भोजेन्द्र नेपाली
धुर्कोट । धुर्कोटको विचित्र गुफा प्रकृतिको अनुपम उपहार हो । धुर्कोट गाउँपालिका– ५ वस्तुको यो गुफा पत्ता लागेका तीन दशकभन्दा बढी भयो । प्राकृतिक रूपमै विचित्र भएकै कारण विचित्र गुफाका रूपमा परिचित छ । सदरमुकाम तम्घासबाट ४५ मिनेटमा विचित्र गुफा पुगिन्छ ।
विगतमा भौगोलिक विकटताको कारण पर्यटकसँग गुफा नजिक बन्न नसकेपछि पछिल्ला वर्षमा यसको प्रचारप्रसारले व्यापकता पाएपछि पर्यटक आगमन क्रमशः बढ्दै गएको छ । गुफामा कुनै कृत्रिमता छैन । जंगल र पहाडको खोँचमा करिब दुई सय मिटर लामो गुफाभित्र धार्मिक दृष्टिकोणले हेर्दा दर्जनौँ आकृति छन् । जसले त्यहाँ पुग्ने पर्यटक आश्चर्यमा पर्छन् ।
गुफाको संरक्षण र उचित विकास समयमै हुन सकेन । संघीयता लागू भएपछि स्थानीय सरकारबाट गुफा संरक्षणका केही काम भएका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडकखण्डबाट गुफा पुग्न १५ मिनेट लाग्छ । अझँै पनि गुफाका पुग्ने सडक राम्रो बन्न सकेको छैन भने व्यवस्थित पार्किङ् स्थल छैन ।
अहिलेसम्म गुफाको खास अनुसन्धान पनि भएको छैन । प्राकृतिक रूपमा बनेको धार्मिक कला–आकृतिसहितको गुफा नेपालकै ठूलो हुन सक्ने स्थानीयवासी दाबी गर्छन् । गुफाका धेरै विशेषता लुकेरै बसेका छन् । अहिलेसम्म दुई तलासम्म पुग्ने र अवलोकन गरिएको छ ।
तर, अध्ययन गर्नसके गुफाका अरू तलाहरू पनि अझँै आकर्षक हुन सक्ने देखिन्छ । गुफाभित्र फेला परेका संरचनालाई स्थानीयहरूले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्ग जाने बाटोलगायतका नामकरण गरेका छन् ।
गुफाको मुख्य प्रवेशद्वारबाट झन्डै एक सय ५० मिटरभित्र पुगेपछि अत्यन्तै ठूलो सभाहलमा पुगिन्छ । गुफाको सभाहलमा दुई सयजना सजिलै अटाउँछन् । नजिकै रहेका शिवलिङ्गसहितको मन्दिर, राम र कृष्णको प्रतीक, विभिन्न नागहरूको आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृतिले पर्यटकका लागि निकै आकर्षक रहेको छ । सभाहलको माथिपट्टि विभिन्न आकृतिका कलात्मक बुट्टाले भरिएको छ । बुट्टाको बिचमा रातोमाटोले पोतेर सफा गरेको मण्डपसमेत छ । गुफामा फेला परेका गुफाका आकृतिलाई नरसिंह अवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्गलगायत नामाकरण गरिएको र सोहीअनुसार प्रचार गरिएको छ ।
०६२-०६३ सालसम्म फड्के तरेर जोखिमपूर्ण रूपमा गुफा पुग्नुपथ्र्याे। संघीय संरचना पहिलेसम्म पर्यटन तथा संस्कृति मन्त्रालय र रूरू रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिलगायतबाट गुफा संरक्षणका केही काम भएका थिए । संघीयतापछि तीनै तहका सरकारबाट विचित्र गुफाको पूर्वाधार विकास, संरक्षण एवं प्रवद्र्धनका लागि काम भइरहेका छन् । धुर्कोट गाउँपालिकाले गुफासहितका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको एकीकृत विकासको योजना बनाएको छ ।जसका लागि गाउँपालिकाले गुरुयोजनामार्फत् विचित्र गुफा, ऐतिहासिक धुर्कोटको कोट, सहिदपार्क, धुर्कोटवाललगायत पुराना धार्मिक तथा ऐतिहासिक स्थलहरूको विकास गर्न पूर्वाधार निर्माणका काम भइरहेको छ । गुफाको विकास गाउँपालिकाकै पहिचान र समृद्धिको आधार बन्न सक्छ । तर, अझँै धेरै काम गर्न बाँकी छ । पछिल्लो समय गुफाको प्रचारप्रसार र विकासका लागि सूचना केन्द्र स्थापना गरिएको छ । प्राकृतिक रूपमै विचित्र रहेको गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
त्यसलाई थप व्यवस्थित गरेर प्रचारप्रसार गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको ५० लाखको लागतमा सूचना केन्द्र निर्माण गरिएको छ । सूचना केन्द्रमा विचित्र गुफाका विषयसँगै, धुर्कोटका पर्यटकीय क्षेत्रको जानकारी वृत्तचित्र प्रदर्शन गरिनेछ ।
अहिले भवनसहित पर्यटकलाई व्यवस्थित आश्रयस्थल निर्माण भएको छ । संग्रहालय पनि बनेको छ । धुर्कोट दरबारको पुनः निर्माण गरिएको छ । १२ सय मिटरको धुर्कोट ग्रेटवाल, बुढीकोट र धुर्कोट जोड्ने पैदलमार्ग बनाइएको छ । पहरोमाथिको सिद्ध मन्दिर पुनः निर्माण गरिएको छ । वडा नं. १ को झल्याकोटमा रक गार्डेन र पिकनिक स्पट बनाइएको छ । जहाँ अर्घाखाँचीबाट पर्यटक आउँछन् ।
वडा नं. ३ हाडहाडेमा नागेश्वर गुफा पुग्न पहुँच मार्ग बनाइएको छ । त्यहाँबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी हिमश्रृंखला र पालिकाका सातवटै वडाको दृश्य देख्न सकिन्छ । त्यहाँ पर्यटक बास बस्न, आफैँ पकाएर खान पाउने विभिन्न वाद्यवादनको व्यवस्था गरिएको छ । स्थानीय तहको समृद्धिको आधार कृषि र पर्यटन भएकाले अबको लगानी यी क्षेत्रमा गर्ने नीति छ ।
(गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल, उपाध्यक्ष सीता गिरी र प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीस“ग गरिएको कुराकानीमा आधारित)




