बुटवल । सवारी दुर्घटनापछिको ठूलो सम्भावित आर्थिक क्षतिबाट चालक तथा मजदूरहरुलाई बचाउन यातायात मजदूर तथा व्यवसायी भलाई कोषले महत्वपूर्ण योगदान पु¥याएको सरोकारवालाहरुले बताएका छन् ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ५१औं स्थापना दिवस तथा ४६औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै उनीहरुले सम्भावित ठूलो आर्थिक नोक्सानीबाट सर्वसाधारणलाई मारमा नपार्न भलाई कोषले ठूलो योगदान पु¥याएको बताएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै कोषका पूर्वध्यक्ष तथा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले सवारी दुर्घटना र यसको कारण मजदुरहरुलाई पर्ने कानुनी र अन्य समस्याहरुलाई समाधान हुने गरी अग्रजहरुबाट यो स्थापना भएको बताए ।
मजदुरबाट चलाएको संस्था आफ्नो कार्यकालमा व्यवसायीहरुलाई समेत समेट्ने गरी विधान संशोधन गरिएको स्मरण उनले गरे । संस्थाको सदस्यता र नामाकरण समयसापेक्ष परिवर्तन हँुदै आएको इतिहास कोट्याउँदै उनले भविष्यमा संस्थालाई चलायमान बनाउन परिवर्तन हँुदै उत्कृष्ट संस्थाका रुपमा चिनिने गरी अघि बढ्ने बताए ।
सवारीको सिण्डिकेट र आलोपालोको विषयमा सरकार र यातायात ब्यवसायीहरु सही ढंगबाट आम नागरिकलाई बुझाउन चुकेको उनले बताए । संस्था आफ्नो स्वाभिमान र हैसियत अनुसार अघि बढेको थापाले बताए । देशमा भैरहेको विकासको गति र सडक बिस्तारमा भएको ढिलाइबारे उल्लेख गर्दै उनले सरोकारवाला निकायहरुले दबाब दिन जरुरी रहेको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश फुल्लेलले मजदुर र व्यवसायीहरुको हकहितमा संस्थाको महत्वपूर्ण योगदान रहेको बताए । उनका अनुसार पछिल्लो पल्ट भलाई कोषले नेपालगञ्ज र पोखरामा शाखा कार्यालय स्थापना गरेको छ । देशभर २८ वटा शाखा र ६८ जना कर्मचारी मार्फत कार्यसम्पादन भैरहेको पनि उनले जानकारी दिए । आव २०८१÷२०८२ मा विभिन्न प्रकृतिका जीवित २४० र निर्जिव ६५५ गरी ८९५ दुर्घटनामा सवारी साधनलाई आर्थिक, नैतिक र भौतिक सहयोग गरेको उनले बताए ।
कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले भलाई कोष यातायात व्यवसायीहरु माझ आफ्नो योगदानकै कारण छुट्टै पहिचान बनाउन सफल संस्था भएको बताए । मजदुरको हितमा काम गर्ने गरी स्थापना भएको संस्था बिस्तारै व्यवसायीहरुलाई समेत समेटेर विधान संशोधन गरी नयाँ ढंगबाट अगाडि बढ्दा सफल भएको उनले बताए ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायीहरुको पीडा र समस्या समाधान सफलतापूर्वक गरेको हुँदा नै संस्थाको गरिमा समुदायमा उच्च रहेको बताए । संस्थाको नेतृत्वबाट भएको खटनपटन र जिम्मेवारीबाट कार्यसम्पादन महत्वपूर्ण रहने उनले बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष चिनबहादुर गुरुङले संस्थाको स्थापनामा संस्थापक अध्यक्ष स्वर्गीय राजेन्द्र श्रेष्ठको योगदानबारे चर्चा गर्दै यसलाई चलायमान बनाउन निरन्तर यातायात व्यवसायी र मजदुरहरुको योगदान रहेको बताए । सीमित घेरामा रहेको संस्थाको क्षेत्र र सेवा बिस्तार गरेर सेवाग्राहीहरुको मन जित्न सफल भएको उनले दाबी गरे ।
कार्यक्रममा बुटवल उप–महानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, पूर्वअध्यक्ष दिल बहादुर थापा, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्ति अधिकारी, नेकपाका केन्द्रीय सदस्य शरद ओली, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, पेट्रोलियम डिलर्श एशोसिएशनका अध्यक्ष हिमाल गैरे, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाललगायतले सडक दुर्घटना न्यूनीकरणका लागि संस्थागत रुपमा तालिम र अभिमुखीकरणलाई जोड्न आग्रह गरे ।
कार्यक्रममा सवारी साधनमा लामो सेवा गरी ५८ वर्ष उमेर हद पार गरेका चालक पशुपति खरेललाई आर्थिक सहयोग गरिएको छ । यसैगरी सवारी दुर्घटनामा मृत्यु भएका कृष्णलाल मरासिनीको परिवारलाई ५० हजार रुपैयाँबाट सम्मान गरिएको छ । साधारणसभाले अध्यक्ष दिनेश फुल्लेल, महासचिव योग गुरुङ र कोषाध्यक्ष प्रकाशकुमार नेपालको प्रतिवेदन पारित गरेको छ ।
७६ जनाद्वारा रक्तदान
यातायात मजदुर तथा व्यवसायी भलाई कोषले आफ्नो ५१आँै स्थापना दिवस तथा ४७औं वार्षिक साधारणसभाको अवसरमा रचनात्मक कार्यक्रम गरी मनाएको छ ।




