काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताएका छन् । एमालेको मुख्यालय च्यासलमा अनुगमनको क्रममा पुगेका खरेलले एमाले निर्वाचनमा भाग लिन तयार भएको बताएका हुन् ।
"आज अलिकति खुलेर कुराहरू हामी दुवै पक्षबीच भएको छ," मन्त्री खरेलले भने, "वातावरण बनाउनुस्, हामी निर्वाचनमा भाग लिन्छौँ, भन्ने कुरा नेकपा एमालेको महासचिवबाट स्पष्ट रूपमा आएको छ ।"
सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्दै मन्त्री खरेलले एमाले तथा राजनितिक दलहरूलाई निर्वाचनमा प्रचारप्रसार लगायतका बातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
स्वतन्त्र, भयरहीत र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने उनको भनाइ छ । एमालेले समेत निर्वाचनमा भाग लिने बताएसँगै देश निर्वाचनमय बनेको खरेलको तर्क छ ।
PSF
"चुनावको लागि नेकपा एमाले पनि तयार भएको र सरकारले पनि वातावरण बनाउने कुराहरूमा त्यही रूपमा तयारी अगाडि बढाएको हिसाबले अब मुलुक चुनावमा होमियो र चुनाबमा अगाडि बढ्यो," खरेलले भने ।
मन्त्री खरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्न सक्ने संकेत गरे । एमालले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाएपछि सरकारले पनि निर्वाचनको वातावरण बनाउन सकेसम्मको लचकता अपनाउने उनको भनाइ छ ।
भदौ २३ र २४ गतेको घटना छानबिन आयोगले पनि काम गरिरहेको सन्दर्भमा सरकारले आफ्नो कार्यक्षेत्रमा र अधिकारले मिल्नेसम्म निर्वाचनको लागि स्थानहद हटाउने लगायतका विषयका काम गर्ने उनले जानकारी दिए ।
"कहाँ-कहाँ सरकार लचक हुनसक्छ, यी ठाउँहरूमा सरकारको आफ्नो अधिकार क्षेत्र र जिम्मेवारी, सरकारको जहाँ छ, जे गर्न सक्छ, त्यो भन्ने अवस्थामा सरकारको तर्फबाट सबै प्रकारको वातावरण बनाउन सरकारले काम गर्छ," मन्त्री खरेलले भने ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातवरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको र सरकारले त्यसलाई सकरात्मक रूपमा लिएर काम अगाडि बढाउने बताए । अहिलेको राजनीतिक निकास निकाल्न निर्वाचन बाहेक अर्को विकल्प नभएको उनको भनाइ छ ।
स्थानहदको विषयमा यस्तो छ मन्त्री खरेलको भनाइ :
जब तपाईं हामी देश नै सबै चुनावको लागि तयार भयो भने सरकारले चुनावमा भाग लिने राजनितिक दललाई र तीनका नेताहरूलाई त्यो वातावरण त सरकारले दिनुपर्यो । तर, सबभन्दा पहिला चुनावमा भाग लिने कुराहरुको स्पष्ट रूपमा राजनितिक दलबाट खास गरेर नेकपा एमालेबाट आज आएको अवस्था छ । त्यो अवस्थालाई सरकारले सकरात्मक रूपमा लिएको छ ।
जहाँसम्म स्थानहदका कुराहरू छन् । नेतृत्वको सन्दर्भमा अथवा विभिन्न नेताहरूको सन्दर्भमा स्थानहदको सन्दर्भमा त एकातिर आयोगले काम गरिरहेको छ, अर्कोतिर सरकारले पनि त्यो काम गरिरहेको भएर यहाँहरूलाई हामी के भन्न चाहन्छौँ भने चुनाव हाम्रो महायज्ञ हो, महोत्सव हो । सुशासन अर्को महत्त्वपूर्ण प्राथमिकता हो । भ्रष्टाचार नियन्त्रण गर्ने कुरा यो सरकारले म्यान्डेट लिएको छ भनेदेखि यी बाँकी कुराहरुको सन्दर्भमा यी महत्त्वपूर्ण कुराहरूलाई आत्मसाथ गर्दै कहाँ-कहाँ सरकार लचक हुनसक्छ, यी ठाउँहरूमा सरकारको आफ्नो अधिकार क्षेत्र र जिम्मेवारी, सरकारको जहाँ छ, जे गर्नसक्छ, त्यो भन्ने अवस्थामा सरकारको तर्फवाट सबै प्रकारको वातावरण बनाउन सरकारले काम गर्छ ।




