काठमाडौं । हालैको GENZ आन्दोलनसँगै चर्चामा आएका गोविन्द पन्थी श्रम तथा रोजगार मन्त्रीको उपयुक्त विकल्पको रुपमा युवा पुस्ताले निरन्तर नाम लिन थालेका छन्। युवामाझ उनको लोकप्रियता निम्न कारणले बढेको देखिन्छः
१) नेपाल प्रहरीबाट अवकाशप्राप्त अधिकारी – पन्थी एक वर्षअघि मात्र प्रहरी नायब उपरीक्षक (डिएसपी) को पदबाट अवकाश लिएका हुन्।
२) विदेश पठाउने नाममा हुने ठगीविरुद्ध कठोर कारबाही – उनी प्रहरी निरीक्षकको रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा (२०७१ साल) युवाहरूमाथि ठगी गर्ने मेनपावर र कन्सल्टेन्सीलाई निर्भीकताका साथ कानुनी कारबाहीमा ल्याउँदा युवाको मन जितेका थिए।
३) मानव तस्करीविरुद्ध साहसी अनुसन्धान – २०७९ सालमा पुनः अपराध अनुसन्धान कार्यालयमा पुगेपछि उनले भुटानी शरणार्थी प्रकरण र भिजिट भिसाको नाममा हुने मानव तस्करीमा अनुसन्धान गर्दै ९ जना अध्यागमन अधिकृत, ४० जना दलाल, कन्सल्टेन्सी, ट्राभल व्यवसायी र राजनीतिक नेतासमेतलाई कानुनी कठघरामा ल्याए। तर मन्त्रीस्तरसम्म पुग्ने फाइल खोलेपछि उनको सरुवा भएको थियो। यसले उनलाई युवामाझ थप लोकप्रिय बनायो।
४) सामाजिक अभियानमा सक्रियता – अवकाशपछि उनले "सरोकार केन्द्र" नामक संस्था स्थापना गरी विदेशमा अलपत्र परेका, बेचिएका महिलाको उद्धार तथा कानुनी कारबाहीमा सक्रिय भूमिका खेल्दै निरन्तर सामाजिक काममा लागे।
५) निशुल्क कानुनी सेवा – हाल अधिवक्ताको रुपमा सक्रिय पन्थीले आर्थिक अभावका कारण न्याय नपाउनेहरुलाई निःशुल्क कानुनी सेवा दिइरहेका छन्।
६) युवाप्रति आकर्षक विचार र लेखन – उनी समय–समयमा अन्यायविरुद्ध निर्भीक लेख र अभिव्यक्ति सार्वजनिक गर्ने गरेका छन्, जसलाई युवापुस्ताले रुचाइरहेको छ।
७) GENZ आन्दोलनसँग सहानुभूति – GENZ को आन्दोलनका क्रममा उनले सामाजिक सञ्जाल र प्रत्यक्षरुपमै सल्लाह, सुझाव र समर्थन जनाएका थिए।
८) साखु घटनामा साहसिक भूमिका – आन्दोलन भड्काउन खोज्ने तत्वले प्रहरीलाई जलाउन खोज्दा उनी स्वयं साखु पुगेर आन्दोलनकारीलाई सम्झाउने र प्रहरीलाई सुरक्षित निकाल्न भूमिका खेले। यसले ठूलो क्षति हुनबाट जोगियो।
९) अनुसन्धान सार्वजनिक गर्ने साहस – भिजिट भिसा प्रकरणमा संकलित प्रमाण सार्वजनिक गरेपछि संसदमै उनको चर्चा भयो। रास्वपाले समेत संसद अवरुद्ध गर्दै कारबाहीको माग गर्दा उनी थप चर्चामा आए।
१०) प्रहरी संगठनभित्र न्यायको पक्षमा आवाज – १४ जना प्रहरीलाई गैरकानुनी नजरबन्दमा राखिएको विरोध गर्दै उनले आवाज उठाएपछि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति नै निकाल्नुपरेको थियो।
११) युवाको प्रत्यक्ष समर्थन – GENZ का युवाहरुले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै “पन्थी जस्ता निर्भीक अधिकारी किन प्रहरी संगठनमा राखिँदैन?” भनी प्रश्न उठाएका थिए।
यसरी मानव तस्करको सातो उडाउन सक्ने, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सक्ने र पिडित युवाको पीडा बुझ्ने व्यक्तिका रुपमा गोविन्द पन्थीलाई श्रम तथा रोजगार मन्त्रालयको लागि उपयुक्त पात्र ठान्ने गरिएको बुझाइ बढ्दै गएको छ।




