बुटवल । नेकपा माओवादी केन्द्रले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको महाधिवेशन आयोजक कमिटीको सचिवालय बैठकले चुनावमा जाने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चुनावमा जाने निर्णय गरेको र अरू दलसँग पनि संवाद गरिरहेको जानकारी दिए ।
बैठकपछि नेता अग्निप्रसाद सापकोटाले पनि निर्वाचनलाई सफल बनाउनेबारे पार्टीमा छलफल भएको जानकारी दिए ।
‘निर्वाचनलाई सफल पार्न संसद्मा भएका पार्टीसँग छलफल भइरहेको छ । हाम्रो पार्टीले निर्वाचन घोषित मितिमा गर्न र सफल बनाउन नेतृत्वदायी भूमिका खेलेको छ,’ सापकोटाले भने, ‘निर्वाचनमा जानका लागि अरू पार्टीसँग छलफल गरिरहेका छौं । अरू पार्टी पनि सकारात्मक छन् । चुनावमा जान आम सहमति जस्तो छ । माओवादीले पनि जोडबल गरिरहेको छ ।’
चुनावबाट मात्रै अहिले परिस्थिति लयमा आउने माओवादीको विश्वास छ । आफूहरूले बैठक गरेर भएका कमजोरीको समीक्षा गरेको भन्दै माओवादीले अरू दल पनि समीक्षाका लागि अग्रसर हुनुपर्ने बताएको छ ।
दुई दिनपछि फेरि सचिवालय बैठक बस्ने र विशेष महाधिवेशनको विषयमा आवश्यक छलफल गर्ने निर्णयसहित आजको बैठक सकिएको छ ।




