बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीको अनुशासन आयोगले एक वर्षका लागि पार्टीबाट निस्काशित गरेको छ ।
गत आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको प्रमाणका आधारमा पार्टी सदस्यताबाट निस्काशन गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजकले पठाएको पत्रमा उल्लेख छ ।
अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाले महामन्त्री खनाल र लुम्बिनी प्रदेश सभापतिलाई सम्बोधन गरेर पठाएको पत्रमा अनुशासन समितिको असार १७ गते वसेको वैठकको निर्णय अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा स्पष्टिकरण सोधिएको तर स्पष्टिकरण चित्तबुझ्दो नदेखिएकोले उपलव्ध प्रमाणको आधारमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) र (घ) र उपधारा ८ (ङ) बमोजिम १ (एक) वर्षको लागि नेपाली कांग्रेसको सदस्यताबाट निस्काशन गर्ने निर्णय भएको उल्लेख गरेका छन् ।
उक्त निर्णयको बोधार्थ नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, नवलपरासी सभापति, नेपाली काग्रेस, प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ क्षेत्रीय कार्यसमिति, नेपाली काग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) कार्यसमिति र नेपाली कांग्रेस बर्दघाट नगर कार्यसमिति सभापति लाई दिइएको छ ।
अनुशासन समितिले गरेको कारवाहीबारे महामन्त्री खनालले यो कारवाही टिप्पणी गर्न लायक नभएको प्रतिक्रिया दिए । कसैको नाम नलिई खनालले वर्षौंदेखि पार्टी निर्माणमा मरिमेटेर लागेका इमान्दार नेता कार्यकर्तामाथि पैसाको आडमा पार्टीमा हावी भएका तत्वको निर्देशनमा भएको कथित कारवाहीको देशभरका कांग्रेसका इमान्दार नेता कार्यकर्ताले उचित समयमा जवाफ दिने बताए ।
खनालमाथि गत चुनावमा उम्मेदवार रहेका नेपालका अर्बपति उद्योगी विनोद चौधरीलाई हराउन भूमिका खेलेको पार्टी संस्थापन पक्षको आरोप थियो । तर खनालले पहिल्यैदेखि आरोपको खण्डन गर्दै आएका थिए । चौधरी उक्त निर्वाचनमा विजयी भएका थिए । कारवाहीम परेका खनाल संस्थापन इतरका हुन् ।




