लुम्बिनी संवाददाता
बुटवल
२५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ ।
लुम्बिनी विकास कोषले शनिबार पत्रकार सम्मेलन गरी बुद्धको जीवनीसँग सम्बन्धित लुम्बिनी, तिलौराकोट, रामग्राम रुर देवदहमा बैशाख २८ देखि ३० गतेसम्म विभिन्न कार्यक्रमसहित बुद्धजयन्ती मनाउन लागेको जानकारी गराएको हो ।
कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले वैशाख २८, २९ र ३० गते तीन दिन उत्सवका रुपमा बुद्ध जयन्ती मनाइने बताए । ‘दुई विशाल मुलुक भारत र चीनको बिचमा रहेको नेपालको लुम्बिनीका लागि ठूला ठूला सहायताका कार्यक्रम ल्याउन सक्ने खालको प्रयत्न हुन आवश्यक छ’, उनले भने– ‘लुम्बिनीको बिकासका लागि सुशासनको आवश्यकता पनि उत्तिकै अपरिहार्य छ ।’ उनले बुद्धजयन्ती मुलुक र विश्वकै लागि गौरवको विषय भएको बताए ।
बुद्धजयन्ती तथा लुम्बिनी दिवका लागि एक करोड रुपैयाँ खर्च हुने लामाले बताए । गौतमबुद्धको जन्म, ज्ञान प्राप्ती र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको लामाले बताए । गौतमबुद्धको जन्म २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर रपवित्र बगैचामा बैशाख शुक्लपूर्णिमाका दिन भएको थियो ।
२५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक उहटन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मुल आयोजक समिति गठन भएको र अन्य समितिहरुमा ३० सदस्यीय सल्लाहकार समितिबनेको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए । बैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुने भट्टराईले बताए । विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे सहित संघिय तथा प्रदेश मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा, र प्रदेशसभा सदस्यज्यूहरुसहित उच्चस्तरीय पदाधिकारी, कुटनितिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत सहभागिता रहने उनले बताए । भट्टराईका अनुसार, लुम्बिनी दिवस समारोहमा भारत र पाकिस्तानसहित विभिन्न मुलुकका नेपालका लागि राजदुतहरुको पनि सहभागिता रहने छ ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले दक्षिण एशियाका दुई ठूला शक्तिशाली राष्ट्र भारत र पाकिस्तान युद्ध उन्मुख भइरहेका बेलामा बुद्ध जयन्तीका दिन लुम्बिनीबाट शान्तिको सन्देश जाओस् भन्ने प्रयत्न लुम्बिनी विकास कोषले राखेको बताए ।
तीन दिने कार्यक्रमअन्तर्गत बैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ भने बैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुनेछ ।
यसका साथै बृहतर लुम्बिनी क्षेत्रअन्तर्गत अस्तीधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने उनले बताए । यस्तै बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाइ कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रभूति उत्सवलगायतका कार्यक्रमहरु आयोजना गरिने छ ।
बुद्धको ज्ञानको महत्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लावासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न लुम्बिनी विकास कोषले अपिल गरेको छ ।
बुद्धजयन्तीको भोलीपल्ट बैशाख ३० गते वर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ । लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालिन अवस्थाको झल्को दिनेगरी शोभायात्रा गरिने कोषका वरिष्ठ सूचना अधिकारी डा.हरिध्वज राईले बताए ।




