भैरहवा
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवास्थित जिल्ला कारागार रुपन्देहीमा राखिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि शुक्रबार काठमाडौंबाट पक्राउ गरेर भैरहवा ल्याइएको लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको हो ।
जिल्ला अदालतको फैसला उच्चले उल्टाइदिएपछि सोमबार उनलाई पूर्वपक्षका लागि थुनुवाको रुपमा राखिएको हो । १९९० मा बनेको नेपालकै पुरानामध्येको कारगारको रुपमा रहेको यो कारागारको ब्लक ४ भवनमा उनलाई राखिएको छ । सय जना क्षमताको पहिलो ब्लकमा ३ सय ४० जना, १५० जना क्षमताको दोस्रो बल्कमा २५३ जना कैदी बन्दी तथा थुनुवा रहेको रुपन्देही कारागारमा तेस्रो ब्लक महिला कैदी राखिएको छ । थुनुवाका लागि खाली रहेको चौथो ब्लकमा रविलाई राखिएको कारागार प्रशासनले जानकारी दिएको छ ।
क्षमताभन्दा बढी कैदी बन्दी रहेको जिल्ला कारागार जीर्ण अवस्थामा छ । कारागारमा लामिछानेलाई अरु कैदीबन्दीलाई राखिएका भवनभन्दा अगाडि रहेको भवनमा राखिएको छ । कोभिडको बेला प्रयोग भएको सो ब्लक स्टोरको रुपमा प्रयोग भइरहेको थियो । लामिछानेलाई रुपन्देही ल्याएसँगै सो कक्षलाई सफा गरी रंगरोगन गरिएको छ । १० देखि १५ जनासम्म राख्न मिल्ने कोठामा रविलाई भने हाल एक्लै राखिएको छ । गृहमन्त्री समेत भइसकेका रविलाई त्यहाँ राख्ने भएपछि प्रशासनले त्यसलाई विशेष रुपले हेरेको छ । रविको कारागारमा प्रवेश भएपछिको केही बेरमै कारागारमा नयाँ झुल, बाल्टी, हरियो कार्पेट, टेबल पंखालगायत सामग्री लगिएको थियो ।
सोमबार बिहान करिब ११ बजे जिल्ला अदालत पेश गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई केही मिनेटमै कारागारतर्फ चलान गरिएको थियो । अदालत पेश गरेपछि उनलाई थुनुवा पूर्जी दिइएको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुरज कार्कीको नेतृत्वको टोलीले उनलाई अदालत पेश गरे लगत्तै थुनुवा पूर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो ।
जिल्ला प्रहरीको टोलीले सोमबार बिहान कार्यालय समय भएपछि बुटवल पुगेर उच्च अदालतको आदेशको मिसिल बुझेको थियो । मिसिल बुझेर भैरहवा ल्याएपछि जिल्ला प्रहरीको हिरासतबाट लामिछानेलाई अदालत पेश गरिएको थियो । कारागार आएपछि कागजी प्रक्रिया र स्वास्थ्य परीक्षण गरेर ११ बजेर ५५ मिनेटमा रविलाई बल्क ४ मा लगिएको थियो । कारागार सुरक्षा प्रमुख र कारागारका प्रमुख सुरेश भण्डारीले उनलाई बल्कको ढोका खोली भित्र्याएका थिए । उक्त कारागारमा अहिले लामिछानेमात्रै रहेका छन्, आवश्यक परेमा अन्य कैदी बन्दीहरुलाई पनि त्यहाँ राख्न सकिने प्रशासक भण्डारीले बताए ।
कारागार पुगेका लामिछानेलाई कारागारको प्रशासनकक्षबाट थुनुवा ब्लकतर्फ जाँदै गर्दा अदालतको आदेशप्रति केही भन्नु छ भन्ने प्रश्नमा हात हल्लाउँदै उनले केही छैन, अदालतको आदेशप्रति सम्मान रहेको प्रतिक्रिया दिए ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि शुक्रबार राति निजी निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेको पहिलो रात जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा बितेको थियो । चैत २३ गते यति एअरलाइन्सको विमानमार्फत् बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई उनलाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
सरकारी बिदाका कारण दुई दिन प्रहरी हिरासतमा बिताएका लामिछानेलाई जिल्ला अदालत हाजिर गराई थुनुवा पूर्जी दिई कारागार पठाइएको थियो । गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।
सहकारी ठगी र संगठित अपराध मुद्दामा गत माघ १३ गते जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि जिल्ला सरकारी वकिल कार्यालय र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्धक निर्देशक लामिछाने दुवैले पुनरावेदनका लागि उच्च अदालत बुटवलमा निवेदन दिएका थिए ।
उच्च अदालत तुल्सीपुरले रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि करागार पठाएसँगै अदालतले तोकिएको धरौटीबारे जनचासो बढेको छ । विभिन्न अदालतको आदेश अनुसार करोडौ धरौटी बुझाएर छुटेका लामिछानेले धरौटी रकम बढी भएको भन्दै आफैँ पुनरावेदन गरेका थिए । सरकारी पक्षबाट पनि चारवटै आदेशहरूविरुद्ध पुनरावेदन भएका छन् । त्यसमध्ये तुल्सीपुर उच्च अदालतले रुपन्देही जिल्ला अदालतको आदेश उल्टाइदिएको हो ।
रुपन्देही जिल्ला अदालतमा रविले १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । जिल्ला अदालतको फैसला उच्चले उल्टाइदिएपछि लामिछानेले बुझाएको एक करोड रकम के हुन्छ भन्ने प्रश्न उठेको छ । साथै, अन्य अदालतहरुमा पनि लामिछानेले बेग्लाबेग्लै धरौटी रकम बुझाएका छन्, स्रोतका अनुसार लामिछाने कारागार गएपछि धरौटी रकम कानुनः फिर्ता पाउनुपर्छ । त्यसका लागि उनले नै प्रक्रिया थाल्नुपर्छ ।
लामिछानेलाई यसअघि धरौटी तोकेको रुपन्देही जिल्ला अदालतका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीले माथिल्लो अदालतले यहाँको आदेश बदर गरेर थुनामा पठाएपछि सम्बन्धित व्यक्ति कारागार गएर निवेदन दिए फिर्ता हुने बताए ।
‘कुनै पनि अभियुक्तलाई तल्लो अदालतले धरौटी लिएर रिहा गरेको छ र माथिल्लो अदालतले थुनामा पठायो भने धरौटी फिर्ता हुन्छ । ‘म थुनामा रहेँ, धरौटी फिर्ता पाऊँ’ भनी निवेदन दिएपछि जग्गा रहेछ भने रोक्का फुकुवा हुन्छ, नगद भए नगदै हुन्छ । त्यसका लागि पहिले निवेदन आउनुपर्यो ।’– ज्ञवालीले भने ।
जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड रुपैयाँ धरौटी लिएर बाहिरै बसी मुद्दाको प्रतिवाद गर्ने सुविधा दिएको थियो ।
लामिछानेलाई यसअघि कास्की, काठमाडौं र चितवन जिल्ला अदालतले पनि अलग–अलग सहकारीको रकम ठगीसम्बन्धी अभियोगमा धरौटीमै रिहा गरेका थिए । काठमाडौंमा उनले ६० लाख र चितवनमा ५४ लाख रुपैयाँ धरौटी बुझाउनुपरेको थियो । यस्तै कास्की जिल्ला अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रविसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
आदेशलाई सम्मान गर्दै कानुनले दिएको अधिकार प्रयोग गर्ने
शुक्रबार पक्राउ परेपछि रुपन्देही प्रहरी हिरासतमा रहेका लामिछानेसँग पार्टीका नेताहरूले भेट गरिरहेका छन् । हिरासतमै पुगेर नेतामार्फत् उनले ४ वटा सन्देश समेत पठाएका छन् । उनले तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत अर्थात् सर्वोच्च जाने जनाउ दिँदै अदालतको आदेशलाई सम्मान गर्दै उनले कानुनले दिएको अधिकार प्रयोग गर्ने बताए ।
रविले भने–‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु । तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुनेछन् ।’
पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन उनले आग्रह गरेका छन् । ‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्, अभियानलाई जनताको बिचमा पु¥याउनुस् ।’–उनी भने ।
आफूमाथि राजनीतिक प्रतिशोध भएको रविको गुनासो छ । ‘पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’–उनले भनेको पार्टीका एक नेताले उदृत गर्दै सुनाए ।
कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निकट नेताहरूमार्फत् ४ वटा सन्देश पठाएका छन् । सोमबार रुपन्देही जिल्ला अदालतस्थित कारागार पुगेपछि लामिछानेले पठाएको सन्देश उनीनिकट नेताहरूले सार्वजनिक गरेका हुन् ।
उनले आफूमाथि राजनीतिक प्रतिशोध भएको भन्दै पालो सबैको आउने बताएका छन् ।
‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ,’ लामिछानेले भनेका छन्–‘यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’




