बासुदेव ढकाल
पाल्पा (रामपुर)
जंगलमा लागेको आगो हावाले उडाएर बस्तीमा पु¥याउँदा पाल्पा जिल्लाको निस्दी गाउँपालिका–१ बाकामलाङ्गमा एक घरगोठ जलेर नष्ट भएको छ । बाकामलाङ जुरेडाँडाका स्थानीय दिलबहादुर सारुको घरगोठ जलेर नष्ट भएको छ ।
घरमा कोही नभएको अवस्थामा अपराह्नमा लागेको आगोले सारुको घर र गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । गोठमा रहेको एक वटा गाई, एक वटा भैंसी र साना पाठापाठी र माउ गरी २० वटा बाख्रा, घरभित्र रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडासँगै ३० हजार बराबरको नगद र डेढ तोलाको गरगहना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए । आगलागीबाट २५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो निभाउन स्थानीयहरु छिमेकी गाउँबाट पनि पुगेका थिए । साँझ पख मात्र आगो नियन्त्रणमा आएको हो । केलादी प्रहरी चौकीका अनुसार घर नजिकै जंगलमा लागेको आगो हावाहुरी चलेपछि बस्तीमा पसेको थियो । हावाले उडाएर सुरुवातमा गोठमा सल्किएको थियो । खरले छाएको गोठसँगै खर र जस्ताले छाएको घरमा क्षति भएको हो ।




