नवलपरासी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन् ।
मंगलबार नवलपुरको कावासोतीमा नेपाल पत्रकार महासंघ नवलपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले भने – ‘मैले चितवनमा बोल्दा कुनै दल वा दलका नेताहरुसँग छलफल गरेर बोलेको त होइन, तर घटना क्रमले यस्तै देखाएको छ । मलाई लाग्छ मैले बोलेको सत्य हुँदै गएको छ ।’
शिक्षक, स्वास्थ्यकर्मी, मिटरब्याजी पीडित, सहकारी पीडितहरुसहित अधिकांश दलहरु सडक आन्दोलनमा रहेका कारण यो सरकार धेरै दिन नटिक्ने प्रचण्डको जिकिर रहेको थियो । उनले सरकारमा रहेका दलका नेताहरुले नै सरकारले गरेको असन्तुष्टि पोखेको बताए । उनले यो सरकार जति दिन टिक्छ उति नै देशका लागि दुर्भाग्य हुने आरोप लगाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुको आन्दोलनलाई प्रधानमन्त्री ओलीले शिक्षकहरुप्रति नकारात्मक अभिव्यक्ति दिएर शिक्षकको आन्दोलनमा आगोमा घिउ थप्ने काम गरेको समेत आरोप लगाए ।
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा शिक्षकहरुसँग गरेको सम्झौताअनुसार यो सरकारले शिक्षकको जायज मागहरु पूरा गर्नु पर्नेमा जोड दिए । उनले भने –‘संभव हुने मागहरु क्याविनेटको बैठक बसेर पूरा गर्नुपर्छ अनि बाँकी माग संसदको बैठक बोलाएर विद्यालय शिक्षा ऐन जारी गरेर पूरा गर्नुपर्छ ।’
माओवादी केन्द्रले नवलपुरबाट पुनः सुरु गरेको मधेस जागरण अभियानअन्तरगत मंगलबार जागरण अभियानमा सहभागी माओवादीका नेताहरु गैँडाकोट हुँदै कावासोती आइपुगेका हुन् । अध्यक्ष प्रचण्डसहितको टोेलीहरुले गैँडाकोटको लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सलिकमा समेत माल्यापर्ण गरेका थिए ।
त्यसैगरी मंगलबार नै रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा भेटघाट गरी लगत्तैकावासोतीमा बेपत्ता तथा सहिद परिवारसँग भेटघाट गरेका थिए । टोली मंगलबार पश्चिम नवलपरासीको बर्दघाट पुग्ने कार्यक्रम रहेको छ ।




