नवलपरासी
नवलपरासी सदरमुकाम परासी नजिक रहेको सिद्धिलक्ष्मी स्टिल्स उद्योगले गरेको मनोमानी र प्रदूषणले वातावरण प्रदूषित भई जन स्वास्थ्य र बालीनालीमा गम्भीर असर गरेको छ । यसबाट स्थानीयहरु आजित भएका छन् । लक्ष्मी गु्रपले प्रवर्धन गरेको योे उद्योग रामग्राम नगरपालिका वडा नम्बर ६ र १० मा छ । उद्योगले सार्वजनिक कुलो र स्थानीयको जग्गा कब्जा गरेर संरचना निर्माण गरेको छ । कानुन नै मिचेर उद्योग सञ्चालन भए पनि नियमनकारी निकायहरु भने मूकदर्शक जस्तै बनेर बसेको स्थानीयको आरोप छ । उद्योगका कारण स्थानीयको खेतीपाती र स्वास्थ्यमा समेत गम्भीर असर पुगेको गुनासो बढेको छ । त्यति मात्र होइन उद्योगका कारण वरिपरि रहेको बस्ती नै विस्थापित गर्ने गरी गम्भीर लापरबाही गरेको र कानूनको समेत धज्जी उडाएको छ । करिब सात वर्षअघि स्थापना भएको उद्योगले कानुनकै धज्जी उडाए पनि सम्बन्धित नियमनकारी निकायले भने स्थानीयका गुनासालाई बेवास्ता गरेका छन् ।
उद्योगले फैलाएको प्रदूषणका कारण खेतीपाती र मानव स्वास्थ्यमा असर त परेकै छ, पशु चौपायासमेत बिरामी पर्न थालेका स्थानीयले गुनासो गरेका छन् । उद्योगबाट निस्किने धूलो, धुवाँ, फोहोर पानी र ढलले वरपरको वातावरण दुर्गन्धित बनेको छ । साथै, उद्योगले फाल्ने हानिकारक रसायनले खेतीपातीमा गम्भीर असर र क्षति पुराएको स्थानीय रामकिसुन केवटको गुनासो छ ।
‘उद्योगभित्रको ढल सिंधै स्थानीयको घरआँगनमै पठाउने गरेको, नजिकै बग्ने खोलामा उद्योगबाट निस्कने हानिकारक रसायन छाड्ने गरेको छ, त्यसले बालबालिकालाई खोकी र आँखा पोल्ने समस्या र छालाको रोग देखिएको छ,’ केवटले भने–‘उद्योगका लागि स्थानीयबाट जग्गा किनिएको भनिए पनि केही जग्गा कब्जा गरेको छ । उद्योगले कुलोसमेत पुरेर संरचना निर्माण गरेको छ ।’
कानुनअनुसार इनार, पोखरी र सार्वजनिक कुलो पुर्न र मास्न पाइँदैन । उद्योगले जग्गा कब्जा र सार्वजनिक कुलो मिचेको बारे पटक पटक सम्बन्धित निकायमा मौखिक र लिखित जानकारी गराए पनि वास्ता नगरेको स्थानीयले गुनासो गरेका छन् ।
त्यस्तै उक्त उद्योगका लागि आवश्यक विद्युत्को ट्रान्सफर्मर र पोलहरू पनिस्थानीयको जग्गामा जबर्जस्ती राखेको छ । ‘बिजुलीको पोल जबर्जस्ती हाम्रो जग्गामा राखेको छ, अब न त्यो जग्गा बेच्न सकिन्छ, न त घर बनाउन नै मिल्छ, हामी कहाँ जाने ?’– स्थानीयहरुले भने ।
उद्योगबाट निस्किने फोहोर पानी खेत र नहरमा मिसिँदा बालीमा असर परेको र जमिनको उर्वराशक्ति घटेको अर्का स्थानीय वसन्त केवटको गुनासो छ ।
आफ्नो घरसँग जोडिएको खेतमा उद्योगले सिधँै ट्वाइलेटको फोहोर पानीको पाइप लगाएको केवटले गुनासो गरे । उद्योगको मालिकलाई धेरैपटक भने पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
नक्सामा सरकारी नाला ८ फिटको छ, तर अहिले फ्याक्ट्रीको गेटअगाडि नाला रोकिएको छ । स्थानीय बालकुमार साहनीका अनुसार वडा नम्बर १० मा पर्ने खोला पनि मिचेर उद्योगले नयाँ संरचना बनाउन सुरु गरेको छ । सोही खोलामा ६÷७ वटा ठूला ह्युम पाइपमार्फत् भित्रको हानिकारक रसायन छाड्ने गरेको साहनीले बताए । उक्त रसायनका कारण वरिपरिका बालबालिकाहरू बिरामी पर्न सुरु गरेका छन् । विशेष गरेर स्वासप्रश्वास र छालामा समस्या देखिन सुरु भएको स्थानीयले बताएका छन् ।
वातावरणविद्हरूका अनुसार, स्टिल उद्योगबाट निस्किने धूलोमा फलाम, कार्बन र अन्य रासायनिक कणहरू हुन्छन्, जसले फोक्सो, आँखा र छालासम्बन्धी रोगहरू निम्त्याउँछ ।
उद्योग नजिकैको खेतमा सिँचाइका लागि प्रयोग हुने पानीमा रासायनिक फोहोर मिसिँदा बाली उत्पादनमा समेत कमी आएको स्थानीयको गुनासो छ ।
उद्योगले व्यक्तिगत जग्गा कब्जा र सार्वजनिक कुलो मिचेको भन्दै स्थानीयले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएका छन् । उद्योगले जग्गा कब्जा गरेको भन्दै रञ्जना अधिकारीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको दुई वर्ष बितेको छ । त्यसको सुनुवाइ भने अहिलेसम्म भएको छैन । आफ्नो दुई कठ्ठा जग्गा कब्जा गरी कम्पाउण्ड बनाएको बारे नगरपालिकामा जाँदा सुनुवाइ नभएपछि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको रञ्जनाका श्रीमान मनोज अधिकारीले बताए ।
उद्योगले सार्वजनिक कुलो मिचेर संरचना निर्माण गरेको नापी प्रतिवेदनमा उल्लेख गरिएको छ । कुलो र जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले नापीसहितको टोली पठाएको थियो ।
नक्साका आधारमा उद्योगले दुई वटा सार्वजनिक कुलोसहित त्यस वरपर भागको चार कठ्ठा जग्गामा कम्पाउण्ड निर्माण गरेको प्रतिवेदन प्रशासनमा बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले बताए । कम्पाउडभित्र परेको जग्गाको व्यवस्थापन गर्ने सहमति उद्योग प्रतिनिधिले गरेका छन् ।
तर, सहमति गरेको डेढ वर्ष पुग्न लाग्दासमेत उद्योगले जग्गाको व्यवस्थापन नगर्दासमेत प्रशासनले कुनै वास्ता नगरेको बताइएको छ ।
उद्योग क्षेत्र रहेको वडा नम्बर ६ का अध्यक्ष विद्या सागर त्रिपाठीले स्थानीयको समस्या समाधान गर्न आफ्नो वडा र पालिकाले पहल गरिरहेको बताए ।
वातावरण संरक्षण ऐन, २०७६ मा उद्योगहरूले बाहिर प्रदूषण गर्न नपाउने उल्लेख छ । तर, उद्योगले उक्त ऐन पालना गरेको देखिएको छैन ।
उक्त कम्पनीले गराएको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन पनि गोप्य राखिएको छ । वातावरण विभागले सिद्धिलक्ष्मी स्टिल्सको इआइए प्रतिवेदन आफूसँग नरहेको बताएको छ ।
उक्त प्रतिवेदन पालिकामा पनि नरहेको वडाध्यक्ष त्रिपाठीले बताए । उक्त फ्याक्ट्रीले प्रत्येक ६÷६ महिनामा गर्नुपर्ने इआइए अडिट पनि गरेको छैन
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका उद्योगका निर्देशक अञ्जन श्रेष्ठले उद्योगमाथि आएका गुनासो गलत भएको दाबी गर्दै सबै नियम र कानुनी प्रकृया पु¥याएको जिकिर गरेका छन् ।




