तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका सहयोगापेक्षि सडक आश्रित मानवमुक्त पालिका घोषणा हुने भएको छ । पालिकाले मंगलबार एक विशेष कार्यक्रम गरी नगरलाई सहयोगापेक्षि सडक आश्रित मानवमुक्त पालिका घोषणा गर्दैछ ।
पालिकाको वडा नं. ६ मा रहेको मानवसेवा आश्रमको व्यवस्थापनमा सडक आश्रित मानवमुक्त पालिका बनाउन लागिएको हो ।
सो कार्यक्रमको पूर्वसन्ध्यामा पालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाँणले मानवसेवा जीवनको सर्वोत्तम कार्य भएको बताए । नगर उप–प्रमुख जगेश्वरीदेवी चौधरीले यो घोषणाले नगरको गरिमा थप बढ्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरलाई सिटी अफ ह्युमानिटि र सिटी अफ स्पिरिचुआलिजमका रुपमा विकास गर्ने गरी पालिकाले काम गर्ने बताए ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले नेपालको सातै प्रदेशमा मानवसेवा आश्रम स्थापना गरी सेवा गरिरहेको जनाए । रुपन्देहीको बुटवल र तिलोत्तमामा मानवसेवा आश्रममार्फत् १ हजार १ सय १६ जनाको उद्धार गरिएको बताए । जसमा तिलोत्तमामा १२६ जना छन् । छलफल कार्यक्रममा राजनैतिक दल, नागरिक समाज, संघ संस्था, विद्यालयका शिक्षक, टोल विकास संस्थाहरुले ऐक्यबद्धता जनाएको कार्य पालिका सदस्य सुरेन्द्र श्रीले बताए ।




