युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनमा गएराति भएको फाइनलमा इङ्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो।
दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिएको थियो । खेलको ४७ औ मिनेटमा स्पेनका लागि निको विलियम्सले गोल गरेका थिए ।
७३औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । मैदान प्रवेश गरेको तीन मिनेटमै कोल पालमरले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे।
तर, ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्यो । मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जीत दिलाए । स्पेनले सन् २०१२ पछि उपाधि उचालेको हो । स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरो कप जितेको थियो।
स्पेनको यो चौथो युरो उपाधि हो । यसअघि स्पेन र जर्मनीले समान तीन पटक उपाधि उचालेका थिए । तर, यो कीर्तिमान स्पेनले तोडेको छ ।
इङ्ल्यान्ड भने लगातार दोस्रोपटक युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन ।




