लक्ष्मण घिमिरे
अर्घाखाँची
भूमिकास्थानको नुवाकोटमा आगलागी हुँदा एक घर र तीन गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
भूमिकास्थान नगरपालिका–७, नुवाकोटको पानडाँडा सामुदायिक वनमा लागेको आगो बस्तीसम्मै पुगेपछि घरगोठ जलेका हुन् । यस्तै एउटा भैंसी, एउटा पाडो, ९ ओटा बाख्रा र ५९ ओटा कुखुरा जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
लोकबहादुर थापाको तीन तले कच्ची घर र गोठ जलेर पूर्णरुपमा क्षति भएको छ । थापाका २६ वटा कुखुरा पनि जलेर खरानी भएका छन् । यस्तै सोही ठाउँका रेलबहादुर थापाको गोठ जलेर छेदविच्छेद भएको छ भने गोठमा रहेको भैंसी, पाडो, ६ ओटा बाख्रा र १७ ओटा कुखुरा जलेर मरेका छन् ।
आगलागीमा परेर तिलक रायमाझीको गोठ र ट्वाइलेट नष्ट भएको छ । रायमाझीका ३ वटा बाख्रा र १६ ओटा कुखुरा जलेका छन् । घटनामा मानवीय क्षती नभए पनि केही पशु चौपाया घाइते भएका प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो लागेको आगो जिल्ला प्रहरी कार्यालय सन्धिखर्क, प्रहरी चौकी खिल्जी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको हो । बेलैमा आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो दुर्घटना टरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए । ‘समयमै आगो निभाउन सफल भयौं,’ उनले भने–‘ठूलो क्षति हुनबाट बस्ती जोगिएको छ ।’
प्रत्येक वर्ष आगलागीले हैरान पार्नुका साथै मानवीय तथा भौतिक क्षतिसमेत हुने गर्छ ।
तर, आम नागरिकको सचेतनाको कमी, स्थानीय सरकारहरुको अपुग तयारी र बेलैमा आगो नियन्त्रणमा ध्यान नदिँदा वर्षैंपिच्छे उस्तै सास्ती व्यहोर्नु परेको छ ।




