लुम्बिनी संवाददाता
बुटवल
नेपाल–अंग्रेजबिच बुटवलको जितगढीमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशीयालीमा आइतबार जितगढी उत्सव मनाइएको छ । वि.सं. १८७१ देखि सुरु भएको नेपाल–अंग्रेज युद्ध १८७२ बैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले जित हासिल गरेको खुसीयालीमा हरेक बैशाख ७ गते विजय उत्सव मनाउने गरिएको छ ।
जितगढी विजय उत्सवकै अवसर पारेर गत तीन वर्षदेखि नेपाली सेनाले गोरखा–जितगढी पैदलयात्रा समेत गर्दै आएको छ । उक्त पदयात्रा बैशाख ७ गते नै जितगढी आउने गरेको छ ।
ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियानअन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको पद यात्रा २०७९ सालदेखि सुरु गरेको थियो । गोरखाबाट हिँडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै आइतबार ऐतिहासिक जितगढी किल्लामा आइपुगेको हो ।
राष्ट्रिय झण्डासहित एकीकरणमा स्थापित श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्म सहभागी छन् । पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण पनि सहभागी भएका थिए ।
मूल समारोहअघि बुटवल उप–महानगरको प्रशासकीय भवन हाटबजारबाट पारी बुटवलको गणेश मन्दिर पुगेको झाँकीसहितको ¥यालीले गोरखाबाट आएका नेपाली सेनाको टोलीलाई स्वागत गरेको थियो । त्यसपछि बुटवल–१ जितगढी किल्लामा जितगढी उत्सवको मुल समारोह भएको हो । गोरखाबाट बुटवलसम्म पदयात्रा गरी आइपुगेका सैनिक टोलीले थापाको ९ फिट उचाइको तामाको मूर्तिमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास गरिन्छ’
विजय उत्सव मूल समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल लिने बताए । संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास गरिने उनले बताए ।
मुख्यमन्त्री आचार्यले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्न पनि संघीय सरकारसँग पहल गरिने बताए । इतिहबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक रहेको उल्लेख गर्दै उनले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताए । ‘नयाँ पुस्तालाई नेपाली वीरताको गाथा जानकारी गराउन जरुरी छ, इतिहासप्रति गर्व गर्ने वातावरण बनाउन आवश्यक छ,’ मुख्यमन्त्रीले भने–‘देश प्रेम र आत्मविश्वासकै कारण नेपाली फौजले अंग्रेज फौजलाई पराजित गर्न सफल भएको हो, उतिबेलाका योद्धाहरूले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ छौँ ।’
त्यस्तै, मुख्यमन्त्री आचार्यले बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताए । स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले स्पष्ट पारे । मूल समारोहमा बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जितगढी किल्लाको थप विकासका लागि प्रदेश र संघीय सरकारको साथ आवश्यक रहेको बताए । कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले जितगढीको इतिहासलाई महत्व दिएर आफू यहाँ आएको जनाए ।
१३ जना नेपाली सैनिकको शाहदात
जितगढीमा अंग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापासहित १३ जना नेपाली सैनिकहरूले शाहदात प्राप्त गरेका थिए । उनीहरुको जितगढीमा शालिक निर्माण गरिएको छ । जसमा कर्णेल उजिरसिंह थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा, सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेत हुन् ।
जितगढी किल्लामा बुटवल उप–महानगरका पूर्व मेयर शिवराज सुवेदीको कार्यकालमा कर्णेल उजिरसिंह थापाको ९ फिट उचाइको पूर्णकदको तामाको शालिक निर्माण र ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएको छ ।
कसरी भएको थियो जितगढी युद्ध ?
जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले चार वटा सैनिक टोली पठाएको थियो ।
पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल सुलिभान उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो । जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरेका थिए ।
आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भएको थियो ।
दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरेर अंग्रेजहरूलाई पराजित गरेको इतिहास छ ।
बुटवल गढी कब्जा गरी तत्कालीन पाल्पा राज्य हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल उड र कमाण्डर क्रोकरको नेतृत्वको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको इतिहासमा उल्लेख छ । अंग्रेजहरूले नेपाललाई आफ्नो उपनिवेश बनाउन र तिब्बतसम्मको व्यापारिक मार्ग कब्जा गर्न गोरखपुरबाट आक्रमण गरेका थिए । बुटवलको जितगढीमा उड र कमाण्डर क्रोकरको नेतृत्वमा अंग्रेज सेना जिगगढी नजिक आए पनि कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले उनीहरूलाई अघि बढ्न दिएनन् ।
पुस १८७१ मा भएको पहिलो आक्रमणमा बुटवल आइपुगेको अंग्रेज फौजलाई नेपाली सेनाले गोरखपुरसम्म लखेटेर पछि हट्न बाध्य बनाएको थियो । १८७२ बैशाखमा उड नेतृत्वकै अंग्रेज फौजले दोस्रो आक्रमण गर्दा पाल्पाको शीतकालीन दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेका नेपाली सेनाले सुरुङबाट आक्रमण गर्दा तीन सय भन्दा बढी अंग्रेज सैनिकको मृत्यु भएको इतिहासमा उल्लेख छ । ठूलो संख्यामा आफ्ना सैनिक मारिएपछि अंग्रेज सेना पराजित भएर भाग्न बाध्य भएपछि उक्त गढीको नाम जितगढी रहन गएको बुटवलका इतिहासका जानकार देबेन्द्रराज शाक्य बताउँछन् ।
कस्तो छ जितगढी ?
१६औँ शताब्दीमा सेन राजाहरूले निर्माण गरेको पाँच सय वर्गफिट इलाकामा फैलिएको जितगढीको पूर्वपश्चिम लम्बाई २ सय ५ फिट र चौडाइ करिब ५५ फिट छ । गढीको जग फराकिलो भने गारो (पर्खाल) क्रमशः माथितिर साँगुरो हुँदै गएको छ ।
गढीको भित्री भागबाट पर्खालको उचाइ ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ । करिब बाह्र लाखदेखि पन्ध्र लाख इट्टा प्रयोग भएका र इट्टाहरूका कोही १० इन्च वर्गाकारका तथा केही इट्टाहरूको लम्बाई चौडाइ क्रमशः ८ इन्च बाई ६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ । गढीको वरिपरि विपक्षी फौजलाई नियाल्न विभिन्न चर (प्वाल) हरू बनाइएको छ ।
२०५२ सालमा पुरातत्व विभागले उत्खनन् गरेपछि रणउजिरेश्वरी भगवती मन्दिर, सुरुङ मार्ग र युद्धका अवशेष पाइएका थिए । हाल बुटवल उप–महानगरपालिकाले युद्ध संग्रहालय र पुरातात्विक पार्क निर्माण गरी पर्यटकीय स्थलका रुपमा विकास गरिरहेको छ । तर यसको पूर्ण उत्खनन् र अतिक्रमण हटाउन उपमहानगरले सकेको छैन ।




