काठमाडौं । भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तानमाथि हमला सुरु गरेको छ । भारतले यो आक्रमणलाई किन ‘अपरेसन सिन्दूर’ नाम दियो होला ?
शक्ति राष्ट्रहरूले कुनै पनि सैन्य कारबाही गर्नुअघि, अपरेसन कहाँ हुने, कसरी हुने, कसलाई लक्षित गर्ने भनेर रणनीति बनाइन्छ । भारतले पनि यही गरेको हो । यसअनुसार सैन्य कारबाहीको महत्वलाई ख्याल गरेर हमला वा मिसनको नाम राख्छन् । नामकरण पछाडि गोप्यता, प्रेरणा वा मनोवैज्ञानिक मानसिकतासमेत जोडिन्छ ।
सैन्य कारबाहीको मिसनमा कोडमा आधारित नामहरू समेत तय गरिन्छ । प्रतीकात्मक नामकरण गर्ने अभ्यास संसारभरि छ । देशभित्रै आन्तरिक कारबाही चलाउँदा समेत यो अभ्यास हुन्छ ।
भारतीय सञ्चारमाध्यमले पहलगाम आक्रमणमा कैयन निर्दोष व्यक्तिहरू मारिएकोसँग यसको सम्बन्ध जोडेका छन् । भारतीय भूमितर्फ पर्ने कश्मिरको पहलगाम २२ अप्रिलको दिन पर्यटकलाई लक्षित गरी आतंकवादी आक्रमण हुँदा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।
पुरुषहरू मारिँदा तिनका श्रीमतीहरूको सिन्दूर पुछिएकाले उनीहरूको ‘न्याय’ का निम्ति भारतले सैन्य कारबाहीको नाम ‘अपरेसन सिन्दूर’ राखेको एबीपी न्युजले लेखेको छ ।
नेपाल र भारतीय समाजमा हिन्दु संस्कार अनुसार विवाह गर्दा वरले बधुको सिउँदोमा सिन्दूर लगाइदिने चलन छ । विवाह पश्चात श्रीमानको मृत्यु भएमा श्रीमतीले सिउँदोको सिन्दूर पुछ्ने गर्छन् ।?




