रोल्पा
नेकपा (माओवादी केन्द्र)का उप–महासचिव वर्षमान पुन ‘अनन्त’ले भारत र चीनले नेपाली भूमिलाई प्रयोग गर्ने समझदारी गर्नु आपत्तिको विषय भएको बताएका छन् । मंगलबार रोल्पामा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका पुनले आपसी समझदारीका हिसाबले ट्रान्जिट बनाउन सकिने भए पनि सम्बन्धित देशसँग सरोकारै नराखेर दुई छिमेकी देशले सहमति गर्नु नेपालको स्वाधिनता, सार्वभौमिकता माथिको दख्खल भएको बताए । उनले त्रिदेशिय साझेदारीका हिसाबले ट्रान्जित बनाउन सकिने जनाए ।
नेपाललाई थाहै नदिएर गरिएको सम्झौताविरुद्ध सरकार खरोरुपमा उत्रिनुपर्ने उनको भनाइ छ । ‘सरकारले उत्ताउलो ढंगले होइन, कुटनीतिक ढंगले पहलकदमी लिनुपर्छ,’ पुनले भने–‘सरकारले संयमितरुपमा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहल गरोस् ।’ पुनले राजनीतिक नेतृत्वले धैर्यता र संयमतापूर्वक आफ्नो राष्ट्रिय हितलाई कसरी प्रवर्धन गर्ने भन्ने कुरामा सरकारको स्वभाविक दायित्व हुने बताए । ‘सबै राजनीतिक दललाई विश्वासमा लिने र संयमतापूर्वक पहल लिन म सरकारसँग आग्रह गर्दछु ।’–पुनले भने ।
पुनले अर्का उप–महासचिव जनार्दन शर्मालाई आफ्ना असन्तुष्टि वा फरक मत बाहिरभन्दा पनि पार्टीभित्रै राख्न सुझाव दिएका छन् । ‘आफ्नो धारणा पार्टीमा राख्न मिल्छ, आफ्नो मतलाई पार्टीको आधिकारिक निर्णय बनाउन मिल्छ, तर पार्टीको न्यूनतम नम्स भनेको पार्टीभित्रै कुरा राखौं न भन्ने हो,’ पुनले भने– ‘त्यस कुरामा जनार्दनजीको कुरा मात्र होइन, सबै नेता कार्यकर्ता पार्टी अनुशासनमा बसौं न भन्ने पार्टीको कुरा छ ।’ यसलाई धेरै आश्चर्यको विषय बनाउनुभन्दा पनि स्वभाविकरुपमा पार्टीभित्र छलफल बहस हुने बताए ।
पुनले रवि लामिछानेलाई सरकारले धेरै खेदेको आरोप लगाए । ‘रविको अनुसन्धानमा हाम्रो कुनै रोकावट होइन, त्यस्तै केसमा अरुलाई पनि त्यस्तै गर्नुस् न,’ पुनले सरकारसँग भने– ‘आफ्नो पराई छोड्नुस्, कानुनमा सबै बराबर हो । रवि लामिछाने जस्तै केसमा सबैलाई पुर्पक्षमा राख्ने हो भने ठीक छ, तर एउटै केसमा फरक निर्णय गर्नु न्यायसंगत हुँदैन ।’
पुनले अरुलाई धरौटीमा, तारेखमा राखेर छानबिन गर्न हुन्छ भने रविलाई पनि त्यसै गर्नुपर्ने धारणा व्यक्त गरे । ‘तपाईं सरकारमा रहेका दलहरुको अविवेकी र पक्षपातपूर्ण निर्णयले झन् मान्छेमा वितृष्णा पैदा भइरहेको छ,’ पुनले भने–‘कांग्रेस–एमालेका साथीहरुसँग हाम्रो गुनासो– त्यस्तै केसमा सबैलाई त्यस्तै व्यवहार गर्नुस् न । आफूलाई लागेको आरोपको आफैले फेस गर्नुपर्छ, तर प्रक्रियामा विभेद हुनुभएन ।’ उनले प्रहरी, न्यायालय सबैले पक्षपाती भूमिका देखाउन नहुने जिकिर गरे । भोलि माओवादीकै कार्यकर्ता परे पनि कानुनीरुपले जे न्यायसंगत हुन्छ, त्यही गर्नुस् भन्ने आफ्नो पार्टीको धारणा रहेको उनको भनाइ छ ।




