भैरहवा । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव तोकिएकै समयमा हुने बताएका छन् । उनले सरकारले तोकिएको समयमै चुनाव गर्नका लागि सबै तयारी गरेकोले चुनावको वातावरण बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले भने–‘विभिन्न बहाना देखाएर चुनाव हुँदैन । यो सरकारले गर्न सक्दैन भन्ने भ्रम छरिंदै छ, सरकारले काम र भूमिकाबाट त्यसको जवाफ दिन्छ ।’
उनले यो सरकार कसैको निगाहमा नबनेको प्रष्ट पारे । ‘जेनजी मुभमेन्टको जगमा बनेको सरकार हो । इच्छा र अपेक्षाभन्दा पनि देशको विशिष्ट अवस्थामा शून्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी दिएकोले आएको हो र प्राप्त जिम्मेवारीलाई अर्जुनदृष्टिमा राखी हासिल गर्नेमा सरकार दृढ छ ।’–उनले भने ।
उनले सुशासनको जग बलियो बनाउने, बिगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए । भयरहित, निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले सातै प्रदेशमा गोष्ठी गरेको उनले बताए । उनले प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, आवश्यक रणनीति तय गर्ने र निर्वाचनको लागि आवश्यक तयारी गर्ने बताए । लुम्बिनी गौतमबुद्धको जन्मस्थल भएकोले शान्ति र अहिंसाको सन्देश दिनुपर्छ भनेर यहीबाट गोष्ठीको सूरुवात गरेको उनले जनाए ।
‘शान्ति सुव्यवस्था कायम एवं निर्वाचनको वातावरण कायम गर्न प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहन्छ । सरकारले निर्वाचन पूर्व, निर्वाचन अवधि र पश्चातका कार्यहरुमा समेत सक्रियता रहने गरी संयन्त्र बनाएको छ ।’–उनले भने ।
गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकाले पनि सुदृढ प्रादेशिक योजना तयार गरी कार्यान्वयनमा ल्याउनेमा विश्वस्त रहेको बताए । राजनैतिक दलले लुटिएको हतियार र फरार कैदीलाई सुरक्षा चुनौतीको रुपमा राखे पनि हामीले धेरै परिणाममा विशेष अप्रशेनमार्फत् हतियार फिर्ता र फरार कैदी फिर्ता गरेको उनले बताए । गोष्ठीले थप समीक्षा गरी प्रभावकारी योजना र रणनीति बनाउने उनले जनाए ।
उनले लुम्बिनी राजस्व चुहावटको दृष्टिले जोखिम क्षेत्र रहेको सुशासनको जगमा बनेको सरकारले चुहावट नियन्त्रणमा शून्य शहनशीलताको नीति अवलम्बन गरेको जानकारी दिए । राजस्व चुहावट नियन्त्रणमा सरकारी संयन्त्रको संलग्नताको कमी कमजोरीहरु बाँकी छन् भने अन्त्य हुनुपर्ने उनको भनाइ छ । राजस्व चुहावटमा कुनै पनि कमी कमजोरी नरहने र विशेष निगरानी हुने र गर्दै आएको उनले बताए । गैरकानुनी क्रियाकलापलाई कानुनको दायरामा ल्याउन र जुनसुकै आवरणमा हुने गलत कामलाई रोक्न निर्देशन दिँदै माथिल्लो तहबाट हस्तक्षेप नहुने अर्यालले प्रष्ट पारे ।
लुम्बिनी प्रदेशमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न ७८ जनालाई नियन्त्रणमा लिई कानुनको दायरामा ल्याएको उनले बताए । ‘दण्डहीनता स्वीकार्य हुँदैन । पहिलो कुरा सुरक्षा हो, त्यसपछि समृद्धिलगायतको कुरा हुन्छ ।’–उनले भने ।
चोरी तस्करी बढ्यो मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश भित्र तस्करी मौलाएकोले नियन्त्रणको पहलकदमी लिनुपर्ने बताए । ‘चोरी नियन्त्रण हुन नसक्दा राजस्वमा गम्भीर असर परेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्छ ।’–उनले भने ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा रहेका भन्सार कार्यालयहरुबाट दिनदहाडै अवैध रुपमा सामान भित्रिने गरेको, प्रदेशभित्र तस्करी मौलाउँदा व्यापक रुपमा राजस्व चुहावट भइरहेको बताए ।
नेपाल–भारत सीमा क्षेत्रका भन्सारहरूमा राजस्व चुहावट भइरहेको र नियन्त्रण हुन नसकेको विषयमा सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराए । ‘सीमामा सुरक्षाकर्मी र भन्सार कर्मचारी छन् । तै पनि चोरी निकासी रोकिन सकेको छैन । यसले राजस्वमा गम्भीर असर पु¥याएकाले त्यसलाई नियन्त्रण गर्नुपर्छ ।’–उनले भने ।
ट्राफिक प्रहरीले चेकजाँचको नाममा सास्ती दिने गरेको भन्दै ट्राफिक चेकजाँचलाई व्यवस्थित गरी पर्यटकहरूलाई अनावश्यक झन्झट दिन नहुने उनले बताए । उनले सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउनुपर्नेमा जोड दिए । उनले सुशासन कायम गर्न प्रदेश सरकार रणनीतिक योजना बनाएर अघि बढेको जनाए । बैठकमा गृहमन्त्री अर्याल, मुख्यमन्त्री आचार्य, प्रदेशका मुख्यसचिव, गृह सचिव, नेपाल र सशस्त्र प्रहरीका संगठन प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, प्रदेशका १२ वटै जिल्ला सुरक्षा समिति पदाधिकारीकोे सहभागिता रहेको थियो ।




