प्रकाश डोटेल
स्याङ्जा
स्याङ्जाको सदरमुकामबाट तनहुँको दुलेगौडा जोडन् सडकको निर्माण कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । तीव्र रुपमा निर्माण गरिएको पुतलीबजारको प्रगतिनगर–डाडाँस्वारा पक्की सडकको निर्माण कार्यको ७५ प्रतिशत काम पूरा भएको छ ।
पुतलीबजार नगरपालिकाअन्तर्गत रहेको प्रगतिनगर–बहाकोट–नाम्चे–काल्खु मोटरबाटोफराकिलो बनाउने काम सकिएको छ । सडकमा पर्खाल लगाउने, नाली बनाउने, ग्रेड मिलाउनेलगायतका कामहरु पूरा भएर कालोपत्रेको काम थाल्न शुरु हुन लागेको पुतलीबजार नगरपालिकाका इञ्जिनियर सुदीप बरालले जानकारी दिए ।
“बाटो फराकिलो बनाउने काम सबै पूरा भएको छ । टेवा, पर्खाल र नाली निर्माणका काम ९५ प्रतिशत पूरा भएको छ,” इञ्जिनियर बरालले भने–“यसैगरी नालीतर्फ ५ दशमलव ९ किलोमिटर, ५ दशमलव ५ किलोमिटर ग्रेड मिलाउने र ५ दशमलव ३ किलोमिटरमा सबबेश बिछ्याउने काम सम्पन्न भएको छ ।”
बैशाख महिनाको मध्येसम्म भौतिक प्रगति करिब ७५ प्रतिशत पूरा भएको छ । बैशाखको अन्तिम साताभित्र कालोपत्रे गर्नेगरी तयारी भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा कच्ची सडक फराकिलो बनाउनुका साथै कालोपत्रे गरिने नगरप्रमुख तुलसीराम रेग्मीले बताए ।
सडकले स्याङ्जाको सदरमुकाम र तनहुँ जिल्लाको व्यापारिक केन्द्र दुलेगौडा जोड्ने छ । पुतलीबजार हुँदै तनहुँको दुलेगौडासँग जोडिने सडकबाट पुतलीबजार नगरपालिकाका वडा नं. ३, ५, ७, ८, ९ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् भने हजारौं व्यक्तिले उक्त सडककोे उपयोग गर्न पाउने नगरप्रमुख रेग्मीले जानकारी दिए ।
काठमाडौंको लामा कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा पाएको सडक निर्माणमा विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक अबको ३ महिनाभित्र महिनाभित्र पूरा गरिसक्नु पर्नेछ । सन् २०२४ अप्रिलमा सम्झौता भएको सो सडक २०२५ जुलाईमा निर्माण कार्य सक्नुपर्ने बाध्यकारी समयसिमा रहेको छ ।
शहरी शासकीय तथा पूर्वाधार कार्यक्रमअन्तर्गत विश्व बैंकको ऋण तथा अनुदान सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा सडक कालोपत्रे गर्न लागिएको हो । तोकिएको समयमै सडक निर्माण सम्पन्न गर्नेगरी निर्माण अघि बढाइएको निर्माण कम्पनीका प्रमुख इञ्जिनियर नरनाथ पौडेलले जानकारी दिए ।
प्रगतिनगरशिक्षा चोकदेखि काफलडाँडा–भञ्ज्याङ्–बहाकोट–नाम्चे– काल्खुसम्मको७ दशमलव ६ किलोमिटर पक्की सडक बन्दैछ । नाली र टेवा पर्खालसहित दुई लेनको सडकको चौडा ७ मिटरको हुने नगरपालिकाले जनाएको छ ।




