परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा रामग्राम वडा नं ८ स्थित शहरी स्वास्थ्य सेवा केन्द्र, चम्किपुरमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्षेत्र भित्र रहेका किशोर किशोरी,शिक्षक शिक्षिका,जनप्रतिनिधि, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यहरू, म।सा।स्वा।स्वं।से।, संघ संस्थाका प्रतिनिधी लगायत सरोकारवालाहरुलाई किशोरकिशोरीले पाउने सेवाको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको सहजीकरण गर्दै रामग्राम नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले किशोरकिशोरी अवस्थामा समस्याको पहिचान गर्न नसक्दा र किशोरकिशोरीहरुले आफ्नो समस्या बताउन नसक्दा विभिन्न घटना घट्ने बताउदै त्यस तर्फ सबै चनाखो हुनु आवश्यक रहेको बताए ।
किशोरकिशोरीले आफ्ना समस्याहरु सम्बन्धित ठाउँमा राख्न र त्यसको समाधान खोज्ने गरी आवश्यक सम्पुर्ण मापदण्डहरु पुरा गरी स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिने बताए । सबै स्वास्थ्य संस्थाहरूबाट दिर्इने सेवा किशोर किशोरी मैत्री हुनुपर्ने भनि उल्लेख भए बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी भएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिक, २०७९ अनुसार अभिमुखकरण गरी सोही निर्देशिकाको अनुसूचि ३ मा उल्लेख रहेको चेकलिस्ट मार्फत मुल्यांकन गरी ८० प्रतिशत पुरा भएका स्वास्थ्य संस्थाहरूलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाको रूपमा विस्तार गरिदै लग्ने भनी जानकारी दिए।
किशोरकिशोरीहरुको अधिकारहरु, नेपालको मुलुकी अपराध संहिता ऐनमा उल्लेख भएको विवाहको उमेर तथा बालविवाह सम्बन्धी कानुन, राजस्वला, सुत्केरी तथा गर्भपतन सम्बन्धी कानुन लगायतका विषयमा समेत जानकारी प्रदान गरिएको सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलिराम सापकोटाले जानकारी दिए ।
रामग्राम नगरपालिकाले यस अघि ४ वटा स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाको रूपमा घोषणा गरिसकेको छ भने हाल यस आ. व. २०८१-०८२ भित्र अभिमुखीकरण गरि थप ९ वटा स्वास्थ्य संस्थालाई घोषणा गर्ने तयारी रहेको छ ।




