बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले मानवअधिकारकर्मीहरुको सुरक्षा र संरक्षणका लागि प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशले चैत २८ गते बुटवलमा आयोजना गरेको मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणका लागि प्रदेश सरकारको भूमिका विषयक कार्यशालामा बोल्दै सभामुख घर्तीले यस्तो कुरा बताए ।
सभामुख घर्तीले सबै नागरिकको संरक्षण गर्ने दायित्व राज्यको भएकोले संविधानले व्यवस्था गरेका मौलिक हकहरुको कार्यान्वयनका विषयमा राज्य संवेदनशिल हुनुपर्ने बताउनुदै अरुको अधिकारको निम्त्ति काम गर्ने मानवअधिकार कर्मीहरुको सुरक्षा र संरक्षणका लागि मानवअधिकार रक्षक कानून निर्माणका लागि प्रदेशको सभामुखको हैसियतले प्रदेश सरकारलाई निर्देशन दिने बताए ।
सभामुख घर्तीले राज्यमा बसेर राज्यकै सेवा सुविधा लिएर राज्यकै विरुद्ध बोल्ने परिपार्टीले समाजमा अराजकता फैलाएको भन्दै त्यस्ता अराजकता फैलाउने विरुद्ध मानवअधिकारकर्मीहरुले पनि आवाज उठाउन आग्रह गरे ।
सभामुख घर्तीले संसदले कानून निर्माण गर्ने र सरकारले कार्यान्वयन गराउने जिम्मेवारी भएकोले मानवअधिकार रक्षकहरुको रक्षाका लागि मानवअधिकार रक्षक विधेयक निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा नेकपा एमाले संसदीय दलका उपनेता तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले मानवअधिकार रक्षकहरुको सुरक्षा र संरक्षण गर्ने खालका कानून निर्माणका लागि आफुहरुको ध्यान आर्कषण भएकोले प्रदेश सरकारसँग त्यस विषयमा बुझ्ने र कानून निर्माणका लागि पहल गर्ने बताए ।
उपनेता श्रेष्ठले मानवअधिकारको उल्लंघन गर्ने अपराधिक तत्वहरुले संविधानको मर्म र भावना बुझ्न नसकेका कारण लामो आन्दोलन र संघर्षबाट प्राप्त भएका उपलब्धीहरु निस्तेजित पार्ने अवस्था रहेकोप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा एमाले संसदीय दलका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीले मानवअधिकार रक्षकहरुको सुरक्षा र संरक्षण सम्बनधी विधेयक छिटो भन्दा छिटो ल्याउनका लागि आफुहरु प्रतिवद्ध रहेको बताए ।
प्रमुख सचेतक चौधरीले कानूनको निर्माण पहिलो कुरा भएकोले कानून निर्माणको निर्माणलाई प्राथमिकतामा राखेर अगाडी बढने बताए।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री रत्ना खत्रीले मानवअधिकार रक्षकहरुको सुरक्षा र संरक्षणका लागि मानवअधिकार रक्षक कानून महत्वपूर्ण रहेको बताउदै कानून निर्माणका लागि प्रदेश सभा सदस्यको हैसियतले संवेदनशिल भएर लाग्ने बताए ।
पूर्व मन्त्री खत्रीले सरकारले पत्रकारमाथि ज्यूदै जलाउनेका निम्त्ति केही गर्न नसकेको भन्ने विषयमा सरकारले अपराधमा संलग्नलाई गिरफ्तार गरेर हिरासतमा राखेर छानविन गरिरहेको भन्दै सरकारले गरेका राम्रा कामको लागि सकारात्मक रुपमा भन्न हिचकिचाउन नहुने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री चन्द्रकेशको गुप्ताले मानवअधिकारको पक्षमा आवाज उठाउनका लागि आफुले कुनै कसर नराख्ने बताए ।
कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विगत लामो समयदेखि मानवअधिकार र सामाजिक न्यायका पक्षमा काम गर्दे आइरहेको सन्दर्भमा मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकार रक्षकहरुको सुरक्षा र संरक्षणको विषयमा अहिलेसम्म राज्यले वेवास्ता गरेकाले अवका दिनमा कसरी मानवअधिकार रक्षकमैत्री कानून निर्माण गर्न सकिन्छ भन्ने विषयमा मानवअधिकार रक्षक विधेयकको डाफ्ट बनाइ पटक पटक छलफल गरिरहेको बताए ।
कार्यक्रममा राष्टिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि प्रसाद ज्ञवालीले मानवअधिकार रक्षकहरुको सुरक्षा र संरक्षण गर्ने दायित्व राज्यको भएकोले मानवअधिकार रक्षकको सुरक्षाका लागि मानवअधिकार रक्षक कानू आवश्यक रहेकोले कानून निर्माणका लागि लागि ढिला गर्न नहुने बताए ।
प्रमुख ज्ञवालीले मानवअधिकारकर्मीहरुको समग्र अधिकारका लागि अहिलेसम्म कुनै सुरक्षाका कार्यक्रम नहुनु दुखद भएको बताउदै मानवअधिकार संस्कृतिको विकासका लागि राज्य संवेदनशिल हुनुपर्ने बताए।
कार्यक्रममा बरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले मानवअधिकार रक्षकहरुको सुरक्षा र संरक्षणका लागि राज्यले अहिलेसम्म कुनै पहल नगर्नु दुखद भएको भन्दै मानवअधिकार रक्षकहरुको कानून महत्वपूर्ण विषय भएकोले यसका लागि ढिला गर्न नहुने बताए ।
बरिष्ठ अधिवक्ता गौडेलले राज्यले मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकारकर्मीहरुलाई उपेक्षा गरेको र काम नगरेका लागि शक्ति र राजनीतिक आडमा पुरस्कृत गर्ने गरेको भन्दै आफ्नो ज्यानलाई जोखिममा मोलेर अरुका अधिकारको सवालमा आवाज उठाउने मानवअधिकार रक्षकहरुको सुरक्षा र संरक्षणका लागि संवेदनशिल बन्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पछाडी पारिएका समुदायसम्म मानवअधिकारका विभिन्न सवालहरु पुरयाउनका लागि इन्सेकको महत्वपूर्ण भूमिका रहेको बताए ।
अध्यक्ष पाण्डेले पछिल्लो समयमा पत्रकारलाई ज्यूदै जलाउने जस्ता कार्यहरु बढेकाले यस्ता कार्य गर्ने विरुद्ध सरकार नबोल्दा आफुहरु दुखि भएको बताउदै मानवअधिकार रक्षकहरुको सुरक्षा र संरक्षण सम्बन्धी कानून महत्वपूर्ण भएकोले सरकारलाई कानून निर्माणमा संवेदनशिल भएर अगाडी बढन आग्रह गरे ।
कार्यकममा उच्च अदालत बार बुटवल इजलासका अध्यक्ष गोविन्द प्रसाद मरासिनी,राष्टिय अपांग महासंघ लुमिबनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारी, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुशिला बेल्बासे लगायतले मानवअधिकार रक्षकहरुको सुरक्षा र संरक्षणका लागि मानवअधिकार रक्षक कानून महत्वपूर्ण रहेकोले प्रदेश सभाका सांसदहरुलाई संवेदनशिल हुन र मानवअधिकार रक्षक कानून निर्माण महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।
कार्यक्रम इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतको अध्यक्षता जिल्ला प्रतिनिधि रीमा बि.सी.को संचालनमा सम्पन्न भएको थियो ।




