२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नौ जनामध्ये को बन्ला रास्वपाको उम्मेदवार ?

नौ जनामध्ये को बन्ला रास्वपाको उम्मेदवार ?

प्राइमरी इलेक्सन र लिडरसीप तालिमलगायत विभिन्न चरणको छनोटपछि उम्मेदवारको अन्तिम टुंगो भदौ १५ मा लाग्ने छ ।

नौ जनामध्ये को बन्ला रास्वपाको उम्मेदवार ?

नौ जनामध्ये को बन्ला रास्वपाको उम्मेदवार ?

प्राइमरी इलेक्सन र लिडरसीप तालिमलगायत विभिन्न चरणको छनोटपछि उम्मेदवारको अन्तिम टुंगो भदौ १५ मा लाग्ने छ ।

नौ जनामध्ये को बन्ला रास्वपाको उम्मेदवार ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • बुटवल
    रूपन्देही–३ मा आगामी कात्तिक १७ गते हुन लागेको प्रतिनिधिसभा सदस्य उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न नौ जनाले आवेदन दिएका छन् । उनीहरुको पहिलो सूची पार्टीले बिहीबार सार्वजनिक गरेको छ । 
    उम्मेदवार बन्न आवेदन दिनेहरुमा शुलभ खरेल, पार्थवेन्द्र उपाध्याय,  डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर (जेबी) गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधु अर्याल रहेका छन् । 


    उम्मेदवारको सूची सार्वजनिक गर्दा भएको क्रम संख्याले एक नम्बरमा रहेकालाई बढी प्राथमिकता र त्यसपछिकालाई कम प्राथमिकता दिएको अर्थमा बुझ्न नहुने पार्टीका सह–महामन्त्री विपिन आचार्यले बताए । ‘उम्मेदवारको सूची सार्वजनिक गर्दा पहिलो नम्बरमा नाम उल्लेख  भएका र अन्तिममा नाम उल्लेख भएका आकांक्षीको हैसियत एउटै र बराबर हो, प्राइमरी ईलेक्सन र अन्य मापदण्ड र नेतृत्व क्षमताको मूल्यांकनमा जो अगाडि आउनुहुन्छ अन्तिममा उहाँ नै उम्मेदवार हुने हो, त्यसैले सिरियल नम्बरबारे कोही कन्फ्युज हुनुपर्दैन यो नितान्त टेक्निकल कुरा मात्र हो ।’ – आचार्यले प्रष्ट पारे ।


    रास्वपाले साउन ७ देखि साउन २१ गते साँझ ५ बजेसम्मको समय तोकेर उम्मेदवारको आवेदन माग गरेको थियो । २०७९ को आम निर्वाचनमा समानुपातिकतर्फ १४ हजार १५४ मतका यो क्षेत्रमा तेस्रो ठूलो दल बनेको थियो । 


    यस्तो छ उम्मेदवारहरुको पृष्ठभूमि
    उम्मेदवारका लागि आवेदन दिएकाहरुमध्ये कुसुम महर्जन पार्टी केन्द्रीय सदस्य हुन् । उनी गत आम निर्वाचनमा समानुपातिक उम्मेदवार थिइन् । भैरहवा माइती भई भक्तपुर बस्दै आएकी उनी अहिले उम्मेदवार बन्नकै लागि समानुपातिक सूचिबाट नाम हटाउन पार्टीमा निवेदन दिएकी थिइन् । भैरहवा निवासी जेबी गुप्ता रास्वपा रुपन्देहीको संस्थापक मध्येका एक हुन् । २०७९ को चुनावमा रास्वपाबाट उम्मेदवार बनेर ५ हजार ७ सय ९६ मत ल्याएका थिए ।


    बुटवल मोतीपुर निवासी मधु अर्याल रास्वपा रुपन्देही ३ का क्षेत्रीय सभापति हुन् । उनी निर्वाचन क्षेत्रमा पार्टी संगठन निर्माणमा धेरै खटिनेमध्येका अगुवा नेता हुन् । 


    रोटरीलगायत सामाजिक संघसंस्थामा पनि क्रियाशील अर्याल राजनीतिक तर्क क्षमता, प्रखर वक्ता मानिन्छन् । उनी मन्टेश्वरी स्कूलका सञ्चालक पनि हुन् ।  


    सहकारी अभियान्ता ज्ञानु पौडेल भैरहवा निवासी हुन् । पौडेल लुम्बिनी विशिष्टीकृत सहकारीको अध्यक्ष, लुम्बिनी प्रदेशकै ठूलो जनउत्थान सहकारीकी पूर्व अध्यक्षर केन्द्रीय बचत तथा ऋण सहकारी संघकी केन्द्रीय सदस्य हुन् । विगतमा नेकपा एमाले निकट उनीसामाजिक क्षेत्र बढी परिचित छन् ।


    बुटवल १६ सेमलारका सुलभ खरेल अमेरिकाबाट उम्मेदवार बन्नकै लागि आएको चर्चा छ । पेशाले अधिवक्ता उनी यसअघि पार्टीमा सक्रिय थिएनन् । 


    पार्थवेन्द्र रुपन्देही क्याम्पस भैरहवाका क्याम्पस प्रमुख थिए । उम्मेदवार बन्नका लागि उनले बुधबार मात्रै पदबाट राजीनामा दिएका छन् । उनी अघिल्लो चुनावमा विवेकशील साझा पार्टीबाट रुपन्देही ३ मै संघीय सांसदको उम्मेदवार थिए । उनी नेकपा एमालेका स्वर्गीय नेता धनपति उपाध्यायका छोरा र सिद्धार्थनगरकी उपमेयर उमा अधिकारीका पति हुन् । पार्थवेन्द्र अधिवक्ता पनि हुन् । डा. लेखजंग थापा न्यूरो सर्जन हुन् । उनको भैरहवामा आफ्नै क्लिनिक छ । गत आम निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार थिए ।


    रचना क्षेत्री पार्टीको जिल्ला कोषाध्यक्ष हुन् । उनी मन्टेश्वरी विद्यालय सञ्चालक हुन् । पुनमकुमारी अग्रवाल नेपालकै ठूलो प्रांगारिक मल उद्योगकी सञ्चालक हुन् । उनी विगत दश वर्षदेखि राजनीतिमा सक्रिय छन् ।

     

    उम्मेदवार छनोटको यस्तो छ विधि

    पार्टी सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इञ्चार्ज विपीनकुमार आचार्यका अनुसार उम्मेदवार छनोट विधिअन्तर्गत प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) को नतिजाको ५० अंक, समावेशिताको ५ अंक, पोलिटिकल प्रोक्सिमिटीको २० अंक र लिडरसिप एकेडेमीको नतिजाको २५ अंकका आधारमा उम्मेदवारको अन्तिम टुंगो भदौ १५ गते लाग्ने छ ।


    आचार्यका अनुसार प्रारम्भिक सूचिमा परेका उम्मेदवारहरुका विषयमा साउन २३ गते बिहान १० बजेदेखि २४ गते साँझसम्म दाबी विरोध र उजुरी गर्न सकिने कार्यतालिका छ । 


    साउन २५ गते उम्मेदवारहरुबिच छलफल गराई आपसी सहमति जुटाउन प्रयास गरिने छ । आचार्यका अनुसार उक्त छलफलबाट  कतिपय उम्मेदवारहरु व्याक हुन सक्नेछन् । बाँकी रहेका उम्मेदवारको नामावली २६ गते निकालिने छ । साउन २७ देखि भदौ ११ सम्म पार्टीले उम्मेदवारहरुको नेतृत्व क्षमता परीक्षण गर्नेछ । 


    भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म उम्मेदवार छनोटका लागि पार्टीको मोबाइल एपबाट अनलाइन भोटिङ (प्राइमरी इलेक्सन) हुने पार्टी सहमहामन्त्री आचार्यले जानकारी दिए । 


    प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहने छ । पार्टी सदस्यको मतदानमा साउन २६ सम्म पार्टी सदस्यता लिएकाले मात्र मतदानमा भाग लिन पाउने सहमहामन्त्री आचार्यले बताए । 


    नन अफ द एबोभ भए फेरि नयाँ प्रकृया
    प्राइमरी इलेक्सनमा रास्वपाले छनोट भएका उम्मेदवारहरुमध्ये पार्टी सदस्य मतदातालाई कोही पनि मन नपरेको अवस्थामा त्यस विकल्पमा पनि मतदान गर्न पाइने र नयाँ उम्मेदवार ल्याउने विकल्प पनि खुला राखेको छ । जसअनुसार मतदानमा नन अफ द एबोभ (कुनै पनि उम्मेदवार मन परेन) भन्ने मत बढी मत आएमा सबै उम्मेदवारहरु स्वतः खारेज गरी फेरि नयाँ प्रकृयाबाट नयाँ उम्मेदवार ल्याएर मतदान गराइने आचार्यले जानकारी दिए ।


    पोलिटिकल प्रोक्सिमिटीको २० अंकमा पार्टीमा आवद्धताको मिति,पार्टी निर्माणमा निरन्तरता र सक्रियता, कार्यसम्पादन र निर्वाचन क्षेत्रमा सक्रियता, लोकतान्त्रिक मूल्य मान्यता, सुशासन, सामाजिक क्षेत्रमा योगदान आदि पक्षलाई मूल्यांकन गरिने छ ।


    लिडरसिप एकेडेमीको नतिजाको २५ अंकमा राजनीतिक चेत र विचार, सदाचार र नैतिकता, शैक्षिक योग्यता, पेशागत अनुभव, नेतृत्व अनुभव, क्षेत्रको दीर्घकालीन विकासको भिजन (ब्लु प्रिन्ट) लाई मूल्यांकन गरिने सहमहामन्त्री आचार्यले बताए । 


    राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन भएपछि रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपचुनाव हुन लागेको हो । 
    निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ । 


    इलाम र बाराको उपचुनावमा नराम्रो हार ब्यहोरेको रास्वपाले यहाँको उप–चुनाव जितेर पार्टीको शाखलाई फर्काउने रणनीतिमा छ । 


    पार्टी सभापति रवि लामिछाने सहकारी ठगी अभियोगमा यही क्षेत्रको भैरहवा कारागारमा रहेकाकाले पनि रास्वपाले यहाँ हुने चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ । 


    लामिछाने स्वयंले ०८४ को निर्वाचनका लागि पूर्वसन्देश दिनेगरी नतिजा निकाल्न नेता–कार्यकर्तालाई निर्देशित गरिरहेका छन् ।
    रास्वपा रुपन्देही ३ का सभापति मधुप्रसाद अर्यालले पुराना दलहरुमा चुनावको टिकट पैसामा किनबेच हुने परिपाटीकै कारण भ्रष्टाचार र बेथिति मौलाएको भनेर रास्वपाले उम्मेदवार छनोटको वैज्ञानिक विधि तय गरेकाले त्यो विधिको अक्षरशः पालनाबाट उम्मेदवार छनोट हुने बताउँछन् ।


     ‘अरु दलले लागू गर्न नसकेको वैज्ञानिक विधिबाट पार्टीले उम्मेदवार छनोट गर्दा मतदाता पनि सन्तुष्ट हुन्छन्, यसपटक विधिलाई पूर्णत पालना गरेर देखाउने हो,’ अर्यालले भने–‘विधिबाट सबैभन्दा धेरै अंक पाएर पहिलो हुनेलाई दोस्रो भएकाले प्रस्तावक बनेर निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराउने परिपाटी रास्वपाले यसपटक कार्यान्वयन गर्छ ।’


    भैरहवामा हालै मात्र संसदीय दलको बैठक र रुपन्देही ३ का पालिकाहरुमा पार्टी शीर्ष नेताहरु र सांसदहरु मतदातासंग भेटघाट गर्नुले अहिलेको उप–निर्वाचनलाई रास्वपाले प्रतिष्ठाको विषय बनाएको पुष्टी हुन्छ । 
    पार्टीले सुरु गरेको हस्ताक्षर अभियानपनि चुनाव प्रचारसँगै जोडिएको छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij