लोकतन्त्र एकै चोटि ,तथास्तु बरदान पाए जस्तै ,कुनै रातारात प्राप्त हुने उपलब्धि होइन। यो त एउटा कोपिला हो ,जसलाई समय, धैर्यता, नैतिकता र सामूहिक उत्तरदायित्वले मात्र फक्रिन, फुल्न र फल्न दिन सकिन्छ। लोकतन्त्रलाई केवल मतदानको प्रक्रियामा मात्र सीमित गरियो भने, त्यो सरिरको छाला मात्र बाँकी रहन्छ; आत्मा हराउँछ। वास्तविक लोकतन्त्र भनेको विधि, मूल्य, संस्कार र आचरणको समष्टि हो, जसले असल नैतिकता, समानता, समावेशिता र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने संस्कारलाई संस्थागत गर्छ।
लोकतन्त्र त्यस्तो राजनीतिक विधि हो, जहाँ देशको समृद्धि र जनताको उन्नति–प्रगति बुझ्ने, नैतिक रूपमा सक्षम, विचारमा परिपक्व र व्यवहारमा उत्तरदायी नेतृत्व प्रतिस्पर्धाबाट छनोट हुन्छ। तर प्रतिस्पर्धा स्वयं उद्देश्य होइन; प्रतिस्पर्धा त श्रेष्ठता छान्ने माध्यम मात्र हो। यहाँबाट लोकतन्त्रको पहिलो र आधारभूत सिद्धान्त सुरु हुन्छ।
१. उत्कृष्टताबाट श्रेष्ठता हासिल गर्ने संस्कार
लोकतन्त्रको सार “संख्या” होइन, “क्षमता” हो। उत्कृष्ट विचार, स्पष्ट दृष्टि, नैतिक आचरण र कार्यकुशलताबाट मात्रै श्रेष्ठता हासिल गर्न सकिन्छ। लोकतान्त्रिक प्रतिस्पर्धा भनेको अर्कोलाई हराउने खेल होइन; यो त देश र जनताका लागि को उत्कृष्ट छ भन्ने छान्ने प्रक्रिया हो। जहाँ उत्कृष्टतालाई विस्थापित गरेर लोभ, लालच, जात,धर्म , साम्प्रदायिक गुट र पैसाले जित्न थाल्छ, त्यहाँ लोकतन्त्रको आत्मा क्षीण हुन्छ।
२. श्रेष्ठताले सबैको प्रतिनिधित्व गर्ने दायित्व
लोकतन्त्रमा जित्नेले केवल आफ्नो समर्थकको होइन, सम्पूर्ण समाजको प्रतिनिधित्व गर्छ। श्रेष्ठता हासिल गरेको नेतृत्वले “म जितेँ” होइन, “हामी अघि बढ्यौँ” भन्न सक्नुपर्छ। विजयी नेतृत्वले अल्पमतको पीडा बुझ्नुपर्छ, उनीहरूको आवाजलाई राज्य र संगठनको मूलधारमा समेट्नु पर्छ। यही बिन्दुमा लोकतन्त्र अधिनायकवादबाट अलग हुन्छ। यो चेतना नै लोकतन्त्रको मुटु हो जस्ले लोकतन्त्र प्रती आम जनताको बिस्वस्नियता र भरोसा जगाउछ।
३. अल्पमतको रचनात्मक भूमिका
लोकतन्त्रमा पराजय हार होइन; त्यो अर्को कार्यकालको तयारी हो। अल्पमतमा परेकाहरूले विजयी नेतृत्वलाई असफल बनाउन होइन, सफल बनाउन सघाउने संस्कार विकास गर्नुपर्छ। आलोचना, आत्मालोचना लोकतन्त्रको गहना हो, तर त्यो आलोचना राष्ट्रहित र प्रणाली सुदृढीकरणका लागि हुनुपर्छ, बदला र विघटनका लागि होइन। जसले नेतृत्व लाई संजिबनी बुटि प्रदान गर्छ , नेतृत्व वा पदिय जिम्मेवारी ले जन्माउने अहंकार लाई थाहा पाएर नेतृत्व लाई आफुलाइ स्व मुल्यांकन गर्न, जाँच गर्न , जनता प्रतिको सन्तुलन कायम गर्न मद्दत पुर्याउछ ।
४. पराजयलाई सहज स्वीकार गर्ने नैतिक साहस
लोकतन्त्रको सबैभन्दा कठिन तर सबैभन्दा सुन्दर मूल्य भनेकै पराजय स्वीकार गर्ने साहस हो। जित्दा लोकतन्त्र ठीक, हार्दा विकल्प खोज्ने प्रवृत्ति लोकतान्त्रिक अपरिपक्वताको द्योतक हो। पराजयलाई सम्मानका साथ स्वीकार गर्न सक्ने समाज मात्र दीर्घकालीन रूपमा स्थिर र समृद्ध हुन्छ र कालान्तरमा त्यो समाजमा मात्र लोकतन्त्र असल सस्कृती र सस्कारको रुपमा स्थापित भएर रहन्छ ।
५. लक्ष्य, कार्ययोजना र सामूहिक टिम–इफोर्ट
लोकतान्त्रिक नेतृत्व भावनामा होइन, लक्ष्यमा केन्द्रित हुनुपर्छ। स्पष्ट लक्ष्य, व्यवहारिक कार्ययोजना र सबैलाई अपनत्व हुने सामूहिक टिम–इफोर्ट नै लोकतन्त्रको कार्य-संस्कृति हो। निर्वाचनपछि पक्ष–प्रतिपक्षीको भावना बोकिरहनु लोकतन्त्र होइन; विजयी नेतृत्वले सबैलाई समेटेर लैजानु नै लोकतान्त्रिक परिपक्वता हो। जसले गर्दा प्रतिस्पर्धाका बेला देखिएका भएका तिक्तता हरुलाइ समेत मेटाएर ब्याक्ती लाई माहानता तिर लैजान्छ ।जसले विधि लाई स्थापित गराउछ भने ब्याक्ती गौण हो मोहोरा मात्रहो सिस्टम प्रधान हो भन्ने सामुहिक भावनाको जगेर्ना गर्दछ ।
६. पराजय पनि लोकतन्त्रकै मूल्य हो
लोकतन्त्रमा जित र हार दुवै मूल्य हुन्। हारलाई अपमान ठान्ने समाज लोकतान्त्रिक हुन सक्दैन। आज हार्ने भोलि जित्न सक्छ, आज जित्ने भोलि हार्न सक्छ—यही चक्र स्वीकार्नु नै लोकतान्त्रिक चेतना हो। जुन चेतनाले गर्दा पराजित हुदा पनि मानिस नकारात्मक सोच बोकेर बिगार्न र आफुले बनाएको धरातल भत्काउन हिड्दैन ।
७. निर्णयसम्म असहमति, निर्णयपछि एकता
नेतृत्व नछानुन्जेल असहमति स्वाभाविक मात्र होइन, आवश्यक पनि हो। तर एकपटक विधिसम्मत रूपमा निस्चित समय सम्म का लागि नेतृत्व चयन भएपछि त्यसलाई मान्नु लोकतन्त्रको अनुशासन हो। निरन्तर अस्वीकार, अवज्ञा र असहयोग लोकतन्त्र होइन; त्यो अराजकताको संकेत हो भने नेतृत्वले गल्ती कमजोरी गर्दा झक्झ्क्याउनु दायित्व हो । त्यसैले सहयोग संगै watch - Dog को भुमिकाले लोकतन्त्र लाई निरंकुश हुन बाट बचाएर सहि बाटोमा हिडाउछ त्यो सस्कार नै लोकतन्त्र को सुन्दरता हो ।
८. प्रतिस्पर्धालाई आत्मदर्पण बनाउने संस्कृति
परिणामलाई सहज स्वीकार गर्दै, एकले अर्काको अनुहारमा आफ्नो अनुहार देख्न सक्ने संस्कृति लोकतन्त्रको उच्चतम अवस्था हो। आज अर्काको जितमा आफ्नो कमजोरी खोज्ने र भोलि आफूलाई सुधार्ने संस्कार विकास गर्न सकिएन भने लोकतन्त्र केवल औपचारिक रहन्छ। यदि त्यसो गर्न सकियो भने समाज मा पनि सहिष्णु भावको बिकास हुन्छ र हाम्रो जस्तो विविधता युक्त देसमा त बिभिधता भित्रको एकताको सेतु बनेर सस्कृती को रुपमा लोकतन्त्रको बिकास हुन्छ , जसले समाजमा भाइचाराको सम्बन्ध लाई सधै स्थापित गराइ रहन्छ ।
९. लोकतन्त्रप्रतिको अपरिपक्व दृष्टिकोण
आफू जित्दा वा केन्द्र भागमा रहदा लोकतन्त्रलाई पवित्र व्यवस्था ठान्ने र आफू हार्दा वा पावर बाट दायाँ-बायाँ हुदा त्यसैलाई दोषी ठहर गर्दै विकल्प खोज्ने मानसिकता लोकतान्त्रिक चेतनाको गम्भीर अभाव हो, लोकतान्त्रिक अन-म्याचुरिटी हो यस्तो सोचले लोकतन्त्रलाई मूल्य होइन, व्यक्तिगत स्वार्थ पूरा गर्ने साधनमा सीमित गर्छ। लोकतन्त्र व्यक्तिको सुविधा अनुसार मोडिने प्रणाली होइन; व्यक्ति स्वयं लोकतान्त्रिक नियम, परिणाम र अनुशासनअन्तर्गत बाँधिनुपर्ने हो। पराजय स्वीकार्न नसक्ने, प्रक्रिया भन्दा परिणामलाई मात्र मान्ने प्रवृत्तिले लोकतन्त्रलाई संस्थागत होइन, अस्थिर बनाउँछ। लोकतन्त्र तब मात्र बलियो हुन्छ जब व्यक्ति जित–हार भन्दा माथि उठेर प्रणालीप्रति निष्ठावान् बन्छ।
१०. गरिबी, अशिक्षा र पहिचानको दुरुपयोग
गरिबी, अशिक्षा, जातीयता, साम्प्रदायिकता, भूगोल र भूराजनीतिक ब्ल्याकमेल प्रयोग गरेर लोकतन्त्रलाई डिरेल गर्नु सबैभन्दा खतरनाक अपराध हो। यसले लोकतन्त्रप्रतिको विश्वास घटाउँछ र समाजलाई स्थायी विभाजनतर्फ धकेल्छ।
हाम्रो जस्तो बिकासोन्मुख मुलुकमा यहि कारण लोकतन्त्र बारम्बार कोपभाजन मा पर्ने गर्दछ । त्यसैले लोकतन्त्र को मैदानमा खेल्ने खेलाडी हरु कम्तिमा लोकतन्त्रको मर्यादा ,आदर्श , नैतिकता लाई आत्मबोध गर्दै आत्मा-अनुसासित भएर खेलमा सहभागिता जनाउनु पर्दछ ।
११. जालझेल र भिडतन्त्रको भ्रम
जालझेल, षड्यन्त्र र असंवैधानिक अभ्यासले लोकतन्त्रलाई “अराजक तन्त्र” वा “भिडतन्त्र” हो भन्ने भ्रम सिर्जना गरिरहन्छ । वास्तवमा अराजकता लोकतन्त्रको परिणाम होइन; त्यो लोकतन्त्रको विकृति हो भन्ने गहिरो बोध गरि हरेक पाइलामा सचेतना अपनाउदै आफुले खेल्ने खेलमा फल्ड नगरी स्वस्थ ढंगले खेल्ने प्रतिबद्धता जाहेर गर्नु अनिवार्य हुन्छ ।
१२– संस्थागत जवाफदेहिता
लोकतन्त्रको वास्तविक शक्ति व्यक्ति होइन, संस्था हो। व्यक्ति बदलिन्छन्, सत्ता आउँछ–जान्छ, तर संस्था स्थायी उत्तराधिकारका रूपमा रहि रहन्छ। त्यसैले लोकतन्त्रमा जवाफदेहिता व्यक्तिको नैतिकतामा होइन, संस्थागत संस्कारमा आधारित हुनुपर्छ। सत्तामा हुँदा मात्र होइन, सत्ता बाहिर हुँदा पनि संस्थाप्रति उत्तरदायी हुने चेतना नै लोकतान्त्रिक परिपक्कता हो। “आज निर्णय गर्ने संस्था भोलि म स्वयंले जवाफ दिनुपर्ने संरचना हो” भन्ने बोध विकास नभएसम्म संस्था केवल नाममात्र रहन्छ। अपनत्वसहितको जवाफदेहिताले संस्थालाई बलियो बनाउँछ, र बलियो संस्थाले नै लोकतन्त्रलाई दीगो बनाउछ ।
१३. लोकतन्त्रलाई निजी स्वार्थमा केन्द्रित गर्ने प्रवृत्ति
लोकतन्त्रलाई “आफू र आफ्ना मान्छे जसरी पनि स्थापित हुनैपर्छ” भन्ने सोचले निर्देशित गर्दा लोकतन्त्र को हत्या हुन्छ र लोकतान्त्रिक प्रक्रिया स्वार्थको साधनका रुपमा रूपान्तरण हुन्छ। यस्तो प्रवृत्तिमा निर्वाचन, विधि र संस्था केवल बहाना बन्छन्; निर्णयको केन्द्र नागरिक होइन, गुट र व्यक्तित्व हुन्छ। लोकतन्त्र व्यक्तिको चाहना पूरा गर्ने संरचना होइन, नागरिकको समान अधिकार सुनिश्चित गर्ने प्रणाली हो। जब व्यक्ति स्वयंलाई केन्द्रमा राखेर लोकतान्त्रिक अभ्यास गरिन्छ, तब नियम लचिलो बन्छ, संस्था कमजोर हुन्छ र जवाफदेहिता हराउँछ। यसको परिणाम स्वरूप लोकतन्त्र बाहिरबाट जीवित देखिए पनि भित्रबाट खोक्रो बन्छ। लोकतान्त्रिक परिपक्वता भनेको जित–हारभन्दा माथि उठेर विधि, प्रणाली र संस्थालाई केन्द्रमा राखेर “खेल्ने” संस्कार हो। यही संस्कारले लोकतन्त्रलाई स्वार्थको भीडबाट मुक्त गरी सार्वजनिक हितको साझा यात्रामा रूपान्तरण गर्छ।
१४. सामाजिक–आर्थिक अवस्था लोकतन्त्रको आधार
लोकतान्त्रिक खेल केवल निर्वाचन जित्ने वा सत्ता सञ्चालन गर्ने प्रतिस्पर्धा मात्र होइन; यसको न्यूनतम आधार नागरिकको जीवनस्तर सुरक्षित गर्नु हो। गाँस, बास र कपास बिना नागरिक स्वतन्त्रता कागजी नारा बन्छ। शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चितता बिना समान अवसर सम्भव हुँदैन। लोकतन्त्रको सार नागरिकलाई अधिकारसँगै ,क्षमतावान बनाउनु हो, ताकि उसले राज्यका निर्णयमा अर्थपूर्ण सहभागिता जनाउन सकोस्। काम अनुसारको न्यूनतम पारिश्रमिक श्रमको सम्मान हो, जसले असमानता घटाउँछ र सामाजिक न्यायको आधार बलियो बनाउँछ। त्यस्तै, कानुनी राज्यको ग्यारेन्टी बिना अधिकार असुरक्षित रहन्छ र शक्ति को प्रयोग मनपरी बन्छ। देशका साधन–स्रोतको उच्चतम र न्यायपूर्ण प्रयोगले मात्र समृद्धि सम्भव हुन्छ। अन्ततः, समृद्ध देश र खुसी जनता सिर्जना गर्न सक्नु नै लोकतन्त्रको अन्तिम परीक्षा हो—जहाँ नीति! जनता ले पाउने सेवा सुबिधा र डेलिभरिको परिणाममा रूपान्तरण भएको हुन्छ।
निस्कर्ष
लोकतन्त्र कुनै व्यक्तिको जित–हारसँग बाँधिने सत्ता–खेल होइन; यो समाजको सामूहिक चरित्र, संस्कार र चेतनाको परीक्षा हो। जहाँ प्रतिस्पर्धा -उत्कृष्टता छान्ने माध्यम बन्छ, पराजय स्वीकार गर्ने नैतिक साहस विकसित हुन्छ, अल्पमत पनि जिम्मेवार साझेदार बन्छ र संस्था व्यक्तिभन्दा बलियो हुन्छ—त्यहीँ लोकतन्त्र जीवित रहन्छ। तर जब लोकतन्त्रलाई निजी स्वार्थ, गुट, पैसा, पहिचान र भावनात्मक उत्तेजनाको औजार बनाइन्छ, तब त्यो नाम मात्रैको लोकतन्त्र रहन्छ, आत्मा हराउँछ। नेपाल जस्तो विविधता,युक्त देश जहा गरिबी र संक्रमणको अवस्थाबाट गुज्रिरहेको समाजमा लोकतन्त्रलाई बचाउने एकमात्र उपाय भनेको विधि प्रतिको निष्ठा, संस्थागत जवाफदेहिता र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राख्नु हो। गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र कानुनी राज्यको सुनिश्चितता बिना लोकतन्त्र खोक्रो नारा मात्र हुन्छ। अन्ततः लोकतन्त्रको सफलता मतपेटिकामा होइन, जनताले पाएको सेवा, सम्मान र अवसरमा मापन हुन्छ।
यदि हामी जित्दा संयमी, हार्दा अनुशासित, सत्तामा हुँदा जवाफदेही र सत्ता बाहिर हुँदा पनि संस्थाप्रति निष्ठावान् बन्न सक्यौँ भने—लोकतन्त्रको कोपिला बाँच्ने छ, फुल्नेछ र फल्नेछ। र त्यही फल नै समृद्ध देश र खुसी जनताको वास्तविक लोकतान्त्रिक उपलब्धि हुनेछ।
धन्यवाद




