बुटवल । बुटवल अटो इञ्जीनयरिङ्ग एशोसीएसन र लुम्बिनी वाणिज्य क्याम्पसबिचमा इन्टर्नसीपसहितको विषयमा सम्झौता भएको छ । सोमबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
बुटवल अटो इञ्जिनियरिङ्ग एशोसीयसनका तर्फबाट अध्यक्ष प्रेमप्रसाद गौचन र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्ययाले हस्ताक्षर गरेका छन् । अनुसन्धान तथा तालिमको लागि व्यवसायिक क्षेत्रमा विद्यार्थीहरुको सहभागिता बढाउँदै लैजाने र स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्ने सहयोग पुग्ने सम्झौतामा उल्लेख छ ।
तालिम तथा अनुसन्धानमा लुम्बिनी वाणिज्य क्याम्पसले सहयोग गर्नेछ । यस्तै विद्यार्थीहरुलाई इन्टर्नसीपको लागि अटो इञ्जिनियरिङ्ग एशोसीयसनले सहयोग गर्नेछ ।
लुम्बिनी वाणिज्य क्याम्पसले छुट्टै आटोमोबाइल इञ्जिनीयरिङ्ग कार्यक्रम सञ्चालन गर्न पनि एशोसियसनले सघाउने सम्झौता भएको छ । २ वर्षको लागि गरिएको सम्झौतामा अटो इञ्जिनियरिङ्ग एशोसियसनले छुट्टै स्थापना गर्न खोजेको अटो मोबाइल्सको अध्यापन हुने क्याम्पसको परिकल्पनालाई वाणिज्य क्याम्पसले सघाउ पु¥याउने समेत उल्लेख गरिएको छ ।
सम्झौता आदानप्रदान कार्यक्रममा एशोसियसनका पूर्व अध्यक्ष तथा नेपाल अटो व्यवसायी महासंघका केन्द्रीय सचिव तुलसीप्रसाद न्यौपाने, केन्द्रीय कोषाध्यक्ष तथा एशोसियसनका वरिष्ठ उपाध्यक्ष बाबुराम आचार्य, वाणिज्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, प्लेसमेन्ट काउन्सीलिङ्ग, एन्ड इन्टरप्रेनरसीप डेभलपमेन्ट सेलका कार्यक्रम प्रमुख मुकुन्द ज्ञवाली, पुरुषोत्तम घिमिरेलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।




