीय जाँचपास समिति (सेन्सरवोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको हो। अब यस फिल्मलाई हरेक वर्गका दर्शकले सजिलै हेर्न पाउनेछन्।
शनिवार गरिएको सेन्सरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक विश्वकर्माले जानकारी दिए। कमेडी शैलीमा निर्माण भएको फिल्म भित्रको कथाको रहस्य भने दर्शकले प्रदर्शन भएपछि थाहा पाउनेछन्, निर्देशक विश्वकर्माले भने, –‘तर, सेन्सर वोर्डका सदस्यहरुले समग्रमा फिल्मलाई राम्रो रेटिङ दिनुभयो। निकै खुसी बनाएको छ।’
फिल्मको यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकहरुमा छुट्टै किसिमको कौतुहलता सिर्जना गरेको छ। विशेष गरेर दीलिप रायमाझीले बोको बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान तानेको छ।रेडलाइन फ्लिम्स प्रालीके ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्।
रिम निकै पुराना निर्देशक हुन्। यस फिल्मलाई पीबी थापाले लगानी गरेका हुन्। यम आलेले खिचेको फिल्मको लगानी डेढ करोड पुगेको बुझिएको छ।फिल्मलाई मित्रडी गुरुङले सम्पादन तथा रंगसंयोजन गरेका छन्।
फिल्ममा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन्।त्यस्तै, हालका चर्चित हाँस्य कलाकार उमेर राई फुलन्देकोआमा, भगेरीडन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरीलगायतका कलाकारहरु पनि फिल्ममा देख्न पाइनेछ।
यस फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भुमिका रहेको निर्माण टिमले जनाएको छ। प्रियंका नेपाली फिल्म उद्योगको सफल अभिनेत्री भएकाले उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने विश्वकर्माको भनाई छ।फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन्। द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र बियोगी र विपिन आचार्यले गरेकाछन्।
चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ। नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक–गायिकाहरूको सहभागिताले फिल्मको संगीत पक्षलाई थप आकर्षक बनेको निर्माण पक्षको भनाई छ।
निर्देशक विश्वकर्माले यस अघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ लगायतका फिल्महरू निर्देशन गरिसकेका छन्, उनका फिल्महरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता प्रस्तुत गर्ने गरेका छन्। फस्टलुक पोस्टर र प्रदर्शन मिति एकै साथ सार्वजनिक गरेर प्रचार थालेको फिल्मको टिजर र गीत छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।




