भैरहवा
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका तालिका हटेपछि निजी क्षेत्र निराश भइ आन्दोलनको तयारीमा छन् ।
विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले गरेको अर्बांै लगानी डुब्ने भएपछि यस क्षेत्रका उद्योगी व्यवसायीहरुले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय उडान पुनः नियमित सुचारुको माग राख्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले चरणबद्ध आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेका हुन् । उनीहरुले संघर्ष समिति नै बनाएका छन् ।
समितिले तत्काल नियमित उडान सुचारुसहित १५ बुँदे माग राखेको छ भने आन्तरिक उडानमा मन्त्री र प्रधानमन्त्रीलाई विमानस्थल प्रवेशमा रोक लगाउनेसम्मको तीन चरणको आन्दोलन घोषणा गरेका छन् । सरकारले विमानस्थल सञ्चालनका लागि चासो नदिएकोले अल्टीमेटम, विरोध प्रदर्शन, शान्तिपूर्ण ¥याली, धर्ना र विरोध सभा, मन्त्रालयका मन्त्री र कर्मचारीलाई प्रवेश निषेध र आन्तरिक उडान नै बन्द गर्ने कार्यक्रम संयुक्त समितिले सार्वजनिक गरेको छ । पटक–पटकको आन्दोलन पछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग गरिरहेको निजी क्षेत्रले केही दिन उडान गरेपनि रोकिए पछि चरणबद्ध आन्दोलन घोषणा गर्नुपर्ने बाध्यता आएको बताएको छ । काठमाडौं विमानस्थल मर्मतको समयमा यता डाइभर्ट गरे अहिले फेरि सबै उडान काठमाडौं केन्द्रित गरेकोले यहाँको एयरपोर्ट चलाउने मनसाय नै नरहेको बताए ।
पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल गरी प्रतिबद्धता लिने, सम्बन्धित एअरलाईन्सका प्रमुखसँग छलफल गर्ने, सम्पूर्ण संघ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधिलगायत हजारौंको संख्यामा उपस्थिति भइ विमानस्थल अगाडि अल्टिमेटम दिदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्य मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायूसेवा निगमका प्रमुखहरुसँग अल्टिमेटम दिँदै यदी विमानस्थलबाट उडान नभए आन्दोलनको कार्यक्रमको बारेमा ध्यानाकर्षण गराइने सिद्धार्थ सञ्जालका अध्यक्ष तथा संयोजक अनिलकुमार ज्ञवालीले जानकारी दिए ।
त्यसै गरी कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण ¥याली प्रदर्शन तथा बजार परिक्रमा गरिने , मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलनअन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोध सभा र यति गर्दा पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने, सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीहरुलाई विमानस्थल प्रवेश निषेध गर्दै कालो झण्डा देखाउने, र आन्तरिक विमानस्थलबाट आगमन प्रस्थान बन्द गर्नका लागि सम्बन्धित पक्षलाई टिकट नकाट्नका लागि आह्वान र विमानस्थल गेटमा शान्तिपूर्ण प्रदर्शन गरी आवातजावत समेत बन्द गर्ने लगायतको आन्दोलनको कार्यक्रम तय भएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए ।
शान्तिपूर्ण विरोधका कार्यक्रमले उग्र रुप लिएमा त्यसको जिम्मा नेपाल सरकारको हुने भन्दै समितिले यति गर्दा पनि हाम्रो माग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाट अन्तर्राष्ट्रिय उडान नभएमा पुनः तेस्रो चरणको आन्दोलनको घोषणा गर्न बाध्य हुनेगरी अल्टीमेटम दिएको छ ।
विगतमा सरकारले विमानस्थल सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि आफूहरुले आन्दोलन स्थगित गरे पनि सरकारले गरेको प्रतिबद्धता पूरा नगरेसम्म आन्दोलन नियमित रुपमा गरिने समितिको निर्णय रहेको उद्योग व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष आचार्यले राज्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई डाइभर्सनको रुपमा जस्तै प्रयोग मात्र गरेको बताए । उनले अबको आन्दोलनलाई निर्णायक बनाउने गरी अघि बढ्ने बताउँदै लुम्बिनी प्रदेशका सम्पूर्ण निजी क्षेत्रलाई समेटेर अघि लाग्नु पर्ने जनाए ।
‘लुम्बिनी प्रदेशका निजी क्षेत्रका नेताहरुसँग छलफल गरेर उहाँहरुको अगुवाइमा आन्दोलन गर्छौं, अनि आन्दोलनले पनि सार्थकता पाउँछ,’ आचार्यले भने–‘नेतृत्व जसले गरे पनि फरक पर्दैन ।’ विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँ रहेका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको माग छ । संघीय सरकारले विमानस्थल सञ्चालनका लागि सहयोग गरेन,’ उनले भने–‘स्थानीय सरकारले पनि यसमा सहयोग गरेको अवस्था छैन ।’
सरकारले गरेको सहमति पालना नगर्दा बारम्बार आन्दोलन गर्नुपर्ने बाध्यता रहेको छ, विमानस्थल निर्माण हुने तर, सञ्चालन नहुने अवस्था दुर्भाग्यपूर्ण रहेको बताउँदै यस क्षेत्रका व्यवसायीहरुले रुपन्देहीको विकासका लागि विमानस्थल सञ्चालन गराउनका लागि सम्पूर्ण संघ–संस्थाहरु एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरेले विमानस्थल नियमित सञ्चालनका लागि सरकारले इच्छा नदेखाएको बताए । सरकारले पटकपटक आश्वासन दिए पनि विमानस्थल पूर्ण र नियमित सञ्चालन हुन नसकेको उनको भनाइ छ ।
नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले नियमित अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता हुन नसक्दा व्यवसायी लगानी गर्नबाट पछाडि हटिरहेको बताए । ‘सम्भावना भए लगानी गर्ने हो, नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको अवस्था छैन, सम्भावना नभइन कसरी लगानी गर्ने ?’–उनले भने ।
संयुक्त संघर्ष समितीले रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी र पाल्पाका निजी क्षेत्रसँग मिलेर संयुक्त आन्दोलन गर्ने र लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुमा पनि निजी क्षेत्रसँग सहकार्य गरी आन्दोलन चर्काउने चेतावनी उद्योगी व्यवसायीको छ । एकआध बाहेक यसअघि उडान भरेका विमान कम्पनीमा यात्रुको संख्या राम्रो भएको, तर विमानस्थल संचालनका लागि संघ सरकारले बेवास्ता गरेको आरोप उनीहरुको छ ।
विमानस्थल संचालनमा प्रदेश र स्थानीय सरकारले कुनै भूमिका नखेलेको निष्कर्ष निजी क्षेत्रको छ । सरकारले गौतमबुद्ध विमानस्थललाई डाइभर्सनको रुपमा जस्तै प्रयोग मात्र गरेको दावी उनीहरुले गरेका छन् ।
गत वर्ष निजी क्षेत्रको अगुवाईमा हप्तौं दिनसम्म विमानस्थल अगाडि प्रदर्शन भएको थियो । त्यसबेला सरकारी तहबाट पूर्णक्षमतामा विमानस्थल संचालन गर्ने प्रतिबद्धता भए पनि अहिले पूर्णरुपमा बेवास्ता गरिएको आरोप व्यवसायीको छ । पछिल्लो पटक करिब तीन महिनासम्म भैरहवामा उडान भर्दै आएका जजिरा, फ्लाई दुबई, एयर एशिया लगायतका विमान कम्पनीले उडान स्थगित गरेका छन् ।
संघर्ष समितिले अध्यागमन कार्यालय पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, श्रम स्वीकृति कार्यालय पूर्ण रुपमा नै सुविधा सम्पन्न र आधुनिक गराउनु पर्ने, गाम्कालगायत स्वास्थ्य परीक्षण कार्यालय स्थापना गरी सञ्चालन गर्नु पर्ने, भिसा सेन्टर कार्यालय भैरहवामै सञ्चालन गर्नुपर्ने माग गरेको छ ।
यस्तै म्यानपावर कम्पनीलाई विना झन्झट स्वीकृति दिनुपर्ने, मन्त्रिपरिषदबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने हवाईजहाजलाई दिने प्रतिबद्धता अनुसारको सुविधा तत्काल दिनुपर्ने, अन्तर प्रदेश आन्तरिक उडान बढाउँदै लानुपर्ने, छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकमा अन्तर्राष्ट्रिय उडान थप गर्दै लानुपर्ने माग छ । यस्तै तत्काल अन्तर्राष्ट्रिय उडान सुचारु गर्नुपर्ने,नेपाल एयरलाइन्स लगायत बुद्धिष्ट देशका वजेट एयरलाइन्स भैरहवाबाट सञ्चालन गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने सम्पूर्ण कामदारहरुलाई भैरहवाबाट नै उडान गर्नुपर्ने, नेपाल एयरलाइन्सले टिकट बिक्री खुल्ला गरी नियमित उडान भैरहवाबाट सुरु गर्नुपर्ने, कार्गो सेवा सञ्चालन गर्नुपर्ने, नेपाल एयरलाइन्सको न्यारोवडी भैरहवामै वेस गराई दैनिक अन्तर्राष्ट्रिय उडान सुचारु गर्नुपर्ने, अध्यागमन कार्यालयबाट पर्यटकहरुलाई अनलाइन इ–भिसा र डिजिटल भुक्तानी सेवा दिनुपर्ने माग गरेका छन् ।




