नवलपुर । गएराति परेको पानीले सडक हिलाम्य भएपछि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा भएकाे सडक अवरुद्ध अब भने सञ्चालनमा आएकाे छ ।
सवारी साधन चिप्लिने र उकालोमा स्लिप खाने भएको कारण सवारी साधन आवागमन पूर्ण रुपमा बन्द गरि मर्मत गरेर साढे ३ बजेबाट एकतर्फि सहित करिब ४ बजेदेखी पूर्ण रुपमा सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए । चिप्लो रहेकाेले सतर्कता अपनाउन उनकाे आग्रह छ ।
दाउन्नेमा सडक हिलाम्य र धुलाम्य भएको भन्दै चैत्र २७ गतेदेखि दैनिक ६ घण्टा सडक बन्द गरेर काम गरिएको भए पनि प्रगति हुन सकेको छैन । अहिले पनि राति ११ बजेदेखि विहान ५ बजेसम्म सडक बन्द गरेर सडक मर्मत तथा विस्तारको काम गरिएको छ ।
सडक अवरुद्ध हुँदा विचल्ली परेका यात्रुहरुलाइ सडक खुलेपछि केही राहत भएकाे छ । अत्यावश्यक सवारीसाधनहरुकाे हकमा भने बैकल्पिक प्रवन्ध मिलाइएकाे प्रहरीले जनाएकाे छ ।




