बुटवल । जहाँ औषधि त्यहाँ फर्मासिष्टलाई जोड दिइएको छ । नेपाल फार्मेसी संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले औषधिसँग सम्बन्धित हरेक विषयबस्तुमा अनिवार्य फर्मासिष्ट हुनुपर्नेमा जोड दिएका हुन् । फर्मासिष्ट औषधिका विज्ञ पनि भएकाले हरेक पालिकामा फर्मासिष्टको दरबन्दी अनिवार्य गर्न माग गरे ।
कार्यक्रममा बोल्दै बुटवल उप–महानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फार्मेसीका लागि फार्मेसी नै पढेको हुनुपर्ने प्रावधान विस्तारै बढ्दै गएको बताए । उनले हरेक पालिकाले कम्तिमा एकजना फर्मासिष्ट राख्नैपर्ने नीति आवश्यक रहेको बताउँदै त्यसका लागि संघले संघीय सरकारसँग पहल गर्न आग्रह गरे ।
उनले बुटवल उप–महानगरपालिकाका १९ वटा वडा मध्ये १८ वटा वडामा करारमै भए पनि फर्मासिष्ट राखिएको बताउँदै दरबन्दी नहुँदा स्वास्थ्यका क्षेत्रमा धेरै समस्या भोग्नुपरेको भनाइ राखेका थिए । उनका अनुसार स्थानीय सरकारका जनप्रतिनिधिहरुले करारमा राखिएका कर्मचारी हटाउँदा प्रतिसोध साध्यो भन्ने हुने र नहटाउँदा बेरुजु भयो भन्ने आरोपको अपजसको भारी बोक्नु परेको छ ।
उनले फार्मेसी पढेको दक्ष जनशक्तिको कमी नरहेको बताउँदै फर्मासिष्ट व्यवस्थापनका लागि एउटा विधि बनाएर औषधिको बिक्री वितरणका लागि अनिवार्य फर्मासिष्टको उपस्थिति हुनुपर्ने जनाए ।
बुटवल उप–महानगरपालिकामा पेचिलो बनेको विज्ञापन करका विषयमा आगामी वर्षदेखि त्यसमा कुनै समस्या नआउने गरी गृहकार्य गरिने उनले बताए । उनले आगामी वर्ष बुटवल उप–महानगरपालिकाले राजस्वको दर नबढाउने नीति लिएको बताउँदै विज्ञापनका दायरा विस्तार गरिने जानकारी गराए ।
कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले औषधि पसल सञ्चालनका लागि अनिवार्य रहेको फार्मेसी लाइसेन्स अरुको लिएर पसल सञ्चालन गर्ने विकृति रहेको बताउँदै उक्त विकृति हटाउन आफूहरु प्रतिवद्ध रहेको र नियमन तथा अनुगमनको पाटोलाई पनि कडाइका लागि अगाडि बढाउन आग्रह गरेका छन् ।
त्यसैगरी फार्मेसी संघका कन्द्रीय महासचिव युवराज भुसालले औषधि हुने सबै ठाउँमा अनिवार्य फर्मासिष्ट हुनुपर्नेमा जोड दिँदै फर्मासिष्टले व्यापार व्यवसायभन्दा पनि नागरिक सेवालाई प्राथमिकता दिनुपर्ने भनाइ राखेका थिए ।
त्यस अवसरमा नेपाल फार्मेसी संघका अध्यक्ष गणेश सेढाइले सबै पालिकामा कम्तिमा एकजना फर्मासिष्ट अनिवार्य हुनुपर्नेमा जोड दिँदै त्यसका लागि संघले संघीय सरकारसँग पहल गर्नुपर्ने बताए । त्यसका लागि संघले जिल्ला शाखाहरुको समेत राय सुझाव लिएर काम गर्न उनले आग्रह गरे । उनले विना दर्ता गैरकानुनी रुपमा सञ्चालित औषधी पसल (फार्मेसी)का कारण दर्ता गरेर वैध रुपमा सञ्चालित औषधि पसलहरुमा समेत समस्या सिर्जना गरेको बताउँदै नियमन तथा अनुगमनमा जोड दिए ।
कार्यक्रममा औषधि व्यवसायी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, संघका केन्द्रीय सदस्य तथा रुपन्देहीका संस्थापक अध्यक्ष ध्रुवकुमार शर्मा, औषधि व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष नारायण थापा, मायादेवी टेक्निकल कलेजका प्रवन्ध निर्देशक चिरञ्जिवी जोशी, संघका लुम्बिनी प्रदेश अध्यक्ष गोविन्दप्रसाद तिवारी, कपिलवस्तु अध्यक्ष डा.बिक्रम घिमिरे, रुपन्देहीका उपाध्यक्ष चोकलाल सापकोटा, सचिव उदयबहादुर खत्रीलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
साधारणसभा तथा अधिवेशनको अवसरमा संघको संस्थागत विकासमा योगदान गरेका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई सम्मान गरिएको थियो ।
फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा सापकोटा
नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित भएका छन् । संघको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा भरत गिरी र सुशिला बञ्जाडेलाई चयन गरिएको छ । त्यसैगरी महासचिव पदमा महेश पाण्डे, कोषाध्यक्षमा पिताम्बर अधिकारी, सचिवमा सञ्जिता ढकाल र नारायण विक्रम कुवर तथा सह–कोषाध्यक्षमा रिना केसीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक तथा संघका सल्लाहकार धर्मराज भट्टराईले जानकारी दिए ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा खेमराज ज्ञवाली, दिलिपकुमार जैसवाल, आशिष आचार्य, निरज गुरुङ, पवनकुमार कोहार र महफूज अहमद धुनियाँलाई चयन गरिएको छ ।




