बुटवल । नेकपा एमाले छाडेको घोषणा गरेका विघटित प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेलाई तत्काल पार्टी नछाड्न समझदारी गराउन उपाध्यक्ष विष्णुप्रसाद पाैडेलका नेताहरू सहमति जुटाएकाे जनाएका छन् ।
उपाध्यक्ष बिष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेता खिमलाल भट्टराईसहितका नेतालाई राखेर बासु निकटका नेताहरूले बुधबारदेखि ने छलफल गरेका हुन् । बासु निकट एमालेका नेता कमल पाैडेलकाे समन्वयमा उपाध्यक्ष विष्णु पाैडेलसहितका नेताहरू छलफलमा बसेकाे एमाले नेता लिला गिरीले जनाएका छन् ।
तर त्याे बैठकमा आफू नबसेकाे उनको भनाइ छ । 'म हिजाे बासुजीसँग एक्लै बसेकाे थिएँ, तपाईले गल्ती गर्नुभयाे भनेकाे हाे तर आजकाे बसाइँमा नेताहरू बस्नुभएकाे छ,' उनले भने ।
उपाध्यक्ष पाैडेलसहित बासु घिमिरेसँगकाे बैठकमा बसेका नेता खिमलाल भट्टराईले तत्काल अन्त नजाने समझदारी भएको बताए ।
'तत्कालै कतै नजाने समझदारी भएको बुझेकाे छु, बसाइँ सकेर बासुजी सहितका नेताहरू उठ्नुभयाे,' उनलेे भने ।
पौडेलले घिमिरेसँग स्थानीय कार्यकर्ता कमल पौडेलको योगिकुटीस्थित निवासमा वार्ता गरेका हुन् ।




