श्रीकृष्ण सिग्देल
स्याङ्जा
स्याङ्जाको स्मार्ट नगरको अवधारणा बोकेको वालिङ नगरपालिकाका नागरिकले सुरक्षित खानेपानी प्रयोग गर्दै आएका छन् । वालिङ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत् सुरक्षित खानेपानी प्रयोग गर्दै आएका हुन् ।
२०५९ सालबाट सुरु भएको परियोजना सम्पन्न भएपछि वालिङका झण्डै ३५ हजार नागरिकले अहिले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको खानेपानी प्रयोग गर्न पाएका छन् । खानेपानीको समस्या झेलिरहेका वालिङवासीले सुरक्षित खानेपानीसहितको व्यवस्था मिलेपछि अहिले उपभोक्ताहरु हर्षित भएका छन् ।
तत्कालिन वालिङ नगरपालिकाका प्रमुख हाल गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालको पहलमा वालिङमा यो आयोजना सुरु गरिएको थियो । खानेपानीकै कारण अधिकांश नागरिकमा हैजाको समस्या देखिएपछि अर्यालले यो अवधारणा अगाडि सारेको स्थानीयहरु बताउँछन् ।
खानेपानी जस्तो अत्यआवश्यक बस्तुबाट नागरिकहरु वञ्चित हुन नपरोस् भन्दै तत्कालिन अवस्थामा नगर प्रमुख हुँदा अर्यालले वालिङ बजारमा खानेपानीको व्यवस्थापन मिलाएका थिए । यो योजना सम्पन्न भएपछि जिल्लाकै सुरक्षित खानेपानी पिउने पहिलो वालिङवासी हुन पाएका छन् ।
‘उपभोक्ता संस्थामार्फत् आयोजना सुरु गर्दा पानीको मुहानदेखि केही विवादहरु आएका थिए,’ सभापति अर्यालले भने–‘विवादहरुलाई छिचोल्दै यहाँसम्म आउँदा वालिङवासीले शुद्ध खानेपानी पिउन पाएका छन्, दुषित पानीका कारण हुने रोगबाट यहाँका उपभोक्ताहरु सुरक्षित भएका छन् ।’ मानिसको आधा रोग खानेपानीकै कारण हुने गर्छ । त्यस्ता रोगहरुबाट कम्तीमा प्रशोधन गरिएको पानीका कारण बच्न सफल भएको अर्यालले बताए ।
उपभोक्ता संस्थाले झण्डै दैनिक २८ लाख प्रशोधित पानी उत्पादन गर्ने गर्दछ । वालिङका मुख्य बजार क्षेत्रका ३ हजार २९ घरधुरीले २२ देखि २३ लाखसम्म पानी प्रयोग गर्दै आएका छन् । दैनिक पाँच ओटा, मासिक कोलिफर्म र वार्षिक पानीका सबै प्यारामिटरहरु परीक्षण गरिने संस्थाले जनाएको छ ।
वालिङ नगरपालिकाका १, ६, ८, ९ र १० नम्वर वडाका नागरिकहरुले यो खानेपानी प्रयोग गर्दै आएको संस्थाका प्रमुख देवबहादुर बोगटीले बताए । अव बिस्तारै वालिङका सबै वडाहरुमा प्रशोधित खानेपानी पु¥याउने लक्ष्य संस्थाको रहेको बोगटीले बताए ।
स्मार्ट अवधारणा बोकेको नगरपालिकाका नागरिकलाई सुरक्षित खानेपानी खुवाउनुपर्ने प्रावधान अनुसार सार्थकता पाएको देखिएको छ । वृहत् खानेपानी आयोजनामार्फत् नगरपालिकाका सबै वडाहरुमा प्रशोधित खानेपानी खुवाउने गरी डीपीआर तयार गरिएको उपभोक्ता संस्थाका अध्यक्ष विद्या श्रेष्ठले जानकारी दिए ।
‘अब उपभोक्ताले प्रयोग गरेको पानीलाई समेत शुद्धिकरण गरेर खोलामा पठाउने छौं,’ अध्यक्ष श्रेष्ठले भने–‘नगरभित्र ढल निकासका लागि डीपीआर तयार भइसकेको छ, केही वर्षमा दुवै आयोजना सम्पन्न गर्नेगरी अगाडी बढेका छौं ।’ तिनैतहका सरकारसगँ समन्वय गरेर यो आयोजना सम्पन्न गर्ने तयारीमा रहेको अध्यक्ष श्रेष्ठले बताए । अहिले यो संस्था नयाँ नेतृत्वका लागि चुनावी तयारीमा जुटेको छ ।
पाँचौं साधरणसभा र तेस्रो अधिवेशनको उद्घाटन सत्र सम्पन्न गरी नयाँ नेतृत्वका लागि जुटेको उपभोक्ता संस्थाले २०८२ बैशाख १० गते निर्वाचन गर्ने तयारीमा छ । वालिङको धेरै उपभोक्ता रहेको संस्थामा सहमतिकै आधारमा नेतृत्व टुङ्ग्याउन उपभोक्ताहरुले आग्रह गर्दै आएका छन् ।




