२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दल शुद्धीकरण नै राज्य रूपान्तरणको आधार हो

दल शुद्धीकरण नै राज्य रूपान्तरणको आधार हो

पार्टीभित्रैबाट सुरु हुने अन्तिम संघर्ष अपरिहार्य छ

दल शुद्धीकरण नै राज्य रूपान्तरणको आधार हो

दल शुद्धीकरण नै राज्य रूपान्तरणको आधार हो

पार्टीभित्रैबाट सुरु हुने अन्तिम संघर्ष अपरिहार्य छ

दल शुद्धीकरण नै राज्य रूपान्तरणको आधार हो
लेखक ज्ञवाली नेकपा एमाले बुटवल उपमहानगर कमिटि निवर्तमान अध्यक्ष हुन् ।
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • नेपालको संविधान बहुदलीय लोकतान्त्रिक व्यवस्थामा आधारित छ। संविधानले दललाई राज्यसत्तामा पुग्ने वैधानिक माध्यम मात्र मानेको छैन, दललाई लोकतन्त्रकको मेरुदण्डका रूपमा स्वीकार गरेको छ। त्यसैले दल जस्तो हुन्छ, देश पनि त्यस्तै हुन्छ भन्ने कुरा कुनै भावनात्मक नारा होइन, वस्तुगत यथार्थ हो। दलहरू विचार, नीति, विधि, आचरण र आन्तरिक लोकतन्त्रमा कति सशक्त छन् भन्ने कुराले नै राज्यको चरित्र निर्धारण गर्छ।

    आज नेपालमा देखिएको राज्यको अव्यवस्था, भ्रष्टाचार, संस्थागत पतन, नीति विचलन र जनताप्रतिको बेवास्ता कुनै आकस्मिक घटना होइन। यसको जरो दलभित्र मौलाएको सिन्डिकेट, दासत्व, व्यक्तिवाद र सत्ता–पूँजीको अपवित्र गठजोडमा गहिरो गरी गाडिएको छ। त्यसैले यी प्रवृत्तिविरुद्धको अन्तिम र निर्णायक लडाइँ पार्टीभित्रैबाट सुरु नगरी बाहिरबाट लडिन्छ भन्ने सोच स्वयं भ्रम हो।

    १. दल र राज्य : ऐनाजस्तै सम्बन्ध

    दलहरू राज्यसत्तामा पुग्ने सिँढी मात्र होइनन्, राज्य सञ्चालनको चरित्र निर्माण गर्ने प्रयोगशाला हुन्। दलभित्र यदि निर्णय प्रक्रिया पारदर्शी छैन, विचारभन्दा व्यक्ति बलियो छ, विधिभन्दा आदेश चल्छ भने त्यही प्रवृत्ति सरकार र राज्यमा प्रतिलिपि भएर जान्छ।

    दल अव्यवस्थित छ भने सरकार व्यवस्थित हुनै सक्दैन। दल नै मर्यादित छैन भने राज्यबाट मर्यादा खोज्नु आत्म-वच्कना हो। त्यसैले “दल व्यवस्थित बनाऔँ, देश आफैं व्यवस्थित बन्छ” भन्ने भनाइ राजनीतिक दर्शनकै तहमा सत्य हो र एउटा आदर्श पनि हो ।

    २. दलभित्रको सिन्डिकेट र दासत्व

    आज धेरै दलहरू विचारका आधारमा होइन, सिन्डिकेटका आधारमा चलिरहेका छन्। सीमित व्यक्तिहरूले दल कब्जा गरेका छन्। नीति, विधान र सामूहिक निर्णय प्रक्रियालाई निष्क्रिय बनाइँदै गएको छ।

    दलभित्र दुई वर्ग निर्माण गरिएको छ—

    एक वर्ग : मालिक वर्ग
    जसले पद, टिकट, स्रोत, निर्णय सबै नियन्त्रण गर्छ

    अर्को वर्ग : दास वर्ग
    जसले ताली बजाउने, झण्डा बोक्ने र आदेश पालना गर्ने काम मात्र गर्छ

    यस्तो संरचनाले सक्षम, इमानदार र वैचारिक कार्यकर्ता उत्पादन गर्न सक्दैन। यसले केवल आज्ञाकारी दास उत्पादन गर्छ। दासले नेतृत्व गर्न सक्दैन, दासले परिवर्तन ल्याउन सक्दैन।

    ३. सक्षम नेतृत्व र परिणामको सम्बन्ध

    इतिहासले प्रमाणित गरेको सत्य के हो भने जहाँ सक्षम, नैतिक र विचारनिष्ठ नेतृत्व हुन्छ, त्यहाँ परिणाम पनि सकारात्मक हुन्छ। तर हाम्रो दलहरूमा क्षमता होइन, चाकडी; योगदान होइन, निकटता; विचार होइन, भक्ति मूल्यांकनको मापदण्ड बनेको छ।
    यसको प्रत्यक्ष असर राज्यमा देखिन्छ— जस्तै 

    👉️अयोग्य मन्त्री
    👉️असक्षम प्रशासक
    👉️नीति भन्दा स्वार्थ प्रधान
    👉️जनताभन्दा शक्ति केन्द्रप्रति उत्तरदायी सरकार

    यसरी दलभित्रको गलत नेतृत्व छनोटले राज्यलाई असफल बनाउँछ।

    ४. सरकार र दलबीचको विकृत सम्बन्ध
    सैद्धान्तिक रूपमा सरकार दलको नीतिअनुसार चल्नुपर्छ। तर व्यवहारमा उल्टो भएको छ—सरकारको स्रोत, शक्ति र दुरुपयोगले दल कब्जा गरिन्छ।

    👉️राजकीय पदको हुर्मत दिएर—
    👉️दलको नेतृत्व नियन्त्रण गर्ने
    👉️संगठन कब्जा गर्ने
    👉️विरोधी आवाज दबाउने
    👉️विधान मिच्ने

    जस्ता कार्य खुलेआम भइरहेका छन्। यसले दललाई विचारको संस्था होइन, सत्ताको एजेन्सी बनाइदिएको छ।

    ५. नीति–विधि विहीन कार्यकर्ता उत्पादन

    दलभित्र नीति, विधि र सामूहिक नेतृत्व विकास गर्ने सट्टा एकल अधिपत्य जमाउने प्रवृत्ति हावी छ।

    यसका परिणाम:

    👉️बहस गर्ने कार्यकर्ता होइन, आदेश पालना गर्ने कार्यकर्ता
    👉️विचार निर्माण गर्ने नेता होइन, भाषण पढ्ने पात्र
    👉️संस्थागत उत्तरदायित्व होइन, व्यक्तिगत निष्ठा
    यस्तो दलबाट लोकतान्त्रिक राज्य निर्माण असम्भव हुन्छ।

    ६. सत्ता, सम्पत्ति र कालोधन

    दलको नाममा सत्तामा पुग्ने, सत्ताको दुरुपयोग गरेर अकूत सम्पत्ति कमाउने र त्यस सम्पत्तिलाई विभिन्न व्यापार, ठेक्का, र कम्पनीमार्फत सेतो बनाउने प्रवृत्ति संस्थागत बन्दै गएको छ।

    यो केवल आर्थिक अपराध होइन, यो राजनीतिक अपराध हो। किनकि—

    👉️यसले नीति किनिन्छ
    👉️निर्णय प्रभावित हुन्छ
    👉️राज्य दलालको हातमा जान्छ
    👉️अन्ततः जनता सधैं रैती नै रहन्छ।

    ७. जनता र कार्यकर्ता : दास र रैती

    जब दलभित्र कार्यकर्ता दास बन्छ, राज्यमा जनता रैती बन्छ। निर्णय माथिबाट थोपारिन्छ, जनताको आवाज सुनिँदैन। निर्वाचन केवल औपचारिकता बन्छ। लोकतन्त्र नामको खोलभित्र सामन्ती अभ्यास चल्छ।
    यो अवस्थाको निरन्तरता देशका लागि घातक छ।

    ८. शक्ति केन्द्रसँगको लस्पस

    आन्तरिक रूपमा कमजोर र विचारविहीन दलहरू सधैं बाह्य शक्ति केन्द्रको सहारामा टिक्न खोज्छन्—चाहे त्यो आर्थिक, कूटनीतिक वा अदृश्य शक्ति किन नहोस्।

    यसले—

    👉️राष्ट्रिय स्वाधीनता कमजोर बनाउँछ
    👉️नीति निर्माणमा हस्तक्षेप बढाउँछ
    👉️दललाई आत्मनिर्भर होइन, परनिर्भर बनाउँछ

    ९. अन्तिम लडाइँ किन पार्टी भित्रै बाट?

    यी सबै विकृतिहरूको मूल थलो दल स्वयं हो। त्यसैले दल शुद्ध नगरी राज्य शुद्ध हुँदैन। बाहिरबाट गाली गरेर, आलोचना गरेर, वा विकल्पको नारा लगाएर मात्र समाधान हुँदैन।

    वास्तविक क्रान्तिकारी दृष्टिकोण भनेको—

    👉️दलभित्रै बसेर
    👉️नीति, विधि र विधानको पक्षमा उभिएर
    👉️सिन्डिकेट, व्यक्तिवाद र भ्रष्टाचारको प्रतिरोध गर्दै
    👉️सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रको लागि संघर्ष गर्नु हो

    यो संघर्ष सजिलो छैन। यसमा पद गुम्न सक्छ, अवसर खोसिन सक्छ, चरित्र हत्या हुन सक्छ। तर इतिहास परिवर्तन सधैं जोखिम लिनेहरूले नै गरेका छन्।

     निष्कर्ष : 
    क्रान्ति बाहिर होइन, भित्रबाट

    आजको सन्दर्भमा सबैभन्दा क्रान्तिकारी काम भनेकै—दललाई दास उत्पादन केन्द्रबाट विचार उत्पादन केन्द्रमा रूपान्तरण गर्नु हो
    दलभित्र लोकतन्त्र स्थापनाका लागि लड्नु नै देशप्रतिको सच्चा देशभक्ति हो। पार्टीभित्रैबाट लड्ने आँट, वैचारिक स्पष्टता र नैतिक दृढता बिना कुनै पनि वैकल्पिक राजनीति सफल हुँदैन।
    त्यसैले अब प्रश्न बाहिर लड्ने कि भित्र भन्ने होइन।
    प्रश्न यति हो—
    के हामी पार्टीभित्रैबाट अन्तिम संघर्ष लड्न तयार छौँ?
    💪जय स्वाभिमान , 
    💪जय देस
    💪 जय एमाले 
    💪जय जबज
    लाल सलाम

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij