कृष्ण पोखरेल
पाल्पा
तिनाउ गाउँपालिकाले चालु आर्थिक वर्षको ८ महिनामा १९ करोड ६२ लाख ४९ हजार रुपैयाँ खर्च गरेर ३६ प्रतिशत प्रगती हासिल गरेको जनाएको छ । पालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै पालिकामा चालु आर्थिक वर्षमा ११७ वटा योजना रहेकोमा ८४ वटा सम्झौता भएको २४ वटा सम्पन्न भएका छन । गाउँपालिकाले ८ महिनाको अवधीमा ४ करोड ३ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । पालिकालाई स्थानीय बालमैत्री युक्त शासन भएको गाउँपालिका घोषणाको लागि ५१ वटा सूचकमध्ये ३० वटा पूरा भएको र २० वटामा काम भइरहेको पालिकाले जनाएको छ । पालिकाले मस्याम मावि, कल्याणी आधारभूत विद्यालयमा छात्राबाससहित विद्यालय सञ्चालन गरेको जनाएको छ ।
८ महिनाको अवधिमा पालिको वडा नंं. १ र २ लाई पूर्ण संस्थागत प्रसूतिसेवायुक्त वडा घोषणा गरेको, ६ वटै वडामा आखाँ शिविर सञ्चालन गरी १०९० जनाले सेवा लिएको र १२० जनाको मोतियाविन्दुको पहिचान गरी ८२ जनाको अप्रेशसन भएको, दोभान स्वास्थ्य चौकीमा पेपरलेस प्रणालीको सुरुवात भएको, ८० वर्षभन्दा माथि जेष्ठ नागरिकहरुको घरमै पुगी उपचार सेवा प्रदान गरेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो । पालिकाभित्र १३४ वटा मिनिटिलर खरिदको पक्रिया अगाडि बढाएको, १५ वटा कुटानी पिसानी मिलको लागि प्रक्रिया अघि बढेको, विभिन्न वडा कृषक तालिम सञ्चालन गरेको, बेमौसमी तरकारी प्रवर्धन कार्यक्रम गरेको पालिकाले जनाएको छ ।
बुटवल हाटबजारमा तिनाउ कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गरी करीब २ करोडको कारोबार गरेको, कृषकहरुलाई विचलौलियबाट बचाउन सफल भएको, पशु सेवाअन्तरगत कृत्रिम गर्भाधान कार्यक्रम, ५० प्रतिशत अनुदानमा रागो वितरण, डोर टु डोर कार्यक्रम भएको, ४ सय ७१ जना कृषकको ९ हजार ७ सय ६१ वटा पशुपंक्षीको उपचार गरेको पालिकाले जनाएको छ । १४ वटा ठूला योजना ठेण्डर गरेर काम भइरहेको पालिकाले सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले गाउँपालिकाले ८ महिनाको अवधिमा भएका कामहरुको विवरण प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले पालिकाको विकास निर्माण, सुशासन तथा पारदर्शीता कायम गर्न सक्रिय भएर काम गरेको बताए । अध्यक्ष श्रेष्ठले २०७९ सालको स्थानीय निर्वाचनमा मतदातासँग गरेको प्रतिबद्धताअनुसार हालसम्म ६० प्रतिशत काम गरेको बताएका छन् । गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै पालिका अध्यक्ष श्रेष्ठले निर्वाचनको क्रममा जनताको घरदैलोमा पुगी गरेको प्रतिबद्धताको ६० प्रतिशत काम गरेको दाबी गरे । ‘मसँग अहिले पनि जनतासँग निर्वाचनमा गरेको प्रतिबद्धता र पार्टीको घोषणापत्र साथैमा छ, मतदातासँग गरेको प्रतिबद्धताअनुसार महिनामा के–कती कामहरु भएका छन् भनेर समीक्षा पनि गर्दै आएको र आफ्नो कार्यकाल पूरा हुँदासम्म मतदातासँग गरेको ९० प्रतिशत प्रतिबद्धता पूरा गर्नमा सफल हुने दाबी छ ।’– पालिका अध्यक्ष श्रेष्ठले भने । पालिकाभित्र सुशासन, पारदर्शीता कायम गर्न आफू प्रतिबद्ध भएर काममा खटिएको अध्यक्ष श्रेष्ठले बताए । ‘मलाई एक पैसाको लोभ छैन, आफ्नो कार्यकालमा कुनै किसिमको आर्थिक अनियमिताको दाग नलाग्ने गरी अहिलेसम्म काम गर्दै आएको आर्थिक कारोबारबाट समेत टाढै रहने गरेको छु ।’–अध्यक्ष श्रेष्ठले बताए ।
सार्वजनिक सुनुवाइमा सहभागीहरुले जनप्रतिनिधिहरुबाट भाषण मात्र हुने गरेको उपलब्धिमूलक काम नभएको, कृषि कार्यक्रम प्रभावकारी नभएको, कृषिका कार्यक्रमहरु विचौलियासँग मिलेमोतोमा सञ्चालन भएको, वडा नंं. ३ र ५ नं. मा प्राविधिकले वडा सचिवको भूमिकाले निर्माणधिन पूर्वाधारहरुमा निगरानी तथा अनुगमन गर्ने समय नहुँदा काममा गुणस्तरहीन बढेको गुनासो गरे ।
अहिलेसम्म वर्षातको समयमा गएको पहिरो पन्छाउने काम नभएको, गाउँ–गाउँमा खानेपानीको समस्या बढेको, गाउँपालिकाले ५० प्रतिशत अनुदानमा दिने कृषि सामग्रीभन्दा बजारमा किनेको सामग्रीहरु सस्तोमा पाउने गरेको, पालिकाभित्रका सबै पक्षलाई सामाजिक सुरक्षामा जोड्नु पर्ने, खोला किनार सबै होटल व्यवसायीले फोहोर खोलामा फाल्दै आएकोले नियन्त्रण गर्नुपर्ने, कृषकहरुलाई व्याजमा अनुदान कार्यक्रम कहिले लागु हुने, खानीको कारण पानीको मुलहरु सुक्दै गएको, तालिम दिएका व्यक्तिहरुलाई पुनः फलोअप तालिम दिनुपर्ने, स्थानीस्तरमा प्रयोग हुने जनशक्तिलाई सोही किसिमको तालिम दिनुपर्ने, जनप्रतिनिधीले गरेका कामहरुको मासिक विवरण सार्वजनिक गर्नुपर्नेमा सहभागीहरुले जोड दिए ।
सार्वजनिक सुनुवाइमा, नेपाली कांग्रेस तिनाउ गाउँ समितिका सभापति प्रेम पाण्डे, एमालेका विकास अर्याल, नेकपा माओवादी केन्द्रका गणेश रास्कोटीले जिल्ला दररेटको कारण उपभोक्ता समितिमा बसेर काम गर्न कठिन भएको, सिद्धबाबा सुरुङमार्ग निर्माण कम्पनीले चलाउँदै आएको क्रसर उद्योग बन्द गर्नु पर्ने, दिनहँु बढ्दै गएको बसाईसराइलाई रोक्ने कार्यक्रम ल्याउन माग गरे ।
यसैगरी उपभोक्ताहरु खगेन्द्र केसी, होमनाथ भण्डारी, केशव बस्याल, इमानसिंह चिदी, टोपबहादुर विश्वकर्मा, लेखबहादुर कार्की, कमल श्रेष्ठ, अमर तरामु रामबहादुर थापा, दानबहादुर गाहालगायतले बुटवल बिक्री केन्द्रबाट गत वर्ष बिक्री भएको रकम कृषकले अहिलेसम्म नपाएको, बिक्री केन्द्रका कर्मचारीहरु विचौलियासंग मिलेको, पालिकामा गुणस्तरीय शिक्षा नहुँदा बालबालिकाहरु शहर केन्द्रित हुँदै गएको, पालिकामा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीबिच द्वन्द्व बढ्दा राम्रोसँग काम नभएकोलगायतका सुझाव जिज्ञाषा राखेका थिए ।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञाषाहरुको पालिका अध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवर, लेखा शाखा प्रमुख शंकर पुरी, पूर्वाधार शाखाका प्रमुख किसन कुवँर, कृषि शाखा प्रमुख हेमन्त शर्मा, रोजगार शाखा प्रमुख कृष्ण ज्ञवालीलगायतले जवाफ दिएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रम पाल्पा विकास केन्द्रका संयोजक किरण कौशलको सहजीकरणमा भएको थियो ।




