बुटवल । साविकको नेकपा माओवादी केन्द्रबाट बुटवल उपमहानगरपालिका वडा नं ३ मा वडाध्यक्ष जितेका विष्णु ढकालसहितका नेताहरुले नवगठित नेपाली कम्युनिष्ट पार्र्टी परित्याग गरेका छन् ।
सामूहिक विञप्ति निकालेर नेकपा परित्याग गर्नेहरुमा साविक नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला समिति सदस्य तथा अखिल नेपाल खेलकुद महासंघ लुम्बिनि प्रदेश अध्यक्ष ढकाल सहित बुटवल नगर सचिवालय सदस्य तथा वडा इन्चार्ज एवं यातायात मजदुर नेता जितेन्द्र खत्री साविकको पार्टी जिल्ला सदस्य लोक बहादुर नेपाली, नगर सचिवालय सदस्य नारायण गौतम लगायत रहेका छन् ।
यस्तै शोभाखर पाण्डे (माधव),वडा समिति अध्यक्ष जग बहादुर श्रेष्ठ र कराते खेल प्रशिक्षक राजकुमार पाण्डेले पनि नेकपा परित्याग गरेका छन् । उनीहरुले विज्ञप्तिमार्फत नेपाली कम्युनिष्ट पार्टीको साधारण सदस्यता तथा पार्टीसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी र गतिविधिहरुबाट स्वेच्छाले परित्याग गरेको घोषणा गरेका छन् ।
‘यो निर्णय हामीले आफ्नो व्यक्तिगत सोच, अनुभव तथा वर्तमान राजनीतिक परिस्थिति गम्भीर मूल्याङ्कनपछि लिएका हौं। यो निर्णय कुनै व्यक्ति विशेषप्रति व्यक्तिगत असन् कारण नभई आफ्ना विचार, सिद्धान्त र जनहितप्रतिको प्रतिबद्धताका आधारमा गरिएको हो’–विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा पार्टीभित्र रहेर मार्ग निर्देशन गर्नुहुने सम्पूर्ण नेतृत्व, सहकार्य गर्ने साथी तथा माया गर्नुहुने शुभेच्छुकहरुप्रति उनीहरुले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
नेकपा छाडेका वडाध्यक्ष ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने गरी छलफल चलिरहेको बताए ।




