लुम्बिनी संवाददाता
बुटवल
बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको भारतको जम्मुकश्मिरको पहलगाममा आतंकवादी समूहले गरेको आक्रमणमा परी मृत्यु भएको पुष्टि भएको छ ।मंगलबार आतंकवादी समूहले गरेको आक्रमणमा पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको हत्या ज्यान गएको थियो । सो आक्रमणमा परेर एक नेपालीको मृत्यु भएको समाचार बुधबार नै सञ्चार माध्यमहरूमा सार्वजनिक भएको थियो । त्यसपछि ती नेपालीबारे सोधखोज सुरु भएको थियो ।गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकारहरूसँग कुरा गर्दै रुपन्देहीका सुदीप आमासहित जम्मुकश्मिर घुम्न गएको बेला आतंकवादी हमलामा परी मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरे । मृतकका परिवारबाट पनि यो कुरा पुष्टि भएको छ ।
पारिवारिक स्रोतका अनुसार आमा रिमा, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग शनिबार बुटवलबाट घुम्नका लागि पहलगाम प्रस्थान गरेका थिए । उनीहरू पहलगाममा पुगेर घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंककारीहरूले मंगलबार दिउँसो एक्कासी गोली चलाएपछि सुदीपको ज्यान गएको उनको काका नाता पर्ने बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए । ‘हिउँ खेल्ने ठाउँमा एक्कासी आएर बन्दुकधारीले कुन धार्मिक समूहको हो भन्दै सोधेर गोली हानेपछि सुदीपको ज्यान गएको हो भन्ने छ, धेरै कुरा थाहा भएन ।’– वडाध्यक्ष न्यौपानेले भने ।
सुदीपको घटनास्थलमै ज्यान गए पनि आमा, बहिनी र ज्वाइँ सुरक्षित छन् । उनीहरूले भागेर ज्यान जोगाएका हुन् । भाग्ने क्रममा आमा सामान्य घाइते छिन् । सुदीप घरको एक्लो छोरा हुन् ।
सुदीपको शव आज बिहानसम्म बेलहिया नाका आइपुग्ने रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले जानकारी दिए । सुदीपको शव दिल्लीबाट लखनउसम्म विमानमा आउने र लखनउबाट शव वाहनमा बेलहिया आउने राठौरले बताए । बेलहियाबाट बुटवल घरसम्म रुपन्देही प्रहरीले शव पु¥याइदिने उनले जानकारी दिए ।
आमाको बुबासँग सम्बन्धबिच्छेद भएपछि आमा र बहिनीसहित सुदीप बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यहाँ उनीहरुले आफ्नै घर बनाएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुख्र्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।
सुदीपका बुबा धु्रव न्यौपाने बुटवल १८ स्थित भवानी माविका शिक्षक हुन् । सुदीपको बुबाको परिवार २०२४ सालमै बसाइँ सरेर बुटवल आएको हो । ‘हिउँ खेल्ने ठाउँ छ भनेर घुम्न गएको छिमेकीहरुले बताउँछन्, निर्दोष सुदीपको ज्यान गएपछि परिवार, आफन्त, छिमेकी, साथीभाइ सबै शोकमग्न भएका छन् ।’–वडाध्यक्ष न्यौपानेले भने ।
सुदीपको सवारी लाइसेन्स समेत घटनास्थलमा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा ज्यान गुमाएका सुदीपले एचएको अध्ययन पूरा गरेपछि बीपीएच अध्ययन गरेका थिए । केही समय उनी बुटवलको आधुनिक समाज डेन्टलसँग जोडिएर मुख स्वास्थ्य अभियानमा काम गरेका थिए ।
आधुनिक समाज डेन्टलका सञ्चालक अमृत भुसालका अनुसार सुदीपले मुख स्वास्थ्य अभियान लिएर प्यूठान, भैरहवालगायतका ठाउँमा पनि पुगेका थिए । सुदीप सामाजिक कामसँगै मेहनती र विपन्न वर्गको स्वास्थ्य सेवामा काम गर्न रुचि राख्ने युवा भएको भुसालले सम्झिए ।
सुदीपको परिवार घुम्न गएको जम्मुकश्मिरको उक्त ठाउँ ‘मिनी स्वीट्जरल्यान्ड’ भनेर चिनिने पर्यटकीय क्षेत्र हो । श्रीनगरबाट करिब ९० किलोमिटर टाढा रहेको पहलगाम पर्यटकहरूबिच लोकप्रिय गन्तव्यस्थल हो । घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्छ ।
‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले घटनाको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण मानिएको छ ।
यो घटनापछि साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किसकेका छन् । उनले यसलाई आतंकवादी हमला भन्दै आक्रमणमा संलग्नलाई नछोड्ने चेतावनी दिएका छन् ।
मंगलबारको हमलापछि राजधानी दिल्ली र मुम्बईसहित भारतभर उच्च सतर्कता अपनाइएको छ ।
हत्यामा संलग्नलाई कारबाही हुन्छ : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई कठघरामा उभ्याउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको टेलिफोन वार्तामा मोदीले अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
‘उक्त आतंकवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिएका छन् ।’–भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन् । प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समार्फत् भारतीय प्रधानमन्त्री मोदीसँग आतंकवादी हमलाबारे कुराकानी भएको उल्लेख गरेका छन् ।
‘मैले आतंकवादी हमलामा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य कृत्यप्रति नेपाल भारतको साथमा छ भनेको छु’, उनले भने–‘साथै, नेपाली नागरिकको मृत्युमा समवेदना प्रकट गरेको प्रति धन्यवाद समेत दिएको छु ।’
मंगलबार आतंकवादी समूहले गरेको आक्रमणमा पहलगामस्थित पर्यटकीय क्षेत्रमा २७ जनाको ज्यान गएको थियो ।




