भैरहवा । प्रहरी हिरासतमा रहेको आरोपी भागेपछि पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन बुझाउँदै २४ घण्टाभित्र पक्राउ गरी कारबाही अगाडि बढाउन प्रहरीलाई अल्टिमेटम दिएका छन् ।
समाचार संकलनका क्रममा एपीवान टेलिभिजनका संवाददाता राधेश्याम विश्वकर्मामाथि तस्करहरुको एक समूहले सोमबार गरेको आक्रमण प्रयासमा संलग्नमाथि तत्काल कारबाहीको माग गर्दैै लुम्बिनी प्रेस क्लब, रुपन्देही र नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै आरोपितलाई २४ घण्टाभित्र कार्बाही नगरिए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले समाचार संकलनको लागि खटिएका पत्रकारको सञ्चार साधन कब्जामा लिने, कुटपिट गर्न खोज्ने र क्यामेराको फुटेज मेटाउन लगाएको घटनाले प्रेस स्वतन्त्रता मात्रै नभई मानवअधिकार समेत कुण्ठित गरिएको बताए । घटनापछि पक्राउ परेका व्यक्ति प्रहरी हिरासतबाटै भाग्नु रूपन्देहीको शान्ति सुरक्षा र प्रेस स्वतन्त्रताप्रति राज्यको निकायको हेर्ने दृष्टिकोण, अपराधिक व्यक्तिको मनोबल वृद्धि भएको महासंघको निष्कर्ष रहेको छ ।
यसैगरी लुम्बिनी प्रेस क्लबले २४ घण्टाभित्र आरोपित र आरोपितलाई भगाउन सहयोग गरेको प्रहरीलाई पक्राउ गरी कार्बाहीको दायरामा ल्याउन माग राखेको छ । क्लबका महासचिव प्रकाश न्यौपाने र अध्यक्ष कमल रायमाझीको हस्ताक्षरसहित बुझाइएको ज्ञापनमा २४ घण्टामा कार्बाहीको दायरामा नल्याए त्यसपछि चरणबद्ध आन्दोलनमा जाने उल्लेख रहेको छ ।
समाचार संकलन जाने क्रममा मर्चवारकै दिपेश यादव नाम बताउने युवाको समूहले दुव्र्यवहार गरेको थियो । बाटोमै भइरहेको अवैध ओसार प्रसारको भिडियो खिच्ने क्रममा यादवसहितको टोलीले विश्वकर्माको क्यामेरा, मोटरसाइकलको साँचो, पत्रकार परिचय पत्र खोसेर उनलाई पनि केही बेर नियन्त्रणमा राखेको थियो । पछि प्रहरी आएपछि प्रहरीकै अगाडि क्यामेरामा भएको दृश्य उक्त समूहले मेटाउन लगाएको थियो ।
यस विषयमा पत्रकार विश्वकर्माले इलाका प्रहरी कार्यालय मझगावामा जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न दिपेश यादवलाई पक्राउ गरेको थियो । यादवलाई पक्राउ गरिएको पुष्टि रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले गरेका थिए । आरोपीलाई पक्राउ गरी जिल्लामा झिकाउने प्रक्रिया थालिएको बताउँदै उनले त्यसपछि मात्र आवश्यक कार्बाही गर्ने बताएका थिए ।
त्यसपछि आरोपी यादवलाई इलाका प्रहरी कार्यालय मझगावाबाट नै भगाइएको थियो । तर प्रहरी आफ्नै भनाइबाट पछि हट्दै कहिले उनलाई पक्राउ नै नगरिएको र कहिले असावधानीवस भागेको बताउँदै आएको छ । पत्रकारहरुले भने आरोपीलाई प्रहरीले पक्राउ गरिसकेर पनि हिरासतबाटै भगाएको दाबी गर्दै आएका छन् ।
यस विषयमा राष्ट्रिय मानवअधिकार आयोग बुटवल, इन्सेक नेपाल र फ्रिडम फोरमलगायतका संस्थाहरुले पनि चासो दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोग बुटवल कार्यालयका मानवअधिकार अधिकृत आशिश श्रेष्ठको नेतृत्वको टिमले घटनाबारे जानकारी लिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताए । श्रेष्ठसँगै अधिकृत सुप्रिना चौधरी र सूचना प्रविधि सहायक अर्जुन खनालले घटनाको विषयमा जानकारी लिएका थिए ।
ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पत्रकारको सुरक्षालाई गम्भीरतापूर्वक लिएको बताए । उनले पत्रकारले खिचेका भिडियो डिलिट (हटाउन) लगाउने कार्यमा संलग्न व्यक्ति उपर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यो घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गर्ने जनाए । उनले फरार व्यक्तिको खोजी भइरहेको जानकारी दिँदै आगामी दिनमा यस्ता घटना हुन नदिन प्रहरी–प्रशासन थप सचेत हुने बताए ।




